१८ माघ, २०८१ शुक्रबार

09:51:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा दोहोरो अंकको सुधारदेखि एडीबीद्वारा नेपालको अर्थतन्त्रको वृद्धिदर घट्ने प्रक्षेपणसम्म

Nepal Business

५ असोज, २०७९

प्रमुख समाचारः सेयर बजारमा दोहोरो अंकको सुधारदेखि एडीबीद्वारा नेपालको अर्थतन्त्रको वृद्धिदर घट्ने प्रक्षेपणसम्म

१) सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा सुधार आएको छ । साताको चौथो दिन बुधबार सेयर बजारमा  दोहोरो अंकको सुधार देखिएको  हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से ११.२२ अंकले बढेर एक हजार ८ सय ४८.८२ विन्दुमा बन्द भएको छ । आज नेप्सेमा ७२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साताको कारोबारको सुरुवातदेखि नै निरन्तर गिरावट भइरहेको नेप्से बुधबार भने दोहोरो अंकले बढेको हो । 

आज कारोबार भएका कम्पनीमध्ये १४२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ वटा कम्पनीको सेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको सेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेको हो ।  

नेप्सेका अनुसार वीन नेपाल लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड र राप्ती हाइड्रोको सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको  भएको छ । बैंकको आज ३ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।                      

२) जापानले नेपाललाई १६ अर्बभन्दा बढि ऋण र अनुदान दिने

नेपाल सरकारलाई जापानले १६ अर्ब भन्दा बढी ऋण तथा अनुदान सहायता दिने भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा जापान सरकारले पूर्वी तराई क्षेत्रमा सिंचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब २ अर्ब रुपैयाँ) अनुदान सहायता बराबरको सम्झौता भएको हो ।

सोही अवसरमा शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.०१ करोड (करिब १४.२ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

अनुदान सहायता मुख्यतया पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिंचाइ सुविधाका लागि चन्द्र नहर सिंचाइ प्रणालीको मर्मत सम्भार एवम् सुधारका लागि प्रयोग गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी अवधि र १० वर्षको ग्रेस अवधि रहेको सहुलियतपूर्ण ऋण काठमाडौं र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घटाउन र वितरण प्रणालीको विश्वसनीयता बढाउनका लागि प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

३) ४१ व्यक्ति तथा कम्पनीलाई १० दिनमा कर बुझाउन काठमाण्डौं महानगरले जारी गर्यो सूचना 

काठमाण्डौं महानगरपालिकाले घर जग्गा सम्पत्ति कर बुझाउ भन्दै ४१ व्यक्ति तथा कम्पनीलाई १० दिने सूचना जारी गरेको छ ।

महानगरले सम्पत्ति बहालमा लगाएको भए बहालमा लिने दिनेबीच भएको सम्झौतामा अनुसार रकमको १० प्रतिशतले हुन आउने कर सहित १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई घर जग्गा/सम्पत्ति कर र सो को जरिवाना बुझाउन सूचना जारी गरेको हो । समयमा नबुझाएमा महानगरको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुलउपर गर्ने जनाएको छ ।

४) सरकारी संस्थानहरूमा रहेको रकमको निश्चित प्रतिशत लघुवित्त कोषमा जम्मा गरिने

सरकारी संस्थानहरूमा रहेको रकमको निश्चित प्रतिशत लघुवित्त कोषमा जम्मा गरिने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ ।

राजधानीमा ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’को ४९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले साना किसान तथा साना स्टार्टअपलाई सो कोषबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन संस्थानहरुको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने कार्यविधि अघि बढेको बताउनुभएको हो । 

साना किसान तथा साना व्यवसायीले ठूला बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाउन मुश्किल र झन्झटिलो रहेको भन्नुहुँदै मन्त्री शर्माले अब लघुवित्त कोषबाट सजिलै कर्जा प्रदान गरिने बताउनुभएको हो ।

उहाँले सो संरचनाको कार्यविधि लागि सुझाव दिन समेत बैंक तथा वित्तीय संस्था एवम् सरोकारवालालाई आग्रह गर्नुभयो ।आर्थिक वर्ष ०७९÷८० को बजेटमा ५ खर्बको लघुवित्त कोष निर्माण गर्ने उल्लेख छ । सोही कोषमार्फत् साना किसान, साना उद्यमी तथा स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिइने भनिएको छ ।

यसैगरी मन्त्री शर्माले उत्पादन बिना आयात प्रतिस्थापन गर्न नसकिने उल्लेख गर्नुहुँदै स–साना उत्पादनमुखी व्यवसायमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्नुभयो।यसले उत्पादन बढाउने र साना उद्योगमार्फत् कृषि उपजलाई एक स्तरको प्रशोधन गरी निर्यात गर्न सक्ने अवस्थामा पु¥याउन सकिने बताउनुभयो ।

५) अब बिना अनुमति काठमाण्डौं महानगरमा डिजिटल बोर्ड राख्न नपाइने

अब काठमाण्डौं महानगरपालिकामा बिना अनुमति डिजिटल बोर्ड राख्न नपाइने भएको छ । बुधबार महानगरले एक सूचना जारी गर्दै अनुमतिबिना महानगर क्षेत्रमा डिजिटल होर्डिङ बोर्ड हटाउने निर्देशन दिएको हो । 

महानगर क्षेत्रभित्र अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपश्चात् समेत निरन्तर होर्डिङ डिजिटल बोर्ड तथा अन्य माध्यमबाट बाह्य विज्ञापन गरिरहेको देखिएकाले सूचना जारी गरिएको महानगरले जनाएको छ ।

६) सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा राष्ट्रि वाणिज्य बैंक सम्मानित 

निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थामध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा सम्मानित भएको छ। 

आर्थिक वर्ष २०७८–७९ मा बैंकले सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा सम्मानित भएको हो । 

नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९ औँ वार्षिकोत्सवका अवसरमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।

७) बैंकहरुको ब्याज बढाउने निर्णय स्वभाविक नभएको ढकालको भनाइ 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुको ब्याज बढाउने निर्णय स्वभाविक नभएको बताउनुभएको छ । बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रमपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वाणिज्य बैंकले ब्याज बढाउँदैमा निक्षेप बढ्ने सम्भावना नरहेको बताउनुभएको हो । 

नेपाल बैंकर संघले विगत ६ महिनादेखि ब्याजदरका विषयमा गर्दै आएको भद्र सहमति खारेज गरेपछि बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि निक्षेपमा ब्याज बढाएका छन् ।
केही बैंकहरुले रेमिट्यान्स निक्षेपमा १५ प्रतिशतभन्दा बढी ब्याज दिन थालेका छन् ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले दैनिक ब्याज दिने, हरेक दिन ब्याज सावाँमा गणना गर्ने जस्ता कयौं स्किमहरु ल्याएका छन् । जसले गर्दा आगामी दिनमा बैंकहरुले आधारदर बढ्ने र कर्जाको ब्याजदर झनै महँगो हुनेछ ।

८) वाणिज्य बैंकहरुले असोज ४ गतेसम्म लिए १७ खर्ब १६ अर्बभन्दा बढिको एसएलएफ सुविधा

तरलता अभाव हुँदा पनि वाणिज्य बैंकहरुले असोज ४ गतेसम्म १७ खर्ब १६ अर्ब ७० करोड २० लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् । राष्ट्र बैंककाअनुसार बैंकहरुले साउन १ देखि असोजसम्म ४ गते उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । 

१ हजार ६ कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । मंगलबार नै बैंकहरुले २८ अर्ब १३ करोड रुपैयाँ एसएलएफ सुविधा लिएका थिए । यो अवधिमा सबैभन्दा बढी भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले सुविधा लिएका छन् । 

९) ललितपुर महानगरपालिकाले मापदण्डविपरीतका संरचना हटाउन जारी गर्यो ३५ दिने सूचना

ललितपुर महानगरपालिकाले मापदण्डविपरीतका संरचना हटाउने भएको छ । बुधबार सूचना जारी गर्दै महानगरले मापदण्डविपरीतका संरचना हटाउने ३५ दिने सूचना जारी गरेको हो । 

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढी लगायतका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो ।

उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्यन नगरेरनगराएमा महानगरपालिका कार्यालले त्यस किसिमका संरचनाहरु हटाउने सूचनामा जनाइएको छ ।

१०) एडीबीद्वारा नेपालको अर्थतन्त्रको वृद्धिदर घट्ने प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी)ले नेपालको अर्थतन्त्रको वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षको वृद्धिदर कम हुने एडीबीको प्रक्षेपण छ ।

एडीबीले सार्वजनिक गरेको एसियन डेभलोपमेन्ट आउटलुक (एडीओ) मा गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८ प्रतिशतले वृद्धि भए पनि आगामी आर्थिक वर्षमा वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने उल्लेख छ ।

एडीबीले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को वृद्धि कम हुने प्रक्षेपण गरेको हो । मौद्रिक नीतिले जीडीपीलाई प्रतिबिम्बित गर्ने भएकाले आव २०२३ मा आयतमा हुने वृद्धि रोक्न आवश्यक भएको एडीबीको प्रतिवेदनमा उल्लेख छ ।

नेपालको मुद्रास्फीतिमा सिर्जना हुने दबाब र विदेशी विनिमय सञ्चितिमा हुने गिरावटका कारण आगामी वर्ष नेपालको अर्थतन्त्रको वृद्धि ४.७ प्रतिशतमा सीमित हुने एडीबीले प्रक्षेपण गरेको छ ।