६ जेठ, २०८१ आइतबार

11:36:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काँग्रेसले एमसिसी पास गराउन सबै विकल्प अपनाउने, अन्य पार्टी आ–आफ्नै अडानमा

Nepal Business

११ फागुन, २०७८

एमसीसी देशको हितमा भएको उल्लेख गर्दै उहाँले सबै दल एकमत भएर यसलाई पारित गर्नुपर्ने बताउनुभयो

काँग्रेसले एमसिसी पास गराउन सबै विकल्प अपनाउने, अन्य पार्टी आ–आफ्नै अडानमा

काठमाडौं । 
नेपाली कांग्रेसले अमेरिकाको एमसिसी सम्झोता पास गराउने सबै विकल्प अपनाउने भएको छ । काँग्रेस नेता मीन विश्वकर्माले एमसीसी पास गराउनको लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने खुलाउनुभएको हो । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले एमसीसीलाई लिएर राष्ट्रिय राजनीति नै गिजोल्न नहुनेमा जोड दिनुभयो । 

एमसीसी देशको हितमा भएको उल्लेख गर्दै उहाँले सबै दल एकमत भएर यसलाई पारित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश ठप्प पारेर देशभरी सर्वहारै–सर्वहारा बनाउने कुरा कांगे्रसलाई मान्ने छैन । एमसीसीका लागि निवेदन हालेको पनि कांग्रेसले होइन हामीले पत्राचार गरेको पनि होइन । हामीले परियोजना बनाएको पनि होइन ।

सबै कुरा हेर्दा नेपालीको हितमा भएको भएर हामी हस्ताक्षर गर्न गयौँ र एमसीसी पास गर्नलाई उभिएका छौँ ।’ आफूहरु प्रतिपक्षमा हुँदा पनि एमसिसीको पक्षमा भएको र अहिले सत्ता पक्षमा हुँदा पनि एमसिसीकै पक्षमा रहेको उहाँले बताउनुभयो ।
 
यस्तै एमाले नेता कर्णबहादुर थापाले एमसिसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणि गर्नुभयो । अहिलेको सरकारले सदनमा पेश गरेका कुनै पनि बिजनेशहरु सरकारमा सहभागी भएका दलहरु नै बढी जिम्मेवार हुने उहाँको भनाई छ । एमसिसीलाई लिएर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भूमिकालाई लिएर उहाँले कडा आपत्ति जनाउनुभयो ।  

यसैगरी माओवादी नेता झक्कुप्रसाद सुवेदीले अहिलेको सरकार विषम परिस्थितिमा बनेको भन्दै माओवादीले त्यत्तिकै सरकार नछोड्ने बताउनुभयो  । एमसिसीलाई लिएर आफूहरु र कांग्रेसको एजेण्डा नमिलेको पनि उहाँको धारणा छ । 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका  नेता केशब झाले आफ्नो पार्टी एमसिसीको पक्षमा सुरुदेखि नै रहेकोले यसको पक्षमा नै मत हाल्ने स्पष्ट पार्नुभयो । झाले एमसिसी राष्ट्रको हितमा रहेको भन्दै पूर्वाधार क्षेत्रमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।