१८ माघ, २०८१ शुक्रबार

10:44:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चामलको मूल्यमा मनपरी, बोरामा २०० रुपैयाँसम्म महँगियो

४ असोज, २०७९

चामलको मूल्यमा मनपरी, बोरामा २०० रुपैयाँसम्म महँगियो

काठमाडौं ।  व्यवसायीले बजारमा चामलको मूल्य मनपरी वृद्धि गरेका छन् । भारतले चामल निर्यातमा कर बढाएको बहानामा नेपाली व्यवसायीले बजारमा चामलको मूल्य मनपरी वृद्धि गरेका हुन् ।

अहिले बजारमा चामलको मूल्‍य बोरामै कम्तिमा १०० सयदेखि २०० रुपैयाँसम्मले बढाइएको खुद्रा व्यापारीहरुले बताएका छन् । भारतको कर वृद्धिको समाचारसँगै बजारमा चामलको मूल्य बढ्ने हल्ला चलाइएको र १० दिनयता बजारमा २ सय रुपैयाँसम्म बोरामा मूल्य बढाइएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

१० दिन अघि १७ सय ५० रुपैयाँमा पाइने २५ किलोको जिरा मसिनो चामलको मूल्य अहिले २ हजार रुपैयाँसम्म पुर्‍याइएको छ । चामलको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्मले बढेको होलसेल व्यापारीहरुको संस्था नेपाल खुद्रा किराना व्यवसायी संघले जनाएको छ ।

नेपालले भारतबाट चामल आयात गर्ने गरे पनि यो वर्ष भारतबाट निर्यात हुने चामल महँगो भएकोले मूल्य बढेको जनाइएको छ । अघिल्लो साता भारतले सम्भावित खाद्य संकटलाई लक्षित गर्दै धान चामल निर्यातमा कडाइ गरेको थियो । कनिकाको निर्यातमा पूर्ण रोक लगाएसँगै भारतले धान चामल निर्यातमा २० प्रतिशत भन्सार महशुल वृद्धि गरेको थियो ।

तर, भन्सार बढे लगत्तै नेपाल भित्रिसकेको पुरानो चामलमा व्यापारीले करलाई देखाएर मूल्य बढाएका थिए । चाडपर्वको मुखैमा विनाकारण बोरामै २ सय रुपैयाँसम्म चामलमा मूल्य वृद्धि गरिनु गलत भएको उपभोक्ताहरु बताउछन् । भारतबाट नेपालमा वर्सेनि अर्बौं रुपैयाँ बराबरको धान चामल आयात हुँदै आएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भारतबाट १७ अर्ब रुपैयाँ बराबरको धान, २९ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको थियो । यस्तै, चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) मा १९ करोड रुपैयाँ बराबरको धान र २ अर्ब २१ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ ।