६ जेठ, २०८१ आइतबार

11:51:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकार र चन्द समुहबीच वार्ता : फिर्ता होला उनीहरुका कार्यकर्तामाथि लागेको मुुद्दा ?

Nepal Business

२९ माघ, २०७८

सरकार र चन्द समुहबीच वार्ता : फिर्ता होला उनीहरुका कार्यकर्तामाथि लागेको मुुद्दा ?

२९ माघ । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको छ । 

सरकारका तर्फबाट गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र वडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी हुनुहुन्थ्यो

गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र वडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी हुनुहुन्थ्यो । 

वार्तामा  २०७७ फागुन २० गते नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
 ‘सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सौहाद्रपूर्ण तरिकाले छलफल भयो,’ प्रवक्ता पोखरेलले भन्नुभयो । 

मन्त्रालयका प्रवक्ता पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको बताउनु भयो । वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाउनु भयो । 

सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले तीन बँुदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको जानकारी दिनुभयो ।

‘आजको वार्तामा तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन बनेको छ । हाम्रो माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको छ । केही विषय टुंगिएका पनि छन्, केही टुंगिने क्रममा छन् । आशा छ छिटै निष्कर्ष निस्केला,’ प्रवक्ता विश्वकर्माले भन्नुभयो ।

यो भन्दा अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाणले निरन्तर वार्ता गरिरहनु भएको छ ।