२२ बैशाख, २०८१ शनिबार

06:53:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

देखिएन पर्यटन क्षेत्रमा प्रणय दिवसको उत्साह

Nepal Business

१ फागुन, २०७८

देखिएन पर्यटन क्षेत्रमा प्रणय दिवसको उत्साह

चितवन

प्रणय दिवस (भ्यालेन्टाइन डे) मा भरिभराउ हुने पर्यटकीय क्षेत्रमा यस वर्ष उत्साह देखिएको छैन । प्रणय दिवसको अघिल्लो दिन आइतबारसम्म यहाँका पर्यटकीय होटेलमा चहलपहल छैन । विगतका वर्षमा कोठा नपाएर पाहुना फिर्ता गर्ने पर्यटकीय नगरी सौराहाका व्यवसायीले फाट्टफुट्ट मात्रै बुक भएको बताएका छन् ।

उनीहरुले कोठा सोध्ने क्रम बढेको भए पनि उत्साहपूर्ण रुपमा हुन नसकेको जनाएका छन् । प्रणय दिवसका अवसरमा सौराहाका व्यवसायीले खाना महोत्सव (फुड फेस्टिबल) गर्दै आएका थिए । यस वर्ष उक्त महोत्सव हुन सकेको छैन । १६ औँ संस्करणको खाना महोत्सव भइरहनुपर्नेमा कोरोनाका कारण कार्यक्रम स्थगित भएको छ । 

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाले गत वर्षसम्म यतिबेला सौराहामा भीडभाड हुने भए पनि यस वर्ष खासै चहलपहल नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाहुनाको स्वागतका लागि हामी तयारीमा छौँ, सोधखोज भइरहेको छ, खै अब कस्तो हुन्छ ?’  रेष्टुरेन्टहरुका लागि यो महत्वपूर्ण व्यापार हुने समय हो । गत वर्ष फागुन १ देखि ३ गतेसम्म १५ औँ सडक खाना महोत्सव गरिएको उहाँले जानकारी दिनुभयो ।

 
अघिल्ला वर्षमा माघका दुई दिन र फागुनका तीन दिन गरी पाँचदिने महोत्सव गर्ने गरिन्थ्यो । यस वर्ष कोभिडका कारण कार्यक्रम स्थगित भएसँगै सौराहा सुनसान देखिएको हो । खतिवडाको भनाइमा खाना महोत्सव अनुकूल समय भए पनि यस वर्ष गरिएन । क्षेत्रीय होटेल सङ्घका अध्यक्ष दीपक भट्टराईले ९० प्रतिशत हाराहारी बुकिङ हुने समयमा सुनसान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फाट्टफुट्ट पर्यटक देखिन थालेका छन्, विगतको तुलनामा नगण्य छ ।’ 

सोधखोज बढ्दै गएकाले पर्यटन क्षेत्र लयमा फर्किनेमा आफूहरु आशावादी भएको भट्टराईको भनाइ छ । पर्यटन व्यवसायका लागि यो मौसम महत्वपूर्ण हो । प्रणय दिवसमा सौराहामा राम्रो व्यवसाय हुने गर्दथ्यो । स्थानीय प्रशासनले कोभिडका कारण गरिने निषेधाज्ञा र बन्दका विषयमा प्रचार गर्ने तर खुलेका बारेमा जानकारी नगराउँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । क्षेत्रीय होटेल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले समय महत्वपूर्ण भए पनि पर्यटक खासै नआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यतिबेला निकै चहलपहल हुन्थ्यो, हुन सकेन ।’

 होटेलमा बस्नेभन्दा घुमफिर गर्न आउने अरू धेरै हुने समय यो हो । होटेल पनि प्रायः भरिने गरेको विगत सम्झँदै घिमिरेले भन्नुभयो, ‘अब भने पर्यटक आउनेमा आशावादी छौँ ।’ विदेशीहरु फाट्टफुट्ट आउन थालेको उहाँको भनाइ छ । होटेल सेभेन स्टारले अघिल्ला वर्षहरुमा ठाउँ पु¥याउन नसकेर पर्यटक अन्यत्र पठाउने गथ्र्यो । सञ्चालक माधव दुवाडीले भन्नुभयो, ‘यस वर्ष हाम्रैमा ४० प्रतिशत पु¥याउन सकिएको छैन, पहिले हामीले पाहुना अन्यत्र पठाउने गथ्र्यौं ।’
 
होटेल जङ्गल क्राउनमा विगतका वर्षमा पर्यटक भरिभराउ हुने गरेका थिए । प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरी यस वर्ष २५ प्रतिशत पुग्न मुस्किल भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘यस वर्षको प्रणय दिवसमा खासै पर्यटक भएनन्, अब होलान् भन्ने लागेको छ ।’ सौराहा क्षेत्रमा १२० हाराहारी पर्यटकीय होटेल रहेका छन् । ती होटेलमा पाँच हजार ५०० शय्या रहेका छन् । होटेलमा पाहुना नपाएपछि व्यवसायीले पालैपालो कर्मचारी मजदुरलाई बिदा दिएका छन् । 

थोरै कामदार कर्मचारीको भरमा होटेल चलाइरहेका छन् । होटेल चल्ने मुख्य समयमा कोभिडका कारण अवरोध पुगेपछि व्यवसायी निराश छन् । कोभिडका कारण अबका दिनमा फेरि दुःख नपाए पूर्वत अवस्थामा फर्काउन सकिने आशा व्यवसायीमा छ ।

रासस