२२ माघ, २०८१ मंगलबार
01:38:53 AM
६ फागुन, २०७८
काठमाडौंको बालाजुमा दुई पैदलयात्रीलाई ठक्कर दिई भाग्ने बसका चालक प्रदिप थपलिया धादिङबाट पक्राउ
काठमाडौं
काठमाडौंको बालाजुमा दुई पैदलयात्रीलाई ठक्कर दिई भाग्ने बसका चालक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१६ बालाजु गंगाहल नजिक सडकमा बिहीबार बिहान दुई जना पैदलयात्रीलाई ठक्कर दिई भाग्ने (हिट एण्ड रन) बसका चालकलाई प्रहरीले शुक्रबार बिहान धादिङबाट पक्राउ गरेको हो ।
धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदिप थपलियालाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबेशीबाट पक्राउ गरिएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौँ तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने नुवाकोटका १८ वर्षीय बिकाश तामाङ र काठमाडौँ महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गा माया थापाको मृत्यु भएको थियो ।
उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौँ रुटमा चल्ने बस सहित चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।