२२ माघ, २०८१ मंगलबार
01:38:52 AM
३ फागुन, २०७८
काठमाडौं ।
काठमाडौं बौद्ध क्षेत्रमा केही व्यक्तिले विभिन्न समूह बनाई यूरेनियमको संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचना प्रहरीमा आएपछि केहीदिनदेखि बौद्धबाट प्रहरी टोली परिचालित भएको थियो । सोही क्रममा सोमबार हायत रिजेन्सी होटेलका सबै क्षेत्र निगरानी गरेर परिचालित टोलीले कम्पाउण्डको कार पार्किङ क्षेत्रबाट २ किलो ८ सय ग्राम युरेनियम जस्तो देखिने पदार्थ फेला पार्यो । प्रहरीमा आएको सूचना भने गलत नभएको त्यस बरामद सामग्रीले पुष्टि गर्छ ।
तर त्यो पदार्थ रेडियोधर्मी युरनियम हो होइन भन्नेमा भने यकिन भएको छैन । उक्त पदार्थलाई परीक्षणका लागि लगिएको छ । होटलको पार्किङस्थलमा राखेको बा ५ च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थ सहित सिन्धुपाल्चोकका भुपेन्द्र खड्का र र ललितपुरका नवराज महतलाई फेला पारी पक्राउ गरेको थियो । उनीहरुको बयान अनुसार उक्त पदार्थ प्रतिकिलो ३५ करोडमा कारोबार गर्न थालिएको प्रहरीले जनाएको छ ।
उनीहरुले उक्त पदार्थ भारतबाट ल्याएका खुल्न आएको छ । उनीहरु कै बयानका आधारमा अन्य गरी अहिलेसम्म ८ जना पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने ३४ वर्षीय भुपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, ललितपुर महानगरपालिका–१४ घर भएका ६० वर्षीय नवराज महत, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ घर भई काठमाडौं ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास छन् ।
यस्तै सिरहा वरियापारपट्टी गाउँपालिका–१ घर भई ठमेल बस्ने ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्र प्रसाद चौधरी, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्र कुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर पनि पक्राउ परेका छन् । प्रहरीले उक्त कार, बा २६ प १६२८ नम्बरको मोटरसाइकल, भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको १ थान परिचयपत्र र विभिन्न कम्पनीको ९ थान मोबाइल समेत बरामद गरेको छ ।
उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ ९उपयोग तथा नियमन० ऐन, २०७७ अन्तरगत मुद्धामा ७ दिन म्याद थप अनुमति लिइ महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।