१८ माघ, २०८१ शुक्रबार
10:50:38 AM
२ असोज, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले पाराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ ।
अख्तियारले उनलाई साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गको होटल अरण्यको कम्पाउण्डबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।
नेपालले ६ लाख रुपैयाँ घुस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको अख्तियारले जनाएको छ ।
त्यस्तै अख्तियारले बीबी एयरवेजका सीईओ श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले काम गरिदिएवापत रकम सापटी दिनु भ्रष्टाचार मानिने भन्दै अख्तियारले श्रेष्ठ उपर सोही ऐनको दफा ५ को उपदफा (१) ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धत्माक वाक्यांशबमोजिम सजाय माग गरेको छ । अख्तियारले उपसचिव नेपाल र बीबी एयरवेजका सीईओ श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।