५ जेठ, २०८१ शनिबार

12:15:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिन्दुरे रोगले कफीका बोट सुक्न थाले

Nepal Business

२३ माघ, २०७८

सिन्दुरे रोगले  कफीका बोट सुक्न थाले

पाल्पा
पाल्पामा कफीखेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ ।  ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी सङ्घ पाल्पाका संयोजक कमलराज खनालले यसवर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएको र यसका बोट सुकेर जान थालेको जानकारी दिनुभयो । जिल्लामा गत वर्ष झण्डै १५ टन कफी उत्पादन भएको थियो । गत आवमा अत्यधिक चिसोका कारण कफी उत्पादन कमी भएको उहाँले बताउनुभयो ।

तानसेन छापका किसान भीमबहादुर मिधुनले सुकेको कफीको बोट काटेर हेर्दा हाँगामा किरा भेटिएको जानकारी दिनुभयो । कफीखेती छाहरीमा गरिने छाहरीको अभाव र चिसोले  समस्या देखिएको किसानहरु बताउछन् । कफीखेतीबाट आम्दानी लिन तीन–चार वर्ष कुर्नुपर्ने बाध्यता रहेको र लगानी अनुसार प्रतिफल नभएपछि किसान विस्थापि हुन थालेका छन् । कफीखेती गर्ने युवा वैदेशिक रोजगार, तराईमा बसोबास झर्दा ज्याला मजदुरी गर्नेको अभाव भएको छ ।

 व्यावसायिक रूपमा कफी गर्दा २० रुपैयाँमा एक किलो बिक्री गर्नुपर्ने बाध्यता थियो । तर अहिले प्रतिकिलो ९० रुपैयाामा गाउँबाटै बिक्री हुन्छ । राम्रो आम्दानी हुने भएपछि गाउँले व्यावसायिक रूपमै यसतर्फ आकर्षित भएको स्थानीयवासी यमबहादुर थापाले बताउनुभयो । जिल्लाको आठ पालिकामा व्यावसायिक कफी उत्पादन, सङ्कलन र बजारीकरणको पहुँच विस्तार गरिएको छ । 

जिल्लाका आठ स्थानीय तहमा १६३ हेक्टर क्षेत्रमा व्यावसायिक रूपमा कफी खेती हुन्छ  । कफीका बोटलाई रोगले आक्रमण गरेपछि यसको उत्पादन वृद्धिमा समस्या देखिएको छ । 

रासस