१८ माघ, २०८१ शुक्रबार
10:36:33 AM
२ असोज, २०७९
१) सेयर बजारमा ३३.९७ अंकको गिरावट
सेयर बजार घट्ने क्रम रोकिएको छैन । साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३३.९७ अकंले घटेर १८७६.४१ बिन्दुमा बन्द भएको छ ।
आज २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँको कारोबार भएको छ । नेप्से ओरालो लाग्दा लक्ष्मी बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ग्लोबल आइएमई समुन्नत स्किम १ को सेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ ।
आज बलेफी हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस दिन कम्पनीको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज लक्ष्मी बैंकको सबैभन्दा बढी सेयर खरिदबिक्री भएको छ । आज कम्पनीको २१ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।
२) निजगढमै अन्तराष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञको निष्कर्ष
अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विज्ञ समूहले सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन प्रतिवेदन प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेका हुन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार विज्ञ समूह गठन भएको थियो । विज्ञ समूहले अध्ययन प्रतिवेदन तयार गरेको हो ।
सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार विज्ञ समूह गठन भएको थियो ।
नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेको छ । काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र पूर्व पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदीबीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र विमानस्थल निर्माणको लागि उपयुक्त रहेको छ ।
रुख कटानी तथा वातावरणीय क्षती न्यूनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखी एयरपोर्ट सिटीको अवधारणालाई पुरै त्याग्नुपर्ने सुझाव विज्ञ समुहले दिएको छ । निर्धारित समयमै विज्ञ समूहले अध्ययन गरी प्रतिवेदन बुझाएको छ ।
३) नेपाल सरकार र विश्व बैकबीच ५३ अर्ब ऋण सम्झौता
नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि तथा आवद्धता (एक्सेस) आयोजनाका लागि २७ करोड ५० लाख डलर ( ३४ अर्ब ९६ करोड नेपाली रूपैंया) र डिजिटल नेपाल गतिवृद्धि (डीएनए) आयोजनाका लागि १४ करोड डलर (१८ अर्ब नेपाली रूपैंया) को सहुलियतपूर्ण वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरको समुस्पथितिमा उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्ण हरी पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद(जर्भोसले हस्ताक्षर गर्नुभएको थियो ।
क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि आयोजना (एक्सेस) अन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकको ६९ किलोमिटर दुई लेनको खण्डलाई जलवायु अनुकुलित चार लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ ।
राम्रो सडक सुरक्षा सुनिश्चित गर्नमा ध्यान केन्द्रित गर्दै, यस आयोजनाले भारतको पश्चिमी बन्दरगाहहरूसम्म राम्रो पहुँच प्रदान गर्दै यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ। विशेष गरी महिला उद्यमी र व्यापारीहरूलाई आर्थिक अवसरहरू बृद्धि गर्नमा ध्यान दिँदै यस आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितको कम्तीमा तीनवटा बजार क्षेत्रहरू निर्माण गर्नेछ।
डिजिटल नेपाल गतिवृद्धि (डीएनए) आयोजना ले वि. सं. २०७६ मा नेपाल सरकारले घोषणा गरेको देशको डिजिटल अर्थतन्त्र रणनीति अन्तर्गत रहेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गर्न सघाउनेछ।
हाल उच्च गुणस्तर र किफायती इन्टरनेटको सेवाबाट बञ्चित ग्रामीण क्षेत्रमा यस आयोजनाले ब्रोडब्यान्ड ईन्टर्नेट सेवाहरूको पहुँच बढाउन निजी क्षेत्रको पूँजी परिचालन गर्नेछ, जसले त्यहाँका बासिन्दा तथा व्यवसायहरूलाई फाइदा पु¥याउनेछ।
यसले नेपालको सार्वजनिक डाटा पूर्वाधार र साइबरसुरक्षा क्षमतामा सुधार मार्फत सरकारी सेवाहरूलाई सुरक्षित तवरले डिजिटल प्रविधि मार्फत वितरण गर्न सघाउनेछ जसको फलस्वरूप महिला, आदिवासी तथा सामाजिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिहरूसम्म डिजिटल सेवाको पहुँच बृद्धि हुनेछ।
४) घरजग्गा कारोबारमा सुधार, भदौमा उठ्यो ३ अर्ब ५६ करोड राजस्व
काठमाडौं। बजारमा भएको तरलताको अभावबीच पनि घर जग्गा कारोबारमा सुधार आएको छ । गत साउन महिनाको तुलनामा भदौ महिनामा घर जग्गा कारोबारमा केही मात्रामा सुधार आएको हो । गत साउन महिनामा घर जग्गाबाट २ अर्ब ७४ करोड राजस्व उठेको थियो।
तर भदौमा घर जग्गाबाट ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठेको सरकारी तथ्यांकले देखाउँछ । साउनको तुलनामा भदौमा करिब ८२ करोड रुपैयाँ राजस्व बढी उठेको हो। गत असारको तुलनामा भने झण्डै आधा मात्रै राजस्व उठेको छ। असारमा ६ अर्ब रुपैयाँ माथि राजस्व उठेको थियो।
मालपोत कार्यालय ललितपुर (लगनखेल) बाट २९ करोड ४६ लाख रुपैयाँ राजश्व संकलन भएको छ। ललितपुरकै गोटीखेल कार्यालयबाट ५ लाख ३६ हजार रुपैयाँ संकलन भएको छ। मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंबाट २८ करोड ७६ लाख रुपैयाँ संकलन भएको छ।
मालपोत कार्यालय भक्तपुरबाट १९ करोड १४ लाख रुपैयाँ राजस्व संकलन भएको छ। उपत्यका बाहिर मालपोत कार्यालय चितवनबाट ९ करोड ७८ लाख रुपैयाँ, मालपोत कार्यालय कास्कीबाट ८ करोड ७१ लाख, मालपोत कार्यालयले सुनसरीबाट ७ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौंको चाबहिलको कार्यालयबाट २० करोड १३ लाख रुपैयाँ, कलंकी २१ करोड ८३ लाख रुपैयाँ, साँखुबाट ११ करोड ६० लाख रुपैयाँ, मनमैजुबाट ५ करोड ५१ लाख रुपैयाँ, टोखाबाट ६ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
५) तयारी पोशाकको निर्यात बढाउन चेम्बरले सहयोग गर्ने
नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । तयारी पोशाक एवं गार्मेन्टसबाट उत्पादित कपडाको अन्तर्राष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि चेम्बरले सहयोग गर्न लागेको हो ।
नेपाल चेम्बर अन्र्तगतका अन्तर्राष्ट्रिय शाखा मार्फत नेपाली तयारी पोशाकको बजार प्रर्वद्धन गर्न उद्योगी व्यवसायीसँग सहकार्य गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । नेपाल तयारी पोशाक उद्योग संघका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा अध्यक्ष मल्लले बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि निर्यात प्रर्वद्धन एक मात्रै विकल्प भएको बताउनुभयो ।
‘विदेशमा रहेका नेपाली दूतावास र चेम्बरका अन्तर्राष्ट्रिय शाखा मार्फत तयारी पोशाक निर्यात बढाउन चेम्बरले सहयोग गर्छ’ उहाँले भन्नुभयो, ‘चेम्बरले गर्ने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाली उद्योगी व्यवसायीका उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता ब्यक्त गर्दछु,।’
९० को दशकमै नेपालबाट बार्षिक ११ अर्ब रुपैयाँ बराबरको तयारी पोशाक निर्यात हुने गरेको भन्दै अध्यक्ष मल्लले अहिले मुस्किलले ७ अर्वको निर्यात हुनु दुर्भाग्य भएको बताउनुभयो । नेपालका तयारी पोशाकको निर्यात प्रर्वद्धनका लागि व्यापार तथा निकासी केन्द्र र सरोकारवाला अन्य सरकारी निकायसंग पनि चेम्बरले समन्वय गर्ने अध्यक्ष मल्लको भनाई छ ।
तयारी पोशाक उत्पादन गर्न साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्ने अध्यक्ष मल्लले बताउनुभयो। गार्मेन्ट्सका बस्तु एवं तयारी पोशाकको निर्यातमा कुनै समय नेपाल विश्वको उत्कृष्ट १० भित्र परेको स्मरण गराउँदै आध्यक्ष मल्लले निर्यात प्रर्वद्धन गर्नका लागि चेम्बरले आवश्यक सवै व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
नेपाल तयारी उद्योग पोशाक संघका नवनिर्वाचित अध्यक्ष पशुपतिदेव पाण्डेले सगरमाथाको देश भनेर गर्व भएपनि सगरमाथामा चढ्दा लगाउने कपडा मुलुकभित्रै उत्पादन हुन नसक्नु दुर्भाग्य भएको बताउनुभयो ।
यो आर्थिक वर्षमा निर्यात १० अर्व पुर्याउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष पाण्डेको भनाइ छ । स्वदेशी बस्तुको गुणस्तरबारे आफ्नै देशका नागरिकलाई सचेत गराउन नसकिएको पाण्डेको गुनासो थियो । नेपालमै उत्पादित बस्तुहरु पनि पछिल्लो समय गुणस्तरीय बन्दै गएको भन्दै पाण्डेले उपभोक्तामा सचेतना जगाउन भने नसकिएको बताउनुभयो ।
६) प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत जान रोक
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत जान रोक लगाइएको छ । महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपछि जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गर्नुभएको थियो ।
तर निलम्बन फुकुवा नभएको भन्दै नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरुले जबरालाई सर्वोच्च छिर्न नदिने अडान लिएका थिए । त्यस्तै जबरालाई आफ्नै निवासबाट पनि बाहिर निस्कन रोक लगाइएको छ ।
जबरालाई सर्वोच्च रोक लगाउनका लागि उपस्थीत नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले महाअभियोग लगाउनु पर्ने भनेर संसदलाई प्रतिवेदन पेस गरिसकेको अवस्थामा अदालत फर्कन नमिल्ने बताउनुभयो । संसद अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले अर्को संसदले यस बिषयलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
त्यस्तै वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले निलम्बित जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने जिकिर गर्नुभयो । महाभियोगको निक्र्यौल भइनसकेको अवस्थामा जबरा अदालत आउन नपाउने उहाँको भनाई छ ।
प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गर्दै जबरा सर्वोच्च फर्किन खोजेको बताइएको छ ।
७) २२ लाख ५० हजारसहित उपसचिव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले पाराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ ।
अख्तियारले उनलाई साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गको होटल अरण्यको कम्पाउण्डबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।
नेपालले ६ लाख रुपैयाँ घुस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको अख्तियारले जनाएको छ । त्यस्तै अख्तियारले बीबी एयरवेजका सीईओ श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले काम गरिदिएवापत रकम सापटी दिनु भ्रष्टाचार मानिने भन्दै अख्तियारले श्रेष्ठ उपर सोही ऐनको दफा ५ को उपदफा (१) ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धत्माक वाक्यांशबमोजिम सजाय माग गरेको छ । अख्तियारले उपसचिव नेपाल र बीबी एयरवेजका सीईओ श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
८) लिटरमै ५० रुपैयाँसम्म घट्यो खाने तेलको मूल्य
सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाएसँगै खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । एक महिनाको बिचमा खाने तेलको मूल्य ५० रूपैयाँसम्म घटेको छ ।
नेपाल खुद्रा व्यापार संघका अुनसार एक महिनाकोबीचमा खाने तेलको मूल्य लिटरमै ५० रुपैयाँले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको खुद्रा व्यापार संघले जनाएको छ ।
एक महिनाअघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा आइपुगेको छ । यस्तै, २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । त्यसैगरी, २९३ रुपैयाँ रहेको भटमासको तेलको मूल्य न्यूनतम २१८ रुपैयाँसम्म पुगेको छ ।
९) सन्दीप लामिछालाई इन्टरपोलमार्फत पक्राउ गर्ने तयारीमा प्रहरी
बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याउने तयारी गरेको छ । लामिछाने नेपाल नफर्किएपछि इन्टरपोलमार्फत पक्राउ गरी ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ ।
केही दिन अघि एक १७ वर्षीया किशोरीले सन्दीपले आफूलाई भदौ ५ गते पिंगलास्थानको होटलमा लगेर पटक–पटक जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।
त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले आफूमाथि लागेको आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको र बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेकोले अनुसन्धानका लागि नेपाल आउन लागेको बताए पनि अहिलेसम्म उनि नेपाल आएका छैनन् ।
१०) आकाशमा दुई विमान ठोक्किदा तीन जनाको मृत्यु
संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ ।
बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ । एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।