२२ माघ, २०८१ मंगलबार
01:50:25 AM
१० फागुन, २०७८
यी हुन् सुन तस्करीमा संलग्न व्यक्तिहरु
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
प्रहरीले विदेशी नागरिक मिलेर सुन तस्करी गरेको तथ्य फेला पारेको छ । एक भारतीय र एक बंगलादेशी नागरिक मिलेर दुबइबाट सुन तस्करी गरी नेपाल हुँदै भारत र बंगलादेश लैजान लागेको फेला परेको हो ।
विशेष सूचनाको आधारमा सोमबार परिचालित प्रहरी टोलीले उनीहरुलाई सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । अवैध रुपमा भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी दुई जनालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
यसरी हिमालय एयरलायन्को उडान नं. एच९५६६ द्वारा दुबइबाट काठमाडौँ आएका बंगलादेशी नागरिक मोहम्मद टोफी अल्लाह र भारतीय नागरिक पारसनाथ शाह पक्राउ परेका छन् ।
प्रहरी टोलीले जाँच गर्ने क्रममा अल्लाहले लगाएको पाइन्टको कम्मरको भागमा फल्स बटम बनाई डिटेक्ट गर्न नसक्ने गरी पेटी आकारको अर्धठोस एक थान सुन र उनले नै भित्री वस्त्रका मा लुकाई ल्याएको बेलना आकारको २ थान अर्धठोस सुन बरामद गरिएको छ । उक्त सुन झण्डै एक किलो (९३६ ग्राम) रहेको पाइएको छ । उक्त सुनको हालको बजार मूल्य करिब सतहत्तर लाख रहेको छ ।
अनुसन्धानका क्रममा उनले भारतीय नागरिक पारसनाथ शाहले भन्सार छली गर्न लगाएको खुलेको छ । प्रहरीले लगत्तै भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिई सोधपुछ गरेको थियो ।
अनुसन्धानका क्रममा सुन संकलन गर्ने कार्यमा शाहकोसमेत संलग्नता देखिन आएकाले दुबैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रमुख ढकालले जानकारी दिनुभयो ।