२१ बैशाख, २०८१ शुक्रबार

08:06:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

८८.३० प्रतिशतले निर्यात बढ्यो, घटेन आयात

११ फागुन, २०७८

चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ ।

८८.३० प्रतिशतले निर्यात बढ्यो, घटेन आयात

काठमाण्डौ
चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो ७ महिना माघसम्म नेपालले निर्यातमा वृद्धि गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८८.३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । 

चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो । चालु आर्थिक वर्षका ७ महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि हुन पुगेको छ । यस अवधिमा ४२.७८ प्रतिशतले आयातमा वृद्धि हुँदै ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाखभन्दा बढीको आयात भएको हो । विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो ।

चालु आर्थिक वर्षको ७ महिनामा नेपालको १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा चुलिदै गएको छ । यसै ७ महिनाको अबधिमा ११ खर्ब बढीको आयात हुँदा ३८.४५ प्रतिशतले व्यापार घाटा बढेको हो । चालु आर्थिक वर्षको ७ महिनामा नेपालको १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । यसैगरी चालु आर्थिक वर्षको ७ महिनामै नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ । यस अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख बराबरको पुगेको विभागले जनाएको छ । 

आर्थिक वर्ष २०७७÷७८ मा ८ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । सोही अवधिमा नेपालमा १ सय ४५ देशबाट  ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बढीको आयात भएको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । माघ मसान्तसम्म नेपालले भारतबाट ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख बढीको आयात गरेको छ भने १ खर्ब  ६ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात भएको छ । नेपालको हाल भारतसँग मात्रै ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख बढीको व्यापार घाटा रहेको  छ । 

नेपालले ठूलो मात्रामा आयात गर्ने अर्को देश चीन रहेको छ । चीनबाटमात्र ७ महिनामा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख बराबरको आयात भएको छ भने ४८ करोड ७९ लाख १५ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र नेपालको १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख बराबरको व्यापार घाटा रहेको छ ।