२२ माघ, २०८१ मंगलबार
04:22:28 AM
१ फागुन, २०७८
काभ्रेपलाञ्चोक
ऐतिहासिक महत्व बोकेको पनौतीको १ महिनासम्म लाग्ने बाह्रवर्षे मकर मेला शनिबार माघ २९ बाट सम्पन्न भएको छ । धार्मिक साँस्कृतिक तथा पर्यटकीय दृष्टिले परिचित बाह्रवर्षे मकर मेलामा ५० लाख भक्तजनले स्नान तथा अवलोकन गरेका छन् । यो मेला मकर सङ्क्रान्तिबाट शुरु भएर सूर्य मकर राशीमा रहुन्जेल लाग्ने हुँदा माघ महिनाको अन्तसँगै मेला समाप्त भएको हो ।
मकर मेला मूल व्यवस्थापन समिति तथा पनौती नगरपालिकाका सूचना अधिकारी इन्द्रप्रसाद अधिकारीका अनुसार शनिबारसम्म करिब ५० लाख भक्तजनले मकर स्नान तथा अवलोकन गरेका छन् । दर्शनार्थीले यो एक महिनाको अवधिभरमा पनौतीको ऐतिहासिक क्षेत्रको अवलोकन, त्रिवेणी धाम लगायतका कठमन्दिरको दर्शन तथा स्नान गरेको उहाँले बताउनु भयो ।
शुरुका दिनमा कोभिडका कारण सुनसान जस्तै थियो । जसका कारण हामीले शुरुमा गरेको अनुमानमा कमि आयो कम्तिमा पनि ७० लाख भन्दा बढि दर्शनार्थीले मेलाको अवलोकन गर्ने हाम्रो अनुमान थियो । मेला शुरुभएको दश बाह् दिनपछिबाट दर्शनार्थीहरुको भिड बढ्यो अधिकारीले भन्नुभयो । उहाँले बताए अनुसार बिदाका दिन करिब २ लाखसम्मले मेला अवलोकन गरेका थिए । कोभिडका कारण दर्शनार्थीहरुमा पनि एक प्रकारको त्रास थियो त्यसले गर्दा दर्शन वा स्नान गर्ने हिडिहाल्ने भक्तजन धेरै भएकोले आन्तरिक रुपमा किनमेल लगायतमा गरिने खर्च कमि नै भयो । यस अवधिका करिब करिब साढे ३ करोडदेखि ४ करोडसम्मको मात्र आर्थिक कारेबार भएको अनुमान गरेका छौ, उहाँले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालयले गत पुस अन्तिम सातादेखि कोरोना सङ्क्रमण बढ्दै गएपछि मेला–महोत्सव स्थगन गरी स्वास्थ्य सुरक्षा–मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा पनौतीस्थित त्रिवेणीघाटमा स्नान मात्रै गर्न दिएको थियो । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । त्रिवेणीघाटमा नुहाइ त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था रहँदै आएको छ ।
भारतबाट समेत मेलामा सहभागिता जनाइएको छ, मेला सभ्य र भव्य बनाउन नगरपालिकाले विविध व्यवस्थापन गरेको नगरप्रमुख न्यौपानेले बताउनु भयो। अन्तिम दिन सार्वजनिक बिदाका दिनसमेत परेकाले ट्राफिक व्यवस्थापनमा निकै हम्मेहम्मे परेको देखिएता पनि कुनै ठूलो समस्या नपरी मेला सम्पन्न भएकोमा नगरपालिका परिवार यससँग सरोकार राख्ने सबैमा खुशि व्यक्त गर्न चाहन्छ उहाँले भन्नुभयो । उहाँका अनुसार कोरोनाको जोखिम नभए ७० लाख भन्दाबढि भक्तजन तथा दर्शनार्थीले पनौतीको मेला अवलोकन गर्ने अनुमान गरिएको थियो ।
हरेक बाह्रवर्षमा महिनाभर लाग्ने ‘मकर मेला’ सभ्य र भव्यरुपमा सञ्चालन गर्ने तयारीस्वरुप भौतिक पूर्वाधारका कामसमेत गरिएको थियो भने सँगसँगै मेला प्रवद्र्धनका कार्यक्रमसमेत भएका थिए । मेलालाई थप व्यवस्थित बनाउन नगरपालिकासँग जोडिएका सडक पूर्णरुपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति गरिएका थिए ।
पनौतीका सबै प्रकारका विद्यालय एक महिनाका लागि बन्द गरिएको थियो । मेला अवधभिर मल्पी ड्यामबाट नियमित रुपले रोशी खोला तथा मल्पी–लीलावती बाँसडोल खोलामा स्वच्छ पानी बगाइएको थियो । यसका लागि खानी तथा खानीजन्य उत्खनन तथा पैठारी बन्द गरिएको थियो ।
मेला सम्पन्न गर्न गठित एक दर्जनभन्दा बढी उपभोक्ता समितिले त्रिवेणीघाट मात्र नभइ सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिँगारेका थिए । पनौतीभित्रका मठ–मन्दिर तथा पाटीमा रङरोगन तथा झल्लर–तोरणले झिलिमिली बनाइएको थियो । साथै पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गरिएका थिए ।
मेलालाई थप व्यवस्थित गर्न श्रद्धालुलाई स्नानका लागि त्रिवेणीघाट वरिपरी बेलिब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायाँबाँया पैदलमार्ग, विश्रामस्थललगायतका भौतिक संरचना निर्माण गरिएको थियो । नगरपालिकाले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, फुटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिँगटीले छाउने र रथको आवश्यक मर्मत गरेको थियो ।
नगरपालिकाले ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड सरसफाइ एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत ऐतिहासिक बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनको काम गरेको थियो ।
पनौतीबाट चल्ने सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएका स्टिकर तथा फ्लेक्स टाँगिएका थिए । नगरपालिकाको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चार ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइएको थियो ।
पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।