१९ मंसिर, २०८१ बुधबार
02:06:01 PM
२ फागुन, २०७८
२ फागुन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मुलुकमा व्यवस्थित बस्ती विकास गर्ने गरी सहरी पूर्वाधार विकास ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
मन्त्री झाँक्रीले सहरको विकास हुँदै गर्दा व्यवस्थित बसोबासलाई प्राथमिकतामा राखेर विज्ञको सुझावमा ऐन निर्माणका क्रममा रहेको बताउनुभयो
नगर विकास कोषको ३४औँ वार्षिकोत्सवका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरको विकास हुँदै गर्दा व्यवस्थित बसोबासलाई प्राथमिकतामा राखेर विज्ञको सुझावमा ऐन निर्माणका क्रममा रहेको बताउनुभयो । मन्त्रालयमा रु पाँच लाखदेखि रु एक अर्बसम्मको योजनालाई बजेटको माग भइरहेको उल्लेख गर्दै उहाँले करिब चार महिनाको अवधिमा विभिन्न नगर विकासका लागि रु १६ अर्बको योजना दर्ता भएको जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव मणिराम गेलालले नगरपालिकालाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउन कोष क्रियाशील रहेको बताउनुभयो । प्राकृतिक स्रोत बाँडफाँड तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, नेपाल नगरपालिका महासङ्घका अध्यक्ष अशोक व्यञ्जु लगायतले स्थानीय तहको विकासमा उपभोक्ता समिति र कोषबीच समन्वयको खाँचो औँल्याउनुभयो ।
कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले चालु आवमा देशका विभिन्न ८८ नगरपालिकासँग सहकार्य गरी करिब रु पाँच अर्बको योजना कार्यान्वयनको अवस्थामा रहेको जानकारी दिनुभयो ।