८ मंसिर, २०८१ शनिबार

01:04:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गाउँपालिकाले विपन्न परिवारलाई घर दियो

११ माघ, २०७८

एक परिवारका लागि ३ लाख खर्च

गाउँपालिकाले विपन्न परिवारलाई घर दियो

भोजपुर

आमचोक गाउँपालिकाले ३० विपन्न परिवारलाई घर निर्माण गरिदिएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी एक परिवारका लागि ३ लाख खर्च गरेर घर बनाइदिएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो ।

 विपन्न परिवार परिवार खोजी तथा पहिचानको लागि समिति गठन गरेर काम गरिएको उहाँको भनाइ थियो । हामीले यहाँका पुस्तौंदेखी पालमुनी तथा गाईगोठमा बसिरहेका अति विपन्न ३० परिवारको घर बनाइदिएका हौँ, अध्यक्ष राईले भन्नुभयो, राज्यले पनि गाँस, बाँस र कपासलाई नागरिकको मौलिक हकमा राखेको छ । त्यसैअनुरुप हामीले नीति तथा कार्यक्रम नै बनाएर घर बनाइएपछि अहिले उनीहरुलाई प्रत्यक्ष लाभ पुगेको छ । गाउँपालिकाले यहाँका अतिविपन्न परिवारलाई स्थानीय सरकार भएको अनुभूति दिलाएको स्थानीय ७३ वर्षीय लाभग्राही वृद्ध कानबहादुर राईले बताउनुभयो ।

आफ्नो कोही पनि साहरा नभएकाले बृद्धभत्ताबाट आएको पैसाले ज्यान बचाएको छु, बृद्ध कानबहादुर राईले  भन्नुभयो, । विगतमा कोही नहुँदा र बासको पनि अभावमा कष्टकर जीवन बिताउनु परे पनि अहिले अभिभावक पाएको जस्तो भएको छ ।

जन्मेदेखि घरविहीन भएर बसेको अवस्थामा गाउँपालिकाले घर निर्माण गरी दिएपछि आफू हर्षित भएको उहाँको भनाइ थियो । म ७३ वर्ष पुगे । अहिलेसम्म मेरो जीवन  गाईको गोठमा बितेको थियो । यो जुनीमा मेरो घर होला भन्ने सोचेको पनि थिइन् तर गाउँपालिकाले घर बनाइदियो । आफ्नो कोही पनि साहरा नभएकाले बृद्धभत्ताबाट आएको पैसाले ज्यान बचाएको छु, बृद्ध राईले भन्नुभयो, । विगतमा कोही नहुँदा र बासको पनि अभावमा कष्टकर जीवन बिताउनु परे पनि अहिले अभिभावक पाएको जस्तो भएको छ । गरीबको बच्चो भइयो । घर नहुँदा यो उमेरसम्म आउदा धेरै कष्टपार गरियो । आफ्नै घरमा मर्न पाइएला भन्ने सोचेको पनि थिइन् तर अहिले आफ्नै घरमा बस्न पाउँदा खुसी छु । 

गाउँपालिकाले घर निर्माण गरी दिएपछि  दैनिक जीवनमा परिवर्तन आएको अर्का स्थानीयवासी जिदर शेर्पाले बताउनुभयो । अहिले परिवारसहित गाउँपालिकाले निर्माण गरिदिएको घरमा बस्दै आउनुभएका उहाँले भन्नुभयो, गरिबीका कारण जीवनमा एउटा घर बनाउन पनि सकेको थिइन् । अर्काको बनिबुतो गरेर दिन जान्छ । सरकार चाहिने भनेको हामीजस्ता नागरिकलाई त होनी । घर पाउँदा निकै खुसी लागेको छ ।

खुल्ला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै  आउनुभएका  कुमार सार्कीले पनि नयाँ घर पाउनुभएको छ । अहिले नयाँ घरमा बस्न थाल्नुभएका उहाँले  भन्नुभयो, घर नहुँदा दिन बिताउन समस्या थियो । हिउँद तथा वर्षात्को समयमा बालबच्चालाई बचाउन नै गाह्रो हुन्थ्यो । ढिलै भए पनि राज्यले हामीलाई देख्यो । हाम्रो पीडा बुझ्यो । असाध्धै खुसी छु । म जस्ता धेरै दलित परिवारले घर पाएका छौँ । गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई लक्षित फुसको छानो हटाउने अभियानसमेत सञ्चालन गर्नाका साथै एक घर एक धाराको अभियान पनि चलाइएको बताइयो ।