१५ चैत, २०८० बिहिबार

06:28:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा गिरावटदेखि श्रीलंकामा मुद्रास्फिती ७० प्रतिशतभन्दा धेरैले बढ्योसम्म

Nepal Business

६ असोज, २०७९

प्रमुख समाचारः सेयर बजारमा गिरावटदेखि श्रीलंकामा मुद्रास्फिती ७० प्रतिशतभन्दा धेरैले बढ्योसम्म

१) सेयर बजारमा ९.८३ अंकको गिरावट

सेयर बजार बिहिबार घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार आज सेयर बजार ९.८३ अंकले हो । आज नेप्से सूचक ९.८३ अंकले घटेर १८३८।९७ को बिन्दुमा बन्द भएको छ ।

कारोबारमा आएका २२९ कम्पनीका २५ लाख ४२ हजार ८ सय ९९ कित्ता सेयर खरिद बिक्रिबाट ६५ करोड ५७ लाख ५ हजार १६९ बराबरको कारोबार भएको छ । जस मध्ये नबिल बैंक लिमिटेडको २ करोड ५८ लाखको कारोबार भएको छ भने बोटर्स नेपालको २  करोड ४१ लाखको कारोबार भएको छ ।

२) ब्याजको लोभमा बैँकमा पैसा थुपारेर उत्पादन बढ्दैन्, अब बैंकको ब्याज घटाउँछौंः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले ब्याजको लोभमा बैंकमा पैसा थुपारेर उत्पादन नबढ्ने बताउनुभएको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याज दिएर बैंकमा पैसा तानिरहेको बताउँदै उहाँले यसरी देशको विकास नहुने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित नाडा इभी अटो शोमा बोल्दै शर्माले बैँकमा व्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउदै बैंकले दिने गरेको व्याज घटाउन सरकार लागि परेको स्पस्ट पार्नुभयो ।

अर्थमन्त्री शर्माले पालुङटारलाई सूचना प्रविधिमा अघि बढाइ स्मार्ट सिटि बनाउने घोषणा गर्नुभएको छ । स्मार्ट सिटी बनाउन संघीय सरकार र अर्थ मन्त्रालयले सबै सहयोग गर्ने बताउनुभयो ।
इतिहास र वर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखाले यतिवेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको उहाँको भनाइ छ ।

यस्तै, उहाँले अहिले विद्युतीय गाडीमा के कस्ता छुट दिने भनेर छलफल भैरहेको बजाउनुभयो ।  विद्युतीय गाडी नेपालमा नै बनाउनु पर्ने र त्यसका लागि चार्जिङ स्टेशन पनि निर्माण गर्नु पर्ने उहाँले जनाउनुभएको छ ।

साथै उहाँले देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको बताउनुभयो ।

३) पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्नेबारे अध्ययन गर्न समिति गठन

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात कसरी रोक्न सकिन्छ भन्नेबारे अध्ययन गर्न समिति गठन भएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार राजस्व सचिवको नेतृत्वमा  पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयात कसरी रोक्न सकिन्छ भन्नेबारे अध्ययन गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको छ ।

वार्षिक खर्बौ रूपैयाँको पेट्रोलियम पदार्थ आयात हुने गरेको भन्दै त्यस्ता सवारी साधनको आयातमा कसरी रोक लगाउन सकिन्छ भन्नेबारे अध्ययनका लागि समिति गठन गरेको शर्माले बताउनुभयो।

अहिले विभिन्न देशले पेट्रोलियमबाट चल्ने सवारी साधन नचलाउनेबारे अविध राखेर अध्ययन गरिरहेका छन् । सबैले विद्युतीय सवारी साधन जोड दिँदै आएका बताउँदै उहाँले नेपालले पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको विस्थापन गर्नुपर्ने उल्लेख गर्नुभयो । नेपाल पनि अब विद्युतीय सवारीमा रुपान्तरण हुनु पर्ने भन्दै नाडा समेत यसमा तयार हुनु पर्ने अर्थमन्त्री शर्माको सुझाव छ । 

४) दुई महिनामा बैंकहरुले लिए १७ खर्ब १६ अर्ब एसएलएफ सुविधा

दुई महिनाको अवधिमा वाणिज्य बैंकहरुले १७ खर्ब १६ अर्ब ७० करोड २० लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् । राष्ट्र बैंकका अनुसार बैंकहरुले साउन १ गतेदेखि असोज ४ गतेसम्म उक्त रकम अल्पकालीन सापटी लिएका हुन् ।

बैंकहरुले १ हजार ६ कारोबारबाट उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । मंगलबार मात्रै बैंकहरुले २८ अर्ब १३ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका थिए । यो अवधिमा सबैभन्दा बढी भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले एसएलएफ सुविधा लिएका छन् ।

यस्तै साउन २ गते ६१ अर्ब ७४ करोड, भदौ १८ गते ५० अर्ब ४० करोड भदौ २३ गते ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ यस्तो सुविधा लिएका छन् । असोजको २ दिनमा नै बैंकहरुले ६३ अर्ब ९ करोड ७५ लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् । राष्ट्र बैंकले बैंकहरुलाई ५ दिने अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ ।

५) तरलता अभावलाई सहज बनाउन ४० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक

बैंकिङ्ग प्रणालीमा तरलता अभावलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले ४० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रकृयाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएका ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्न लागेको हो।

ट्रेजरी बिल्स बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ। बोलकबोल आवेदनका आधारमा बैंकले शुक्रबार ट्रेजरी खरिद गर्नेछ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा भएको तरलता अभावलाई  व्यवस्थापनको लागि नेपाल सरकारको ट्रेजरी बिल्स सोझै खरिद गरेर उक्त रुपैयाँ वित्तीय बजारमा प्रवाह गर्न लागेको हो।

६) कर बुझाउन तोकता गरेका मध्ये १५ संस्थाले बुझाए महानगरलाई ७६ करोडभन्दा बढि 

काठमाण्डौं महानगरपालिकाले विभिन्न संस्थाबाट ७६ करोडभन्दा बढि कर संकलन गरेको छ । उठाएको छ । महानगरले मनोरञ्जन, व्यवसाय, घर बहाल कर बापत १५ वटा संस्थाबाट ७६ करोड १३ लाख ४२ हजार ७५२ रुपैयाँ कर संकलन गरेको हो । 

महानरले कर तिर्न ताकेता गरेको संस्थामध्येबाट अहिलेसम्म १५ वटाले मात्रै कर तिरेका छन् ।कर बुझाउनले पनि केही संस्थाले आसिक बुझाएका छन् भने केहीले पुरै बुझाएका छन् । केही कम्पनीले कर छुट लिएको जनाएका छन् । केही संस्था कर तिर्न आनाकानी गरिरहेका छन् भने केही सम्पर्कमा नरहेका, केही बन्द भएको महानगरले जनाएको छ ।

७) काठमाण्डौं महानगरले हटायो वीर अस्पताल अगाडिका अनधिकृत संरचना

काठमाण्डौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेको अनधिकृत संरचना हटाएको छ । बिहीबार डोजर लगाएर महानगरले अस्पताल अगाडी फार्मेसी रहेका टहराहरुलाई हटाएको हो।

डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन सूचना जारी गरेको महानगरले जनाएको छ । अस्पताल प्रशासनले औषधी पसल हटाउन जानकारी गराएको र महानगरले समेत सूचना जारी गर्दा पनि पसलहरु सञ्चालनमा रहेपछि डोजर लगाएर संरचना नै भत्काउनु परेको काठमाण्डौं महानगरका प्रहरी प्रमुख राजु पाण्डले जानकारी दिनुभयो ।

बीर अस्पतालले बनाएको नयाँ भवनका बाहिरी भागमा बगैंचा राख्ने अनुमति लिएर नक्सा पास गरेकाले संरचना हटाइएको उहाँले बताउनुभयो । महानगरले संरचना हटाउन सुरु गरेपछि व्यापारीहरुले सामानहरु निकालेका थिए । 

८) बैंकले धम्कीको शैलीमा ब्याजदर बढ्यो भन्ने गरेकोले राष्ट्र बैंक र अर्थमन्त्रालयले यसमा ध्यान दिन जरुरी छः अध्यक्ष गोल्छा 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो जीवनकालमा यस्तो आर्थिक संकट कहिल्यै नदेखेको बताउनुभएको छ  । बिहीबार नाडो इभी शोको उद्घाटन कार्यक्रममा अध्यक्ष गोल्छाले आफूले यस्तो आर्थिक संकट पहिलो पटक देखेको भन्दै यो चिन्ताको विषय भएको बताउनुभएको हो । 

यस्ता चुनौती आउनुमा विभिन्न विज्ञहरुको फरक फरक धारणा आएको उहाँले बताउनुभयो । रुस र युक्रेन युद्धका कारण इन्धन, खाद्यान्न लगायतको मूल्य बढ्दा अहिलेको समस्या आएको विज्ञहरुको भनाइ रहेको उहाँको भनाइ छ। 

यस्तै उहाँले बैंकहरुले आधारदरमा निश्चित प्रतिशत तोकेर दिएको ब्याजदर बीचमा नै परिवर्तन भएको बताउनुभयो । बैंकले धम्कीको शैलीमा ब्याजदर बढ्यो भन्ने गरेकोले राष्ट्र बैंक र अर्थमन्त्रालयले यसमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । 
 

९) ७ कम्पनीले घोषणा गरे लाभांश 

चालु आर्थिक वर्ष लागेसँगै विभिन्न ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । साउनदेखि असोजसम्ममा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये विभिन्न ७ कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमा कम्पनीहरु रहेका छन् । ७ वटा कम्पनीमा ४ वटा जीवन बीमा कम्पनी, २ वटा हाइड्रो कम्पनी र १ उत्पादनमूलक क्षेत्रको कम्पनी रहेको छ । कम्पनीहरुले छुट्टा छुट्टै आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

१०) श्रीलंकामा मुद्रास्फिती ७० प्रतिशतभन्दा धेरैले बढ्यो 

श्रीलंकाको अर्थतन्त्र सात दशक यताकै खराब अवस्थामा पुगेको छ । गत अगस्टको आधिकारिक तथ्यांक अनुसार श्रीलंकामा मुद्रास्फिती ७० प्रतिशतभन्दा धेरैले बढेको छ। गत वर्षको भन्दा खाद्यान्नको मूल्यमा ८४.६ प्रतिशत वृद्धि भएको देखिएको छ।

श्रीलंका यस वर्ष विदेशी मुद्रा सञ्चितिको अभावसँग जुध्दै आर्थिक तथा राजनीतिक अस्थिरतामा फसेको छ। हाल श्रीलंकामा इन्धन, रसायनिक मल र औषधी अभावसँग जुधिरहेको छ।

गत महिनामात्रै श्रीलंकाको केन्द्रीय बैंकले मुद्रास्फितीदर केही घट्ने अनुमान गरेको बताएको थियो। तर गत साताको आधिकारिक तथ्यांकका अनुसार मुद्रास्फिती ७० प्रतिशतभन्दा माथि पुगिसकेको छ। विगत तीन महिनामै अर्थतन्त्र ८.४ प्रतिशतले संकुचनमा गएको छ। श्रीलंकाले कोभिड महामारी अघि पर्यटन क्षेत्रबाट ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्दै आएको थियो।
तर कोभिड महामारीपछि भने श्रीलंकाको पर्यटन क्षेत्र धरासायी भयो।

ठूलो मात्रामा बैदेशिक ऋण लिएको बिगत एक वर्ष बित्तीय अब्यवस्थाका कारण सन् २०२२ को सुरुवातदेखि नै विदेशी दाताहरुको ऋण तिर्न नसक्ने अवस्थामा पुग्यो । यसले श्रीलंकाको राजनीतिक र आर्थिक अवस्था निकै गम्भीर अवस्थामा पुर्याइदिएको छ ।