६ जेठ, २०८१ आइतबार

05:39:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईतबारको प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल अघि बढ्ने

१५ फागुन, २०७८

प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ ।

आईतबारको प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल अघि बढ्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । 

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने  पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

यस्तै प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ ।  यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको  प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठक स्थगित भएको थियो ।

सरकारमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दल एमसीसीको विपक्षमा रहेका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदबाट पास गराउने कसरतमा लागेको छ । सत्ता गठबन्धनमा रहेका दल नै सो सम्झौताको विपक्षमा बसेपछि एमसीसी पास गराउन प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेको छ ।