६ जेठ, २०८१ आइतबार

03:25:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सत्तारुढ दलका नेताले नै संसदमा नारा लगाए, दर्ता भएको एमसीसी फिर्ता लिन माग

Nepal Business

८ फागुन, २०७८

सत्तारुढ दलका नेताले नै संसदमा नारा लगाए, दर्ता भएको एमसीसी फिर्ता लिन माग

काठमाण्डौं

सत्तारुढ दलकै सांसदको विरोधकाबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) कम्प्याक्टलाई सरकारले संसदमा टेबल गर्यो । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मा उपस्थित नभएपछि उक्त प्रस्तावलाई सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गर्नुभएको हो ।  

कार्की एमसीए कम्प्याक्टमा नेपालका तर्फबाट हस्ताक्षरकर्ता समेत हुनुहुन्छ । प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल हुने क्रममा सत्तारुढ दलका सांसदहरु समेत उठेर नारावाजी गरे । प्रतिनिधिसभामा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले विरोधमा नारावाजी लगाएका थिए । 

एमसीसी सम्झौता सदनमा टेवल गर्दै सञ्चारमन्त्री कार्कीले सो सम्झौताले नेपालमा प्रसारण लाइन निर्माण भइ मुलुकमा उत्पादित विद्युतको व्यापारमा सहज हुने बताउनुभयो । एमसीसी अनुदानबाट प्राप्त सहयोगले ५ वर्षभित्रै आयोजनाहरू सम्पन्न हुने भन्दै मन्त्री कार्कीले सबै नेपालीले आयोजनालाई राष्ट्रिय गौरवको रूपमा ग्रहण गर्नुपर्ने बताउनुभयो ।

एमसीसी टेबल हुन अघि बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सदन अवरुद्ध भएको अवस्थामा एमसिसी सम्झौता टेबुल गर्ने विषयमा पार्टीको ध्यानाकर्षण गराउनुभएको थियो । संसद अवरुद्ध भइरहेको अवस्थामा संसदमा महत्वपूर्ण विषयमाथि छलफल हुन नसक्ने र एमसिसीका राष्ट्रिय हित विपरीतका प्रावधान संशोधन गरेर मात्र सहमतिका आधारमा अगाडि बढाउनपर्ने आफ्नो पार्टीको धारणा रहेको उहाँले बताउनुभयो ।

यस्तै नेकपा एमालेका नेता एवं सांसद भीम रावलले नेपालको संविधान र कानूनमाथि आघात पर्ने एमसिसी सम्झौताको केही प्रावधानका बारेमा राजनीतिक दलकाबीचमा सहमति नभई कसरी टेबुल भयो भन्ने प्रश्न गर्नुभयो । 

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले एमसिसी सम्झौताका कतिपय प्रावधान नेपालको कानुन विपरित भएको र नेपालको हित विपरितको सम्झौतालाई संसदबाट अनुमोदन गर्न नहुने बताउनुभयो । 

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसिसी परियोजना राष्ट्रिय हितमा नभएको भन्दै यसलाई खारेज गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो समकक्षबीच भएको सहमति होइन । एमसीसी सदनबाट पास गर्ने होइन। पहिले पनि त अमेरिकाबाट सहयोग आएको थियो, त्यो किन सदनबाट पास भएन रु र यो किन हुँदै छ रु देशलाई पैसासँग साट्न सकिदैन। यसलाई खारेज गर्नुपर्छ । जसरी आफ्नो देशको हितमा एमसीसी छैन भनेर श्रृलंकाले खारेज गर्यो त्यसरी नै हामीले पनि खारेज गर्नुपर्छ ।’

उहाँका अनुसार राष्ट्र र देशभन्दा ठूलो अरु केहि छैन । आफ्नो आवाज नेपाली जनताको रहेको उहाँको भनाई छ। ‘घरमा आगो निभाएर नेपाली जनताले सडकमा आगो बालेका छन् । यो आवाज पार्टीको होइन, जनताको माग हो’, उहाँले भन्नुभयो ।  उहाँले एमसीसीलाई टेबल होइन, सूचीबाटै खारेज गर्नुपर्ने बताउनु भएको थियो । 

सञ्चारमन्त्री कार्कीले सम्झौता टेबल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गते बस्नेगरी बैठक स्थगित गर्नुभएको छ । बैठकमा एमाले सांसदले गैरसांसदलाई प्रवेश निषेध गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्ने लगायतका माग गर्दै नाराबाजी गरेका थिए ।

भिडियो सहित