६ मंसिर, २०८१ बिहिबार
05:49:49 PM
६ असोज, २०७९
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एमाले प्रवेश गराउदै ओलीले गठबन्धनले संसद बाहिर बसेर, अनधिकृत स्थानमा भेला भएर र संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेको भन्दै आक्तोश व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रपतिको अपमान गर्ने काम महानता हो भनेर गठबन्धनले ठानेको तर्क गर्नुभयो । नागरिकता विधेयकका बारेमा गठबन्धन एकलौटी ढंगले अघि बढेको र एकपटक पनि राष्ट्रपतिसँग परामर्श नगरेको उहाँले बताउनुभयो ।
ओलीले नेपाली नागरिकलाई मात्रै नागरिकता दिने काम हुनुपर्ने भन्दै विदेशीहरुलाई नागरिकता दिने काम सरकारले गर्न नसक्ने धारणा राख्नुभयो । उहाँले संविधान अनुसार कुनैपनि नेपाली नागरिकलाई नागरिकताविहिन बनाउन नमिल्ने बताउनुभयो ।
यसअघि एमालेले अघि बढाएको नागरिकतासम्बन्धी कानूनलाई अहिले गठबन्धनमा रहेका दलहरुले रोकेको उहाँले बताउनुभयो । ओलीले गठबन्धनलाई पराजित गराएर छाड्ने र गठबन्धनका अपराधहरुका बिरुद्ध लडिरहेको एमालेलाई विजयी गराउने दावी गर्नुभयो ।
गठबन्धनको गन्तव्य जसरी पनि सत्ता प्राप्त गर्ने मात्र रहेको उहाँले बताउनुभयो । ओलीले एमालेको लक्ष्य समृद्ध नेपाल सुखि नेपाली भएपनि गठबन्धनको लक्ष्य आफ्नो परिवारको समृद्ध मात्र भएको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले एमालेको घोषणापत्रलाई देश र जनताको चाहना अनुसार बनाउन सवैपक्षँंग छलफल समेत चलाएको बताउनुभयो । उहाँले प्रधानन्यायाधिशमाथी लागेको महाभियोगलाई बदनियताका साथ सभामुखले ६ महिनासम्म अघि नबढाएको आरोप लगाउनुभयो । आरोप पुष्टि नहुँदै घर घेर्नु र नजरबन्दमा राख्नु राज्य आतंकको पराकाष्ट भएको उहाको भनाई छ ।
त्यस्तै एमाले प्रवेश गर्दै खनालले पछिल्ला सात जना प्रधानमन्त्रीमा केपी ओली जस्तो राजनेता कोहि नभेट्टाएको बताउनुभयो । एमालेले राष्ट्रका लागि गरेको कामलाई देखेर आफु पनि एमाले प्रवेश गरेको उहाँको भनाई छ ।
कार्यक्रममा खनाल लगाएत काठमाण्डौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने तयारी गरेका अब्दुस मिया लगाएतका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए ।