४ जेठ, २०८१ शुक्रबार

08:42:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गृहमन्त्रीले सिडिओलाई भने-सेवा सुस्त भएको गुनासो आयो दायित्व पुरा गर्नुहोस्

२२ माघ, २०७८

 गृहमन्त्रीले सिडिओलाई भने-सेवा सुस्त भएको गुनासो आयो दायित्व पुरा गर्नुहोस्


२२ माघ  :  गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर बस्दाका दिनसम्म प्रभावकारी काम गर्न निर्देशन दिनुभएको छ । 

अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित्व पूरा गर्नेतर्फ लाग्न निर्देशन 

मन्त्रालयले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे शनिबार गरेको भर्चुअल बैठकमा गृहमन्त्री खाँणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित्व पूरा गर्नेतर्फ लाग्न निर्देशन दिनुभयो । 

उहाँले जिम्मेबारी राम्रोसँग निभाएको निष्कर्ष मन्त्रालयले निकालेमा तोकिएको समयभन्दा बढी समयसम्म पनि जिल्लामा प्रमुख जिल्ला अधिकारी बनाएर राख्न सक्ने भन्दै आफू जुन दिनसम्म जिल्लामा बसिन्छ त्यस दिनसम्म प्रभावकारी काम गर्नु पर्नेमा जोड दिनुभयो ।

‘प्रमुख जिल्ला अधिकारी ज्यूहरूले आफ्नो जिल्लाको शान्ति सुरक्षाबारे ध्यान दिनुस् । एक वर्ष पुग्न यति दिन बाँकी छ भनेर दिन गन्दै नबस्नुस् । मन्त्रालयले तपाईले गरेको काम राम्रो छ भन्ने मुल्यांकन ग¥यो भने त्यो भन्दा बढी समयसम्म पनि तपाईलाई प्रजिअ बनाएर राख्न सक्छ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘जुन दिनसम्म जिल्लामा बस्नुहुन्छ, त्यसदिनसम्म प्रभावकारी काम गरेको छाप छोड्नुपर्छ ।’

कोभिड–१९ को महामारीका बेलामा आफै संक्रमित भएर पनि राम्रो काम गरेकोमा धन्यवाद भन्दै मन्त्री खाँणले आगामी दिनमा त्यो भन्दा राम्रो काम हुनेमा आफू विश्वस्थ रहेको बताउनु भयो । 

कतिपय जिल्लामा जिल्ला प्रशासन कार्यालयमा सेवा प्रवाह सुस्त भएको गुनासो आएको भन्दै गृहमन्त्री खाणले जनतालाई समयमै सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न पनि निर्देशन दिनुभयो । जनशक्ति कम भएका कार्यालयमा जनशक्ति वृद्धि गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको उहाँको भनाइ थियो । 

विशेषगरी पहाडी जिल्लामा सर्वारी दुर्घटना बढीरहेको भन्दै उहाँले दुर्घटना न्यूनिकरणका उपाय अवलम्बन गर्नतर्फ सजग रहन सबै प्रजिअहरूलाई निर्देशन दिनुभयो । अब कसरी सुरक्षित यात्रा गर्ने र गराउने भन्ने विषयमा सबै संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रशासन कार्यालयबाट प्राप्त हुने सेवा सुविधा सहज बनाउन निर्देशन दिनुभयो ।

कतिपय जिल्लामा जिल्ला प्रशासन कार्यालयमा सेवा प्रवाह सुस्त भएको गुनासो आएको भन्दै गृहमन्त्री खाणले जनतालाई समयमै सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न पनि निर्देशन दिनुभयो

उहाँले जिल्लाको परिस्थितिअनुरुप कोभिड–१९ सम्बन्धी आदेशलाई पुनरावलोकन गर्न पनि निर्देशन दिनुभयो । बैठकमा एक प्रदेशबाट एक प्रमुख जिल्ला अधिकारीले वस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो ।

प्रदेश–१ बाट मोरङका प्रजिअ काशीराज दाहाल, मधेश प्रदेशबाट पर्साका प्रजिअ उमेशकुमार ढकाल, बागमती प्रदेशबाट मकवानपुरका प्रजिअ भरतमणि पाण्डे, लुम्बिनी प्रदेशबाट रुपन्देहीका प्रजिअ ऋषिराम तिवारी गण्डकी प्रदेशबाट कास्की जिल्लाका प्रजिअ जयराज आचार्य, कर्णाली प्रदेशबाट सुर्खेत जिल्लाका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशबाट कैलालीका प्रजिअ किरण थापाले प्रदेशको वस्तुस्थितिकाबारे जानकारी गराउनुभएको थियो ।