२४ बैशाख, २०८१ सोमबार

08:08:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय उत्पादन र औद्योगिकीकरणमा जोड

Nepal Business

७ फागुन, २०७८

घरेलु मदिरा (रक्सी) लाई ब्रान्डिङ गरेर बजारीकरण गर्न सकिने सम्भावनाको खोजी गर्ने

स्थानीय उत्पादन र औद्योगिकीकरणमा जोड

प्रदेश १
उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले प्रदेश नं १ मा स्थानीय उत्पादनमा आधारित रहेर उद्योग स्थापनामा जोड दिनुपर्ने बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले स्थानीय उत्पादनमा वृद्धि गरी उद्योग स्थापनामा जोड दिनुपर्ने बताउनुभएको हो । स्थानीय रुपमा पाइने कच्चापदार्थलाई सदुपयोग गर्न सके सर्वसाधरण नागरिकको आयआर्जनमा वृद्धि हुनाका साथै रोजगारका अवसरसमेत सिर्जना हुन्छ, उहाँले भन्नुभयो, विभिन्न समयमा राज्यबाट सीप र अनुदान लिएर चुपचाप बसेकालाई घच्घच्याउने र अवसरको सिर्जना गर्नसमेत स्थानीय उत्पादनमा आधारित उद्योग स्थापना गर्नुपर्छ । 
 

मन्त्री हाङ्गामले प्रदेशभरका घरेलु तथा साना उद्योगलाई दर्ता र नवीकरणको प्रक्रियामा ल्याइने उल्लेख गर्दै हिमाल, पहाड र तराईको भूभागलाई समेटेको प्रदेश १ मा कच्चापदार्थको उपलब्धता र औद्योगिकीकरणको प्रशस्त सम्भावना भएकाले ठाउँ र आवश्यकतालाई हेरेर योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यहाँ उत्पादन हुने अलैँची, चिया, अदुवा, जडीबुटीजन्य पदार्थ, बाँस आदिको व्यावसायिक उत्पादन र प्रशोधनमा ध्यान दिने उहाँको भनाइ छ । 

उहाँले स्थानीय रुपमा उत्पादन हुँदै आएको घरेलु मदिरा (रक्सी) लाई ब्रान्डिङ गरेर बजारीकरण गर्न सकिने सम्भावनाको खोजी गर्नेसमेत बताउनुभयो ।