२६ बैशाख, २०८१ बुधबार

05:21:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काँग्रेस महाधिवेशनमा भारतीय नेताले भने : भारत समृद्ध र सुदृढ नेपाल चाहन्छ

२४ मंसिर, २०७८

राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वासनिकले भने - दुई देशबीच समस्या हुनसक्ने र त्यसलाई आपसमा भाइचारा र मित्रताको आधारमा पूर्ण भरोसाका साथ समाधान गर्न सकिन्छ ।

काँग्रेस महाधिवेशनमा भारतीय नेताले भने : भारत समृद्ध र सुदृढ नेपाल चाहन्छ


काठमाडौँ, २४ मंसिर । भारतीय जनता पार्टीका नेता डा हर्ष वर्धनले भारत स्थिर, समृद्ध र सुदृढ नेपालको पक्षमा रहेको बताउनुभएको छ ।
 
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विचारबारे आफुलाई राम्ररी ज्ञान भएको उल्लेख गर्दै नेता हर्ष वर्धनले भन्नुभयो, “उहाँ एक सुदृढ, मजबुद र स्थीर नेपाल होस्, भारत नेपालको सम्बन्ध दिन प्रतिदिन मजबुद होस्, संस्कृति र सम्पर्क सञ्जाल ९सडक, रेल, हवाई तथा उर्जा० सम्बन्ध सुमधुर होस् भन्ने चाहनुहुन्छ ।” 

समारोहमा उहाँले नेपाल र भारतको सम्बन्ध अझै सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भारत जुनसुकै सम्पर्क सञ्जालबाट जोड्न र आपसी सम्बन्धलाई अझै मजवुद बनाउन चाहेको उल्लेख गर्नुभयो । 

उहाँले भारतमा समेत यती धेरै पूर्वप्रधानमन्त्री एकसाथ एउटै मञ्चमा बसेको नदेखेको र यस्तो संस्कार अन्य देशमा विरलै पाउन सकिने बताउनुभयो । 

राजनीतिक जीवनमा यस प्रकारको कार्यक्रम दुनियाँमा सायदै  देखिएको भन्दै यहाँको यो राजनीति संस्कार प्रेरणादायी रहेको विचार राख्नुभयो । 

विसं २०७२ को भूकम्पका बेला नेपाललाई जत्तिकै भारतलाई पनि दुखेको स्मरण गर्दै नेता वर्धनले नेपालीलाई कुनै पनि समस्या पर्दा भारतीय नगरिकलाई दुख्ने बताउनुभयो । 

उहाँले भारत र नेपालको सम्बन्ध दिन प्रतिदिन सुमधुर बन्दै गएको र रेल, सडक वा हवाई सञ्जाल होस् या विद्युत तथा उर्जाको विषयमा समेत बलियो सम्पर्क र सहयोग रहँदै आएको पनि बताउनुभयो । 

नेता वर्धनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष जेपी नड्डाको तर्फबाट पनि शुभकामना दिनुभएको थियो । उहाँ चितवनमा हालै सम्पन्न नेकपा ९एमाले० को महाधिवेशनमा समेत सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी समारोहमा भारतीय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वासनिकले आफू ३४ साल पहिला सन् १९४७ मा संयुक्त राष्ट्रसङ्घको महाधिवेशनमा बोल्ने समयमा गौरवान्वित भएको र सोही अनुसार नै अहिलेको यो महाधिवेशनमा बोलेर गौरवको अनुभूति भएको उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रको महत्वपूर्ण कडी कांग्रेस रहेकाले पनि त्यो गौरव महसुस गराएको बताउनुभयो । 

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले भारत र नेपाल सम्बन्ध हरेक दृष्टिकोणले अन्य मुलुककसँगको सम्बन्धभन्दा फरक र नमूनायोग्य रहेको बताउनुभयो । 

उहाँले दुई देशबीच समस्या हुनसक्ने र त्यसलाई आपसमा भाइचारा र मित्रताको आधारमा पूर्ण भरोसाका साथ समाधान गर्न सकिने पनि बताउनुभयो । आपसी सम्बन्ध प्रगाढ बनाउन आफ्नो पार्टी हरेक भूमिका निर्वाह गर्न  तयार रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले भारतले नेपाललाई हरेक दृष्टिकोणबाट उच्च प्राथमिकता दिएको पनि उहाँले जानकारी दिनुभयो । 

उहाँँले स्थिर र शान्तिपूर्ण नेपाल नै भारतको प्राथमिकता रहेको बताउनुभयो । 
उहाँले पार्टी अध्यक्ष सोनिया गान्धी यहाँ आउन चाहे पनि नयाँ दिल्लीमा लोकसभाको अधिवेशन शुरु भएकाले उपस्थित हुन नसकेको जानकारी गराउँदै उहाँका तर्फबाट पनि महाधिवेशनको सफलताको शुभकामना दिनुभयो । रासस