१७ बैशाख, २०८१ सोमबार

11:33:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँ महानगरले हनुमानढोका अड्डालाई तिरेन साँढे तीन करोड ? अड्डाले पनि असुल्न थाल्यो पर्यटन शुल्क

४ फागुन, २०७८

दोहोरो शुल्कले पर्यटकलाई मार

काठमाडौँ महानगरले हनुमानढोका अड्डालाई तिरेन साँढे तीन करोड ? अड्डाले पनि असुल्न थाल्यो  पर्यटन शुल्क

काठमाडौँ ।  हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत रकम काठमाडौँ महानगरले हनुमानढोका अड्डालाई दिने सहमति उल्लंघन गरेको पाइएको छ ।

डेढ वर्षदेखि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालयलाई दिनुपर्ने रकम नदिएको हनुमानढोका अड्डाले जनाएको छ ।

डेढ वर्षदेखि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालयलाई दिनुपर्ने रकम नदिएको हनुमानढोका अड्डाले जनाएको छ ।महानगरसँग सम्झौता भएअनुसार रु तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशकसमेत रहनुभएका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।   

महानगरले पैसा नदिएपछि  सङ्ग्रहालयले पनि गत भदौदेखि टिकट काट्न सुरु गरेको छ । सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले रु ३०० र नेपालीले रु ३० को टिकट काट्नुपर्छ । विद्यार्थीलाई भने सहुलियतस्वरुप रु १५ मा प्रवेश गराइन्छ । महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको रु एक हजार शुल्क विदेशीसँग लिने गरेको छ ।

गद्दी बैठकमा प्रदर्शनीसहित सर्वसाधारणका लागि खुला गरिने
 
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले यसै महिनादेखि गद्दीबैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी गर्ने भएको  छ । यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगित गरिएको थियो ।
  
नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापनाका विभिन्न घटना क्रमका तस्बिरको प्रतिलिपि प्रदर्शनीमा राख्ने तयारी भएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि माघ पहिलो साता सरकारले राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै माघ दोस्रो साता खुला गर्न लागिएको गद्दी बैठक पनि रोकिएको थियो । यो प्रदर्शनीसँगै गद्दीबैठक पनि सर्वसाधारणका लागि खुला गर्ने कार्यालयको तयारी छ । 

सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दीबैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको जनाइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दीबैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो । भूकम्पसँगै बन्द रहेको गद्दीबैठक यसपटक खोल्न  कार्यालय तयारी पूरा गरेको छ ।

पृथ्वीवीर विक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्न गद्दीबैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दीबैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्नेस्थलका रुपमा उपयोग हुने थालेको थियो । 

गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रुपमा प्रयोग गरिँदै आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्व विभागसँग समन्वय गरेर गद्दी बैठक खुला गर्न लागिएको हो ।

गद्दी बैठकसँगै फोटोग्राफर दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिच्नुभएका १०० वर्षभन्दा पुराना तस्बिर पनि प्रदर्शनीमा राखिने भएको छ । गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि प्रजातन्त्र स्थापना एवं पुनःस्थापना कालका कागजपत्र, दस्तावेज पनि प्रदर्शनी गरिने जनाइएको छ ।