१८ माघ, २०८१ शुक्रबार

10:34:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः संविधान दिवसको अवसरमा सरकारद्वारा ९ सय ९८ जनालाई सम्मानदेखि विश्वमा आर्थिक मन्दीको खतरा बढ्दोसम्म

Nepal Business

३ असोज, २०७९

प्रमुख समाचारः संविधान दिवसको अवसरमा सरकारद्वारा ९ सय ९८ जनालाई सम्मानदेखि विश्वमा आर्थिक मन्दीको खतरा बढ्दोसम्म

१) संविधान दिवसको अवसरमा सरकारद्वारा ९ सय ९८ जनालाई सम्मान

सरकारले संविधान दिवसको अवसरमा विभुषित गर्नेहरुको सूची सार्वजनिक गरेको छ । विभुषित हुनेमा ९ सय ९८ जना रहेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो संख्याका व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको हो । 

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले सो घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । पदक पाउने व्यक्तित्वहरूको नामावली गृह मन्त्रालयमार्फत सोमबार सार्वजनिक भएको छ । स्व.पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई नेपाल रत्न पुरस्कारबाट विभूषित गरिएको छ भने जीवराज आश्रित, खिलराज रेग्मी, सत्यमोहन जोशीलाई राष्ट्रिय गौरवबाट विभूषित गरिएको छ ।

यस्तै संस्कृतिमान जगमान गुरुङ सुप्रशिद्ध प्रवल जनसेवा श्री प्रदान गरिएको छ । निर्वाचन आयुक्तहरु इश्वरी प्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर राणालाई प्रशिद्ध प्रवल जनसेवा श्री प्रदान गरिएको छ भने सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानसहित १४ जना प्रसिद्ध प्रवल जनसेवा श्रीबाट विभूषित भएका छन् ।

यस्तै बैंक तथा उद्योगीहरुलाई पनि विभूषित गरिनेछ । जसमा चन्द्रप्रसाद ढकाल, पशुपति मुरारका लगायतका व्यक्तिहरु रहेका छन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि सम्मानित हुने भएका छन् ।

२) चालु आर्थिक वर्षमा राष्ट्र बैंकले आफैँ खरिद गर्यो ४१ अर्ब ८६ करोडको ट्रेजरी बिल

चालु आर्थिक वर्ष लागेपछि नेपाल राष्ट्र बैंक आफैंले ४१ अर्ब ८६ करोड बराबरको ट्रेजरी बिल खरिद गरेको छ । राष्ट्र बैंकले असोज २  गते आइतबार २८ दिन, ९१ दिन र १८२ दिन अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेको थियो । जसमध्ये २८ दिन अवधिको २ अर्बको ट्रेजरी बिल बोलकबोल गरेको थियो ।

२ अर्ब नै बैंकहरुलाई नवीकरण गरिएको छ । जसको डिस्काउन्ट रेट न्यूनतम ८.७८०६ प्रतिशत र अधिकतम ९.१९९७ प्रतिशत तथा औसत ८.९३३५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आइतबार नै राष्ट्र बैंकले ९१ दिनको ५ अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेको थियो । जसमध्ये २ अर्ब ४२ करोड राष्ट्र बैंकले नै खरिद गरेर ३ अर्ब ११ करोड बैंकहरुलाई नवीकरण गरिएको छ । जसको डिस्काउन्ट रेट न्युनतम ८.९९० र अधिकतम ११.२२१८ प्रतिशत तथा औसत ९.८७४७ प्रतिशत कायम भएको छ ।

आइतबार नै बोलकबोल भएको १८२ दिन अवधिको ४ अर्ब ३० करोडको ट्रेजरी बिल नवीकारणका लागि बोलकबोल भएकोमा २ अर्ब ३९ करोडको ट्रेजरी बिल राष्ट्र बैंकले नै खरिद गरेर १ अर्ब ९१ करोड मात्रै बैंकहरुलाई नवीकरण गरेको छ । जसको डिस्काउन्ट रेट न्यूनतम ९.१ प्रतिशत र अधिकतम ९.९९०१ प्रतिशत कायम भएको छ भने औसत ९.६६७६ प्रतिशत कायम भएको छ ।

पछिल्लो पटक राष्ट्र बैंकले ट्रेजरी बिल्स लगातार आफैँले खरिद गरेर ब्याजदर एकल विन्दुमा झार्न सफल भएको थियो। ब्याजदर एकल विन्दुमा आइसकेपछि केन्द्रीय बैंकले केही समययता ट्रेजरीमा हस्तक्षेप नगरी बैंक तथा वित्तीय संस्थालाई नवीकरण गर्न दिएको थियो।

तर आइतबारको बोलकबोलमा ब्याजदर पुनः डबल डिजिटमा पुग्ने अवस्था भएकोले पुुनः राष्ट्र बैंकले हस्तक्षेप गरेको छ। राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्नका लागि पछिल्लो समय ट्रेजरी बिल आफैं किन्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थाले बढी ब्याज माग गर्दा सरकारलाई बढी भार पर्ने हुनाले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको केन्द्रीय बैंकको भनाइ छ।

३) नेपाल पुनर्बीमा कम्पनीद्वारा रि रेट्रो प्रोग्रामको लागि १९ ब्रोकर कम्पनी छनौट

नेपाल पुनर्बीमा कम्पनीले नेपाल रि रेट्रो प्रोग्रामका लागि १९ ब्रोकर कम्पनी छनौट गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि ब्रोकर कम्पनीहरू छनौट गरेको हो । कम्पनीले सार्वजनिक खरिद ऐन अनुसार असोज २ गते ब्रोकर कम्पनीको सूची सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरिएका ब्रोकरहरुमा अधिकांश भारतीय कम्पनीहरु रहेका छन् ।

कम्पनीले आफ्नो जोखिम भारलाई अन्य पुनर्बीमकमा हस्तान्तरण गर्नका लागी नेपाल रिरेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा ब्रोकर कम्पनीहरुको नाम सार्वजनिक गरेको हो ।

४) एक महिनामा ३ हजार भन्दाबढि व्यक्ति तथा कम्पनीहरु कालोसूचीमा

चालु आर्थिक वर्षको भदौ महिनामा ३ हजार भन्दाबढि व्यक्ति तथा कम्पनीहरु कालोसूचीमा परेका छन् । कर्जा सुचना केन्द्रको तथ्याङक अनुसार यस अवधिमा ३ हजार २७४ व्यक्ति तथा कम्पनीहरु कालोसुचीमा परेका हुन् । कालोसुचीमा पर्ने कम्पनीहरुमा होटल तथा रेष्टुरेन्ट र सहकारीदेखि हस्पिटलसम्म रहेका छन्। 

५) विद्युतीय कारोबार गर्नेको संख्या बढ्दो 

विद्युतीय कारोबार गर्नेको संख्या बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, डेबिट, क्रेडिट र प्रिपेड कार्ड र इन्टरनेट बैंकिङका प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको जनाएको छ । 
जसमा मोबाइल बैंकिङ प्रयोग गर्नेको संख्या १ करोड ८६ लाख ४३ हजार ८३४ पुगेको छ । सो संख्या वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट मोबाइल बैंकिङ सेवा लिनेहरुको हो। 

एक महिनाको अवधिमा मोबाइल बैंकिङ सेवा दिनेको संख्या ३ लाख ३६ हजार ५७९ ले बढेको छ । असार महिनामा यस्तो सेवा लिनेको संख्या १ करोड ८३ लाख ७ हजार २५५ रहेको थियो । १ करोड ८६ लाख ४३ हजार ८३४ ले मोबाइल बैंकिङ सेवा लिँदा वाणिज्य बैंकबाट मात्रै १ करोड ६३ लाख ४६ हजार ३९६ जना सेवाग्राहीले मोबाइल बैंकिङ सेवा लिएका छन् ।

यस्तै विकास बैंकबाट २१ लाख ९१ हजार १५ जना र वित्त कम्पनीहरुबाट १ लाख ६ हजार ४२३ जनाले मोबाइल बैंकिङ सेवा लिएका छन् । राष्ट्र बैंकका अनुसार इन्टरनेट बैंकिङ प्रयोगकर्ताका संख्या १७ लाख ६ हजार ८६९ पुगेको छ । जसमा वाणिज्य बैंकबाट १२ लाख ९३ हजार ६६३, विकास बैंकबाट ४ लाख २ हजार ७०८ र वित्त कम्पनीका सेवाग्राहीले १० हजार ४९८ जनाले यस्तो सेवा लिएका छन्।

यस्तै साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले १ करोड १० लाख ८ हजार ९५० वटा डेबिट कार्ड जारी गरेका छन् । जसमा वाणिज्य बैंकका ग्राहकले १ करोड ४ लाख ८० हजार ८७१ वटा, विकास बैंकका ग्राहकले ५ लाख ५५ हजार २७९ र वित्त कम्पनीका ग्राहकले ४४ हजार ८०० वटा कार्ड लिएका छन् ।

वाणिज्य बैंकले २ लाख ५० हजार ६१८ वटा क्रेडिट कार्ड जारी गरेका छन् । जसमा वाणिज्य बैंकका ग्राहकले २ लाख ५० हजार ६१२ र विकास बैंकका ग्राहकले ६ वटा कार्ड लिएको राष्ट्र बैंकले जनाएको छ। 

त्यसैगरी साउन मसान्तसम्म १ लाख ८ हजार १९७ वटा प्रिपेड कार्ड जारी भएकामा वाणिज्य बैंकले १ लाख ७ हजार ११९ वटा रहेका छन् । विकास बैंकले १ हजार ७८ वटा कार्ड जारी गरेको राष्ट्र बैंकले जनाएको छ । 

६) डिम्याट खाता खोल्नेको संख्या ५४ लाख नाघ्यो 

नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ । हिजो आज सेयर बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको छ ।  आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो ।
    
सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ।

७) प्रत्येक वर्ष २ करोडभन्दा बढिको लप्सी बाहिरिने 

जिल्लाका विभिन्न भागमा सञ्चालन गरिएका लप्सीजन्य उद्योगले विभिन्न किसिमको परिकार उत्पादन गरिरहेका छन् । जिल्लाको ठूलो सिरुबारी, ईर्खु, मार्मिङ, ठोकर्पा, कालिका, मेलम्ची, ज्यामिरे, शिखरपुर, कुञ्चोक र नवलपुरमा लप्सीजन्य वस्तु उत्पादनका घरेलु व्यवसाय सञ्चालन भइरहेको छ । 

यी उद्योगले क्यान्डी, अचार, तितौरा, झोलपाउँ, पातपाउँ, लप्सी पाउडर, मःम सुप, छोएला पाउँजस्ता  वस्तु उत्पादन गर्दै आइरहेको सिन्धु विकास केन्द्र (सिडेक) का अध्यक्ष राजकुमार भण्डारी बताउँछन् । 

जिल्लाको २७० हेक्टर जमिनमा दुई हजार एक सय मेट्रिकटन लप्सीे साविकका ४७ गाविसबाट उत्पादन हुने गरेको छ । उत्पादित लप्सीमध्ये छ लाख केजी जिल्लामा सञ्चालित उद्योगले नै प्रशोधन गरी विभिन्न किसिमका परिकार बनाउने गरेको उक्त केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रका अनुसार जिल्लाबाट प्रत्येक वर्ष रु दुई  करोड ५२ लाखको लप्सी बाहिरिने गरेको छ । 

जिल्लामा खपत हुन नसकेको लप्सी काभ्रेको साँगा भञ्ज्याङका साथै राजधानीका विभिन्न ठाउँमा बिक्री वितरण गरिँदै आएको सिडेकले जनाएको छ ।

८) बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनमा आउने 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी भएको छ । गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई सेवा पुनः सञ्चालनको तयारी भएको हो । 

यही असोज ८ गते शनिबारदेखि नियमित रुपमा यहाँ उडान हुने समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए। साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । असोज ८ गतेदेखि शनिबार नियमित रुपमा उडान हुने भट्टको भनाइ छ ।

९) बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका १ ठेगाना भई हाल ललितपुर महानगरपालिका १५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा २० लाख ५० हजार रूपैयाँ विगो ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

१०) विश्वमा आर्थिक मन्दीको खतरा बढ्दो 

विश्व बैंकले विश्वमा आर्थिक मन्दीको खतरा बढेको जनाएको छ । हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार यो वर्षको सुरुआतदेखि नै विश्वका अर्थतन्त्रहरुको अनुमानित आर्थिक वृद्धिदरमा गिरावट आइरहेकोले सन् २०२३ मा विश्वव्यापी मन्दीको अवस्था आउने खतरा बढेको प्रतिवेदनमा उल्लेख छ ।  

विश्वव्यापी रुपमा तीव्र रुपमा बढिरहेको मुद्रास्फीति र त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले लिएको कसिलो नीति तथा ब्याजदरमा बढोत्तरीले विश्व मन्दीको निकट पुगेको प्रतिवेदनमा जनाइएको छ । 

अमेरिका, चीन र युरोपेली मुलुकहरुको आर्थिक वृद्धिदरमा भइरहेको तीव्र गिरावटले मन्दीको प्रबल सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ । 
विश्वका अधिकांश मुलुकका केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रण नीतिगत ब्याजदर बढाएका छन् । प्रतिवेदन अनुसार चर्को ब्याजदरले जोखिम पनि बढाउने भएकाले केन्द्रीय बैंकहरु अझै चनाखो हुन जरुरी छ ।

मुद्रास्फीति नियन्त्रणमा राख्न केन्द्रीय बैंकहरुले गरेको प्रयास सार्थक नभएमा वित्तीय संकट बढ्ने र सन् २०२३ मा विश्वव्यापी आर्थिक मन्दी निम्तिने प्रतिवेदनमा उल्लेख छ । 
ठूला अर्थतन्त्रमा मन्दी देखिएकोमा त्यसको प्रत्यक्ष प्रभाव विकासोन्मुख मुलुकहरुमा पर्ने प्रतिवेदनमा ठहर गरिएको छ  । ‘९० प्रतिशत सम्पन्न मुलुक र ८० प्रतिशत विकासोन्मुख मुलुकको आर्थिक वृद्धि प्रक्षेपणमा तीव्र गिरावट आएको प्रतिवेदनमा उल्लेद छ ।

सन् २०२२ को जनवरीमा विश्वव्यापी आर्थिक वृद्धि यो वर्षका लागि ४.१ प्रतिशत र सन् २०२३ मा ३.३ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो । तर, गत अगस्टमा गरिएको पूर्वानुमानमा सन् २०२२ मा २.८ प्रतिशत मात्र र २०२३ मा २.३ प्रतिशतमात्र रहने आँकलन छ ।