६ जेठ, २०८१ आइतबार

06:13:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमालेले निर्वाचनका लागि थप दवाब दिने र अन्तर्घातीलाई कार्वही गर्ने

Nepal Business

१९ माघ, २०७८

एमालेले निर्वाचनका लागि थप दवाब दिने र अन्तर्घातीलाई कार्वही गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आगामी फागुन महिनाभित्र पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक गर्ने कार्ययोजना अघि बढाउने भएको छ । बुधबार बसेको सचिवालयको बैठकले पार्टीको नियमावली पारित गर्दै फागुनभरी सदस्यस्ता नवीकरण अभियान चलाउने निर्णय गरेको हो ।

त्यस्तै प्रचार प्रसारलाई अझ ब्यवस्थित गर्दै नवयुग मासिक पत्रिकालाई पार्टीको सैद्धान्तिक तथा वैचारिक मुखपत्रका रूपमा चौमासिकरूपमा निकाल्ने लगायतका निर्णयहरु गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लालाई निर्देशन दिइएको छ । त्यस्तै बैठकले हालै सम्पन्न भएको राष्ट्रियभसाको निर्वाचनमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो । त्यस्तै बैठकले रौतहटको पार्टी विवाद सुल्टाउन संगठन विभागलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ । स्थानीय तहको चुनावका लागि दबाब दिन केन्द्र र सातवटै प्रदेशमा प्रशिक्षणमुलक कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । प्रचारबिभाग उपप्रमुख बिष्णु रिजालका अनुसार प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको छ । स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको उपप्रमुख रिजालले बताउनुभयो ।