७ मंसिर, २०८१ शुक्रबार
10:29:56 AM
१६ माघ, २०७८
काठमाण्डौ
हरेक भान्सामा जिरा, धनियाँ, लसुन, नुनका अतिरिक्त नछुट्ने मसला हो ‘बेसार’ (हल्दी) । प्याज, टमाटर, अदुवा लगायतका सामाग्री सबैको भान्सामा नभेटीए पनि ‘बेसार’ हरेको भान्सामा अवश्य भेटिन्छ । यो अधिकासं नेपालीको भान्साका लागि अतिआवश्यक सामाग्रीका रुपमा पर्ने गरेको छ । बेसारलाई मसलाका रुपमा मात्र नभएर औषधीका रुपमा पनि प्रयोग गरिन्छ । बेसारमा किटाणुहरुलाई मार्ने शक्ति हुने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।
यतिमात्र होइन, बेसारलाई सौन्दर्य प्रसाधनका रुपमा पनि प्रयोग गरिन्छ । साथै हिन्दु धर्म अनुसार बेसार पूजाआजामा पनि प्रयोग हुन्छ । हिन्दु संस्कृति अनुसार बेसारलाई विवाह हुँदा दुलाहा तथा दुलहीलाई लगाइदिने चलन छ । बेसार लगाउँदा निखार आउने मान्यता रहेको छ । धर्मकर्मदेखि औषधीका रुपमा प्रयोग हुने बेसार नेपालका अधिकांश भू–भागमा खेती गरिन्छ ।
नेपालमा उत्पादन भए पनि बेसार वर्षेनी बाहिरबाट आयात गरिदै आएको छ । हरेक वर्ष झै यस वर्ष पनि बेसार आयात गरिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्ष २०७८/०७९ को ६ महिनाको अवधिमा भारत, म्यानमार र इथोपियाबाट १ अर्ब १७ करोड ५८ लाख ५४ हजार रुपैयाँ बराबरको बेसार आयात गरिएको भन्सार विभागको तथ्यांकमा छ ।
गत आर्थिक वर्ष २०७७÷०७८ को सोही अवधिमा एक अर्ब २० करोड ८८ लाख ५८ हजार रुपैयाँ बराबरको आयात गरिएको थियो । गत आर्थिक वर्षको तुलनामा यस वर्ष बेसार कम आयात भएको छ ।
नेपालमा भारत, म्यानमार र इथोपियाबाट बेसार आयात हुन्छ । सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट बेसार आयात भएको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भारतबाट मात्र ६९ करोड २१ लख ४२ रुपैयाँ बराबरको बेसार आयात भएको छ । सोही अवधिमा गत आर्थिक वर्षमा भारतबाट १ अर्ब १९ करोड ९४ लाख दुई हजार रुपैयाँ बराबरको आयात भएको थियो ।
यस्तै चालु आर्थिक वर्षमा म्यानमारबाट ४७ करोड २२ लाख दुई हजार र इथोपियाबाट एक करोड १५ लाख १० हजार रुपैयाँ बराबरको बेसार आयात भएको छ भने सोही अवधिमा गत आर्थिक वर्षमा इथोपियाबाट ९४ लाख ५६ हजार रुपैयाँ बराबरको बेसार आयात भएको भन्सार विभगको तथ्यांकमा उल्लेख छ।
यही अनुपातमा विभिन्न मुलुकबाट बेसार आयत भईरहेको छ । यसले के देखाउँछ भने वार्षिक २ अर्ब ५० लाख भन्दा बढिको बेसार हामीले वर्षेनी विदेशी मुलुकको खाईरहेका छौं । नेपालमा बेसार उत्पादन हुने भएपनि बेसारको प्रशोधन र बजारिकणको समस्याका कारण शहरी क्षेत्रमा बेसारको माग बढिरहेको छ । पछिल्लो समय कोरोना भाईरस कोभिडका कारण पनि बेसारको खपत बढिरहेको छ ।