४ जेठ, २०८१ शुक्रबार

11:17:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

८० करोड भन्दाबढी बैंकिङ्ग ऋण लिएका मदिरा व्यापारी पक्राउ

९ फागुन, २०७८

८० करोड भन्दाबढी बैंकिङ्ग ऋण लिएका मदिरा व्यापारी पक्राउ

काठमाण्डौं
 
काठमाडौंको दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल चेक बाउन्स भएको उजुरीको आधारमा पक्राउ परेका छन्। चारवटा बैंकबाट ८० करोड भन्दाबढी ऋण लिएर भागेका अग्रवाल केही समयपछि नेपाल फर्किएका थिए।

फर्किए पछि पत्रकार सम्मेलन गरी आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्न सक्ने अवस्था रहेको बताएका थिए। उनले दूई व्यक्तिलाई दिएको चेक बाउन्स भएको थियो यसै चेक बाउन्सको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। व्यवसायी संजय अधिकारी र टंक शम्शेर जबरालाई दिएको चेक बाउन्स भएको थियो । 

अधिकारी रेमण्ड सर्टिङ सुटिङका आधिकारिक बिक्रेता हुनुहुन्छ उहाँलाई दिएको ५० लाख रुपैयाँको चेक नसाटिएको हो। त्यसैगरी टंक शम्शेर जबराको डेढ करोड रुपैयाँको चेक नसाटिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको हो। केही दिनअघि अग्रवाललाई बैकिङ कसुरको अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अदालतबाट बैकिङ कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

हाम्रो टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बैकिङ कसुरमा नियन्त्रणमा लिएको हो, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले बताउनु भयो।

पुस २२ गते अमितसहित उनका परिवारका ९ सदस्य फरार भएका थिए। आयात गरेको मदिरा बिक्री गरेर पनि बैंकको पैसा तिर्न छाडेपछि दुई बैंकले उनको पसल सिज गरेको थियो। त्यसपछि उनी फरार भएका थिए।

अग्रवालले परिवार विभिन्न बैंक र व्यक्तिसँग मिटर ब्याजमा १ अर्बभन्दा बढी ऋण लिएको देखिएको छ।

उनलाई नेपाल फर्काउनका लागि बैंकका साथै प्रहरी अधिकारीका साथै राजनीतिक नेताहरु नै खटिएका थिए। उनी मिटर ब्याजमा लिएको पैसा तिर्न नसकेर फरार भएका थिए। उनी नेपाल फर्किएपछि प्रहरीलाई पक्राउका लागि मिटर ब्याजीहरुको दबाबमा पनि थियो।

उनले आफ्नो निकटकासँग ५ करोड ऋण लिँदा १५ करोड रुपैयाँ ब्याज भुक्तानी गरेँ तर साँवा तिर्न सकिएन भनेका थिए। उनलाई लो प्रोफाइल मा बस्ने केही ब्यापारीले मिटर ब्याजमा पैसा दिएका थिए।

एकातिर बैंकले पसल सिज गरिदिएको र अर्कोतिर मिटर ब्याजीले पैसा नतिरे ज्यान मार्ने धम्की दिएपछि एकाएक नेपाल छोडेर भारत पुगेका थिए। आफन्तसँग सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त मालीगाउँमा अमितकी बहिन रजनी अग्रवालले पुस २३ गते खोजी गरिदिन निवेदन दिनु भएको थियो । 

माघ २७ गते अमित काठमाडौं आइपुगेका थिए। परिवारमा बिरामी भएकाले १ महिनासम्म सम्पर्कमा नभएको भन्दै आफ्नो बचाउ गरेका थिए। अग्रवालले परिवार विभिन्न बैंक र व्यक्तिसँग मिटर ब्याजमा १ अर्बभन्दा बढी ऋण लिएको देखिएको छ।

अग्रवालको एभरेष्ट, मेगा, ग्लोबल आइएमइ र नेपाल इन्भेष्टमेन्ट बैंकको ८० करोडमाथि ऋण छ। बैंकहरुले ऋण उठाउने प्रक्रिया अगाडि बढाइसकेका छन्। उनी सम्पर्कमा आएर बैंकका प्रमुख कार्यकारीलाई पनि भेटेका थिए। भेटमा उनले आफू उधारोमा फसेको, मिटर ब्याजको पैसा तिर्न समस्या भएको भन्दै सम्पत्ति बिक्री गरेर भए पनि पैसा तिर्ने बताएका थिए।