१८ माघ, २०८१ शुक्रबार
09:38:51 AM
४ असोज, २०७९
१) सेयर बजारमा ३८.८१ अकंको गिरावट, १ अर्ब २२ करोडको कारोबार
सेयर बजारमा गिरावट आउने क्रम अझै रोकिएको छैन । मंगलबार पनि सेयर बजारमा भारि गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८१ अकंले घटेर १८३७.६० बिन्दुमा बन्द भएको छ ।
यस दिन २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था र एनएमबी फिफ्टीको सेयरमूल्य बढेको हो ।
कारोबारको हिसाबले आज हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५ करोड ६५ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन कालिका पावर कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । आज कम्पनीको सेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो ।
२) भदौमा २ अर्ब ४२ करोडको विद्युत भारत निर्यात, ४ महिनामा ४ अर्ब ४९ करोड आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो महिना (भदौ) मा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ कमाएको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गर्न थालेको थियो ।
सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ कमाएको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।
हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु) नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
‘चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
‘अब चाडबाड पनि सुरु हुन लागेकोले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ, तर हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करिब २ सय मेगावाट थप विद्युत निर्यातको सहमतिका लागि प्रस्ताव पठाएका छौं, भारतीय पक्षबाट थप विद्युत निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त छौं ।’
आइएक्समा २४ घण्टालाई १५र१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ ।
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।
केही दिनअघि प्राधिकरणले ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।
यसअघि प्राधिकरणले ४ जलविद्युत आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप ४ जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव पेश गरेको हो ।
निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युतगृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।
यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।
३) चालु आर्थिक वर्षको भदौमा ५२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार
पछिल्लो समय घरजग्गाको कारोबार बढेको छ। चालु आर्थिक वर्ष २०७९÷८० को सरुवातसँगै काठमाडौंमा घरजग्गाको कारोबार पनि बढ्न पुगेको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनाको तुलनामा भदौ महिनामा घरजग्गा कारोबार ५२ प्रतिशतले बढेको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार भदौ महिनामा काठमाडौंमा घरजग्गा कारोबार संख्या २ हजार ५ सय ११ रहेको छ। साउन महिनामा काठमाडौंमा घरजग्गा किनबेच संख्या १ हजार ६ सय ५५ थियो।
कारोबारसँगै भदौमा जग्गाको कित्ताकाट पनि वृद्धि भएको छ। साउनमा २१७ कित्तालाई ६ सय २१ कित्तामा टुक्र्याइएको थियो । भदौमा भने ५ सय ९३ कित्तालाई १ हजार ८ सय १२ कित्तामा टुक्र्याइएको विभागको तथ्यांक उल्लेख छ ।
साउनको तुलनामा भदौमा रजिष्ट्रेसन दस्तुरबापत उठ्ने राजश्वमा पनि ६३ प्रतिशतले वृद्धि भएको छ। साउनमा रजिष्ट्रेसन दस्तुरबापत ३६ करोड २८ लाख राजश्व उठेको थियो भने भदौमा रजिष्ट्रेसन दस्तुरबाट ५९ करोड २५ लाख रूपैयाँ राजश्व उठेकोे छ ।
घरजग्गाको कारोबार बढेसँगै पुजिँगत लाभकरबापत उठ्ने राजश्व पनि ६८ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ। साउनमा पुजिँगत लाभकरबापत १८ लाख ६० करोड रूपैयाँ राजश्व उठेकोमा भदौमा उक्त संख्यामा वृद्धि हुँदै पुजिँगत लाभकरबापत ३१ करोड ३७ लाख रूपैयाँ राजश्व उठेको छ।
४) चामलको मूल्य बोरामानै २०० रुपैयाँसम्म महँगियो
व्यवसायीले बजारमा चामलको मूल्य मनपरी वृद्धि गरेका छन् । भारतले चामल निर्यातमा कर बढाएको बहानामा नेपाली व्यवसायीले बजारमा चामलको मूल्य मनपरी वृद्धि गरेका हुन् । अहिले बजारमा चामलको मूल्य बोरामै कम्तिमा १०० सयदेखि २०० रुपैयाँसम्मले बढाइएको खुद्रा व्यापारीहरुले बताएका छन् । भारतको कर वृद्धिको समाचारसँगै बजारमा चामलको मूल्य बढ्ने हल्ला चलाइएको र १० दिनयता बजारमा २ सय रुपैयाँसम्म बोरामा मूल्य बढाइएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।
१० दिन अघि १७ सय ५० रुपैयाँमा पाइने २५ किलोको जिरा मसिनो चामलको मूल्य अहिले २ हजार रुपैयाँसम्म पु¥याइएको छ । चामलको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्मले बढेको होलसेल व्यापारीहरुको संस्था नेपाल खुद्रा किराना व्यवसायी संघले जनाएको छ ।
नेपालले भारतबाट चामल आयात गर्ने गरे पनि यो वर्ष भारतबाट निर्यात हुने चामल महँगो भएकोले मूल्य बढेको जनाइएको छ । अघिल्लो साता भारतले सम्भावित खाद्य संकटलाई लक्षित गर्दै धान चामल निर्यातमा कडाइ गरेको थियो । कनिकाको निर्यातमा पूर्ण रोक लगाएसँगै भारतले धान चामल निर्यातमा २० प्रतिशत भन्सार महशुल वृद्धि गरेको थियो ।
तर, भन्सार बढे लगत्तै नेपाल भित्रिसकेको पुरानो चामलमा व्यापारीले करलाई देखाएर मूल्य बढाएका थिए । चाडपर्वको मुखैमा विनाकारण बोरामै २ सय रुपैयाँसम्म चामलमा मूल्य वृद्धि गरिनु गलत भएको उपभोक्ताहरु बताउछन् । भारतबाट नेपालमा वर्सेनि अर्बौं रुपैयाँ बराबरको धान चामल आयात हुँदै आएको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा भारतबाट १७ अर्ब रुपैयाँ बराबरको धान, २९ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको थियो । यस्तै, चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना (साउन) मा १९ करोड रुपैयाँ बराबरको धान र २ अर्ब २१ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ ।
५) नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स थप्नेबारे ७ दिनभित्र विवरण पठाउन अर्थ समितिको निर्देशन
अर्थ समितिले नयाँ ब्रोकर र नयाँ स्टक थप्ने विषयमा अर्थ मन्त्रालयलाई ७ दिन भित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई भदौ ३१ गते एक पत्र पठाउँदै ७ दिनभित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको हो ।
नेपालमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संशोधन गरेको विषयलाई लिएर नेप्से कर्मचारी संघ र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालबाट यससम्बन्धी कार्य स्थगित गर्न आवश्यक कारबाही अगाडि बढाई पाउँ भनी समितिमा निवेदन दिएको पत्रमा उल्लेख छ ।
सोही निवेदनका सम्बन्धमा अर्थ समितिका सभापतिबाट नेपालमा नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दीर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनुअगाडि मुद्रा बजार र पुँजी बजारसम्बन्धी समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पूरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए नभएको सम्बन्धमा समितिमा गम्भीर रुपमा छलफल गर्नुपर्ने देखिएको पत्रमा उल्लेख छ।
‘तर, तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकाले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्नसाथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी सभापतिबाट तोक आदेश भएकाले यस सम्बन्धमा भएका कामकारबाहीसम्बन्धी विस्तृत विवरण ७ दिनभित्र समितिमा आइपुग्ने गरी उपलब्ध गराई समितिको काम कारबाहीमा सहयोग पुर्याउनु हुन निर्देशानुसार अनुरोध छ’, पत्रमा भनिएको छ।
६) दशैंका लागि ८० प्रतिशत हवाई टिकट बुकिङ, काठमाडौं–धनगढीको १७ हजार
आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो ।
यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् ।
दशै आउन एक साता बाँकी हुदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ । हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् ।
विगतमा काठमाडौं–धनगढी हवाई भाडा सात हजार पाँच सय रहेकामा अहिले अधिकतम १७ हजार कायम गरिएको छ । सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौं रहेको छ ।
विराटनगर–काठमाडौं एकतर्फी भाडा न्यूनतम चार हजार पाँच सय अधिकतम भाडादर १० हजार कायम गरिएको छ । अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले जानकारी दिनुभयो। उनका अनुसार काठमाडौं फर्कनका लागि टिकाको भोलिपल्टदेखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ ।
७) एक सातामै बैंकहरुको निक्षेप ४१ अर्बले बढ्यो
बैंकहरुमा निक्षेप ह्वात्तै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ४१ अर्ब रुपैयाँले बढेको हो । भदौ २४ गतेसम्म ४४ खर्ब ४५ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप भदौ ३१ गतेसम्ममा बढेर ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । जुन साउनको तुलनामा ५३ अर्ब रुपैयाँले बढी हो । साउनको अन्तिम सातामा बैंकहरुमा ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थियो ।
त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि बढेको छ । गत भदौ २४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह दुई अर्ब रुपैयाँले बढेर भदौ ३१ गतेसम्म आइपुग्दा ४१ खर्ब ९० अर्ब रुपैयाँमा पुगेको संघको तथ्यांकमा उल्लेख छ ।
८) भदौमा ३९ उद्योग दर्ता
चालु आर्थिक वर्षको भदौ महिनामा करिब ३२ अर्ब रुपैयाँ लगानीसहित ३९ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार भदौ महिनामा ३१ अर्ब ८५ करोड २६ लाख ७९ हजार रुपैयाँ कुल पुँजीसहित ३९ उद्योग दर्ता भएको छ ।
भदौ महिनामा १९ अर्ब २४ करोड ३ लाख ७५ हजार रुपैयाँ कुल पुँजीसहित १० वटा ठूला उद्योग, ११ अर्ब ६८ करोड १४ लाख रुपैयाँको २० वटा मध्यम र ९ अर्ब ३० करोड ९० लाख रुपैयाँको ९ वटा साना उद्योग दर्ता भएका छन् ।
गत साउन महिनामा स्वदेशी तथा विदेशी लगानीमा १ अर्ब २७ करोड २८ लाख रुपैयाँको कुल पुँजीसहित ६ वटा मध्यम वर्गका उद्योग र २ अर्ब ६ करोड ३२ लाख ५० हजार रुपैयाँको १२ वटा साना उद्योग दर्ता भएका थिए ।
भदौ महिनामा ६ वटा वैदेशिक लगानीको उद्योग दर्ता भएका छन् । भदौमा विदेशी लगानीमा ५ करोड कुल पुँजीसहित काठमाडौंमा मेन्टर फ्रेयडस् प्रालि, ५ करोड ५० लाख रुपैयाँमा जिनमेन होटल, ८ करोड ६८ लाख रुपैयाँमा भिडिबि डेपलपर्स प्रालि, २० करोड रुपैयाँमा हाई मेई होटल एण्ड रेष्टुरन्ट, ५ करोड रुपैयाँमा भिएफएस ग्लोबल सर्भिसेस् नेपाल र ५ करोड रुपैयाँमा लोन्नी चिकेन चप प्रालि उद्योग दर्ता गरेका हुन् । साउनमा १ अर्ब ४ करोड २५ लाख रुपैयाँ कुल पुँजीसहित ९ वटा उद्योग दर्ता भएका थिए ।
९)कृषि कर्जा लिएर जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनुपर्छः अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुको कर्जा लगानीमा केही नीतिगत व्यवस्था परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बैंकहरुको कर्जा लगानीमा केही परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले कृषि कर्जाका नाममा जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कृषि योजनाका लागि ऋण लिने र त्यो पैसाले जग्गा किन्ने प्रवृत्ति बढ्दो छ, यस्तो अवस्था अन्त्य गर्नका लागि बैंकको नीति बदल्नु पर्छ।’
नीतिहरु देशको आवश्यकताका आधारमा विकास र विस्तार गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ रहेको छ। उहाँले देशको आवश्यकताका आधारमा नीतिहरु विकास र विस्तार गर्नुपर्ने बताउनुभयो ।
उहाँले निक्षेपको सुरक्षाको अभिभारा पूरा गर्नु पर्ने आवश्यकता रहेको बताउनुभएको छ । शर्माले विपन्न र कमजोर वर्गको उत्थानका लागि सहुलितपूर्ण ऋण पुर्याउन आवश्यक रहेको पनि जनाउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘बिनाधितो ऋण भइरहेकोले यसको कार्यभार बढेको छ, जोखिम व्यवस्थापन सँगै अनुशासनमा अगाडि बढ्न जरुरी छ, लघुवित्त कोषमा सरकारी संस्थानमा भएको रकम लगानी गर्नुपर्छ, मिटरब्याजले सर्वसाधारण संकटमा परेका छन्, सहुलियत ऋण सर्बसाधारणमा पुर्याउनु पर्छ ।’
१०) बेलायतको मुद्रा ३७ वर्षयताकै कमजोर
बेलायतको मुद्रा पाउन्ड स्ट्रेलिङ ३७ वर्षयताकै कमजोर स्थितिमा रहेको छ। पाउन्ड स्ट्रेलिङ अमेरिकी डलर र युरोको तुलनामा निकै कमजोर बनेको हो। गत शुक्रबार प्रकाशित तथ्यांकअनुसार बेलायतको मुद्रा पाउन्ड स्ट्रेलिङ सन् १९८५ यताकै न्यून विन्दुमा झरेको छ।
अमेरिकी डलरको तुलनामा पाउन्ड १५ प्रतिशत र युरोको तुलनामा १२ प्रतिशतले कमजोर भएको छ। रसिया र युक्रेनको युद्धसँगै इन्धन लागत बढ्दा बेलायतको मुद्रा कमजोर बनेको हो।