२२ माघ, २०८१ मंगलबार
06:41:42 AM
२२ माघ, २०७८
कैलाली
कैलालीको भजनी नगरपालिका वडा नं ५ मा रहेको पृथ्वीपुर छोटी भन्सार विगत २ वर्षदेखि बन्द छ । कोरोनाको सङ्क्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सिमानाका खुला भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
छोटी भन्सार बन्द हुँदा भन्सार कार्यालयको परिसर पनि निकै नाजुक अवस्थामा पुगिसकेको छ । कार्यालय परिसरमा झारपात उम्रनुका साथै भवन संरक्षणको अभाव देखिएको छ । सरकारले भारतसँग सिमा जोडिएका सबै सिमानाका खुला गर्ने निर्णय गरे पनि बन्द भएको उक्त भन्सार सञ्चालनमा नआउँदा त्यहाँबाट सङ्कलन हुँदै आएको राजस्व पनि बन्द भएको छ ।
खक्रौलास्थित सत्ती भन्सार कार्यालयको मातहतमा रहेको उक्त छोटी भन्सार बन्द हुँदा त्यस क्षेत्रबाट चोरी तस्करीका घटनासमेत बढ्दै गएका छन् । भन्सार कार्यालय खुला हुँदा कम्तीमा पनि स्थानीयवासीले ल्याउने घरायसी सामानको भन्सार महशुल तिरेर ल्याउने गरेका थिए ।
सत्ती भन्सार कार्यालयका प्रमुख विमलकुमार साह कोरोनाका कारण पहिलो चरणको बन्दाबन्दीका समयमा बन्द भएका देशभरका कुनै पनि छोटी भन्सार सञ्चालनमा आउन नसकेको बताउनुहुन्छ । भन्सार विभागबाट छोटी भन्सार सञ्चालनमा ल्याउनका लागि अख्तियारी नआएका कारणले पनि छोटी भन्सार सञ्चालनमा ल्याउन नसकिएको उहाँको भनाइ छ।
भजनी नगरपालिका– ५ का सुरेन्द्र चौधरी भन्सार तथा आसपासका क्षेत्रमा रातिको समयमा निकै हलचल हुने गरेको बताउनुहुन्छ । यस क्षेत्रबाट चोरी तस्करीको सामान निकै आयात हुनेगरेको छ । त्यो सत्ती भन्सार कार्यालय, प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई पनि राम्रोसँग थाहा छ, उहाँ भन्नुहुन्छ, सबै तस्करसँग मिलेका छन् । कसैले केही बोल्ने कुरै भएन । कहिलेकाहीँ बार्गेनिङ नमिलेपछि मात्रै एक्सन लिने काम हुन्छ ।
सत्ती भन्सार कार्यालयका प्रमुख विमलकुमार साह कोरोनाका कारण पहिलो चरणको बन्दाबन्दीका समयमा बन्द भएका देशभरका कुनै पनि छोटी भन्सार सञ्चालनमा आउन नसकेको बताउनुहुन्छ । भन्सार विभागबाट छोटी भन्सार सञ्चालनमा ल्याउनका लागि अख्तियारी नआएका कारणले पनि छोटी भन्सार सञ्चालनमा ल्याउन नसकिएको उहाँको भनाइ छ। हामीले चाहेर पनि भन्सार खुला गर्न सक्दैनौ । विभागको अख्तियारी चाहिन्छ । त्यो अख्तियारी अहिलेसम्म आएको छैन, भन्सार प्रमुख साह भन्नुहुन्छ, कुनै पनि छोटी भन्सार सञ्चालनमा आएका छैनन् । अख्तियारी आएपछि हामीलाई भन्सार सञ्चालनमा ल्याउन कुनै कठिनाइ छैन ।
छोटी भन्सार बन्द भएकै कारण चोरी तस्करीका घटनामा वृद्धि भएको भन्नु गलत हो तर राजस्व सङ्कलन भने बन्द भएको छ । वार्षिक करिब ४० लाखभन्दा भन्दा बढी राजस्व सङ्कलन छोटीबाट हुँदै आएको देखिन्थ्यो । दुई वर्षदेखि त्यो राजस्व सञ्चालन हुन सकेको छैन, उहाँ बताउनुहुन्छ , घरायसी सामान ल्याउनेबाट सामान्य भन्सार भए पनि सङ्कलन हुने गरेकामा अहिले त्यसको निगरानी गर्ने कोही छैन । भन्सार बन्द हुँदा व्यावहारिकरुपमा घरायसी सामान ल्याउन बन्द गर भन्न पनि सकिँदैन ।