२२ माघ, २०८१ मंगलबार
01:40:06 AM
१० फागुन, २०७८
यस वर्ष ९५१, ७५१, ५५१, ३५१, २५१ र १५१ गरी छ वर्गमा स्तरअनुसार साधुसन्तलाई दक्षिणा दिने संस्थानको तयारी छ ।
काठमाण्डौं
हरेक वर्ष महाशिवरात्रीमा देश विदेशबाट साधुसन्तहरु पशुपति क्षेत्रमा आउने गर्दछन् । महाशिवरात्री पर्वमा पशुपतिमा आउने साधुसन्तको लागि खाने, बस्ने, धुनी जगाउने र फर्किदा दिइने बाटो खर्च गुठी संस्थानले व्यवस्था गर्दै आएको छ । यस वर्षका लागि गुठी संस्थानले २८ लाख ६५ हजार ३ सय ७६ रुपैयाँ माग गरेको छ ।
संस्थानले शिवरात्रीको तयारी स्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ ।
पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिनुभयो । यस वर्ष ९५१, ७५१, ५५१, ३५१, २५१ र १५१ गरी छ वर्गमा स्तरअनुसार साधुसन्तलाई दक्षिणा दिने संस्थानको तयारी छ ।
साधुसन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी गरिएको छ । नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिन्छ ।
संस्थानले साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म खाने, बस्ने र धुनी जगाउने व्यवस्था गर्ने परम्परा छ । औँसीका दिन दक्षिणासहित बिदा गरिन्छ ।
यस वर्ष फागुन १७ गते महाशिवरात्री पर्व परेको छ । साधुसन्तलाई फागुन १५ गते फागुनकृष्ण एकादशीदेखि फागुन १९ गते औँसीसम्म आवासीय व्यवस्था गरिने बताइएको छ ।