१३ बैशाख, २०८१ बिहिबार

09:55:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मौसम विग्रिँदा सगरमाथा आरोहण प्रभावित, अनुकूल मौसमको प्रतीक्षामा सयौँ आरोही

Nepal Business

२१ बैशाख, २०८०

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् ।

मौसम विग्रिँदा सगरमाथा आरोहण प्रभावित, अनुकूल मौसमको प्रतीक्षामा सयौँ आरोही

मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो ।

पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एक सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ ।

पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एक सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ ।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । 

उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण सुरु हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ ।
 
सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन् । उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छ ।

चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरु भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले राससलाई जानकारी दिनुभयो ।

 “शुरुमा आजसम्म डोरी टाँग्ने लक्ष्य थियो, मौसमको प्रतिकूलताले त्यो अहिले रद्द भइसकेको छ”, उहाँले भन्नुभयो, “मौसम विवरणअनुसार शनिबार र आइतबार मौसम राम्रो देखाएकाले सायद आरोहण निरन्तर अघि बढ्छ होला ।”


अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । सो क्षेत्रमा हावाका साथै हिमपात भइरहेको छ । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौँ फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् ।

 पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धेरै आरोही सगरमाथा आधार शिविरमा अनुकूल मौसमको प्रतीक्षामा रहेको बताउनुभयो । “उपयुक्त मौसमको पर्खाइमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म पुग्दै पुनः आधार शिविर फर्किरहेका छन्”, उहाँले भन्नुभयो, “मौसम खुलेपछि सबै आरोहीको सगरमाथा क्षेत्रमा जाम हुन्छ ।”

आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । 
खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी० र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ

सगरमाथाको दोस्रो शिविरसम्म एसपिसिसीले बाटो बनाएको थियो ।  पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । 

आइसफल डाक्टरहरू सगरमाथाको आधार शिविरमा फर्किएका छन् । मौसम अनुकूल हुनेवित्तिकै चुचुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताउनुभयो । साउथ कोलबाट चुुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उहाँको भनाइ छ ।

लुक्लामा रहनुभएका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको आधार शिविरमा छन् ।

सगरमाथा क्षेत्रमा मौसम बिग्रिएका कारण आफूहरू लुक्लामा आराम गरिरहेको उहाँले बताउनुभयो । शेर्पाको कम्पनीबाट मात्रै ८० भन्दा बढी आरोही छन् । आधार शिविरमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म ओहोरदोहोर गरिरहेका भए पनि पछिल्ला दिनमा मौसम बिग्रिएकाले उनीहरू आधार शिविर ओर्लिएका हुन् ।

     वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । उनीहरूमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।