१८ माघ, २०८१ शुक्रबार
09:40:42 AM
३१ भदौ, २०७९
१) शुक्रबारको अन्तिम कारोबारको दिन सेयर बजारमा १४.१० अंकको गिरावट
साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा बन्द भएको छ । आज कूल २२० वटा कम्पनीको २९ लाख १६ हजार २ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ८१ लाख ८६ हजार ४ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ । आज कारोबारको हिसावले रिडी हाइड्रोपावरको सर्वाधिक खरिदबिक्री भएको छ ।
आज कम्पनीको ४ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज नबिल ब्यालेन्स फण्ड २ को मूल्य सबैभन्दा धेरै बढेको छ । यस दिन मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।
२) एक महिनामा २ प्रतिशतले घट्यो निक्षेप
चालु आर्थिक वर्ष २०७९ र ८० को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस एक महनिामा निक्षेप २ प्रतिशतले घटेको हो ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.६ प्रतिशतले बढेको छ ।
२०७९ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७. ८ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३४.३ प्रतिशत र ४९.५ प्रतिशत रहेको थियो ।
२०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.४ प्रतिशत रहेको छ । २०७८ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४१.४ प्रतिशत रहेको थियो ।
३) पर्साका तत्कालिन शिक्षक उर्मिला विरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरपयोग अनुसन्धान आयोगले पर्साका तत्कालिन शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको छ ।
ने.रा. कन्या प्रा.वि, भेडिहरवा, पर्साका तत्कालिन शिक्षक उर्मिलादेवी उपर शैक्षिक योग्यताको झुटा प्रमाणपत्र प्रयोग गरी सरकारी लाभ लिएको आरोपमा विशेष अदालत काठमाण्डौंमा भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेको हो ।
उनले नक्कली प्रमाण पत्रका आधारमा शिक्षक पदमा करार नियुक्ति भई सरकारी लाभ लिएको पाइएको विज्ञप्तीमा उल्लेख छ । उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुनेछ ।
४) सरकारद्वारा विद्युतीय विधेयक फिर्ता
सरकारले विद्युतीय विधेयक फिर्ता पठाएको छ । शुक्रबार संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो।
राष्ट्रियसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत गरेको उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको घोषणा गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान १०ः५९ मा बस्नेछ ।
५) भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको हो । (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो ।
यस्तै डिजेलको मूल्य भने प्रतिलिटर ४४ पैसा मात्रै घटेको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहने छ भने डिजलमा घाटा यथावत् रहनेछ । हाल निगमलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ हाराहारीमा नोक्सानी छ । उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजलको १७८ रुपैयाँ तोकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आउँदा नेपाल आयल निगमलाई पनि मूल्य घट्ने गर्छ । निगमले सोअनुसार उपभोक्ताका लागि स्वचालित प्रणालीबाट मूल्य तय गर्नुपर्ने व्यवस्था छ।
तर हाल निगमले पहिलेको सञ्चित घाटा देखाउँदै मूल्य घटेर आउँदा पनि नघटाउने तर बढेर आउँदा बढाउने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार (साढे १ बजे) डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ तथा ब्रेन्टको ९१ डलर हाराहारीमा कारोबार भएको छ।
भारतबाट तेलको मूल्य घटेर आए पनि के नेपाल आयल निगमले मूल्य समायोजन गर्ला ?
६) दुई सहकारीलाई ठगीको आरोप
दुईवटा सहकारी विरुद्ध ठगीको आरोप लागेको छ । डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था र आरक्ष बचत तथा ऋण सहकारीलाई बचतकर्ताहरुले ठगीको आरोप लगाएका हुन् ।
सहकारीको अनुगमन तथा नियमन गर्ने निकाय सहकारी विभागमा बचतकर्ताहरुले सो दुई सहकारीले आफ्नो पैसा ठगेको भन्दै उजुरी हालेका हुन् । आफूले बचत गरेको करोडौं रुपैयाँ सहकारीले ठगेको भन्दै रकम फिर्ता दिलाईदिन विभागसँग बचतकर्ताहरुले गुहार गरेका छन् ।
विभाग अनुसार यी दुई सहकारीले २ करोड ४९ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ । जसमा डेभलपमेन्ट सहकारीले १ करोड ४५ लाख रुपैयाँ ठगी गरेको बचतकर्ताको आरोप छ । त्यस्तै, आरक्ष सहकारीले १ करोड ४ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ ।
डेभलपमेन्ट सहकारीको उक्त रकम एक जना बचतकर्ताको मात्रै रहेको छ । उता आरक्ष सहकारीको भने उक्त रकम ५६३ जना बचतकर्ताको रहेको विभागले जनाएको छ ।
७) आगामी दिनमा शुक्रबार सेयर कारोबा नहुने
अब शुक्रबार सेयर कारोबार नहुने भएको छ। आज (भदौ ३१ गते शुक्रबार) को अन्तिम सेयर कारोबार भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संचालक समितिको बैठकले असोज महिनादेखि लागु हुने गरि शुक्रबार भईरहेको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
हाल आइतबारदेखि शुक्रबारसम्म सेयर कारोबार भइरहेको छ । शुक्रबारका दिन भने २ घन्टामत्रै सेयर कारोबार हुने गरेको छ । लगानीकर्ताले शुक्रबार २ घण्टा कारोबार संचालन गर्नुको कुनै अर्थ नरहेको भन्दै शुक्रबारको कारोबार बन्द गर्न माग गर्दै आएका थिए । सोहि अनुसार नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
८) ११ अर्ब ८३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो ।
केन्द्रीय बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी बिल कात्तिक १ गते परिपक्व हुने छ । त्यस्तै ९१ दिनका लागि राष्ट्र बैंकले ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी बिल पुस ५ गते परिपक्व हुने छ ।
राष्ट्र बैंकले १८२ दिनको लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल चैत ७ गते परिपक्व हुनेछ ।
यी ट्रेजरी बिल असोज २ गते आइतबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
९) मिटरब्याज पीडितहरुको धर्ना जारी
मिटरब्याज पिडितहरुले शुक्रबार ४५ औं दिन पनि काठमाण्डौंको माइतिघरमा धर्ना दिएका छन् । आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन् ।
आफुहरुलाई समस्यामा पार्नेहरुलाई कारवाही नगरेसम्म धर्ना नछाड्ने उनीहरुको भनाई छ । आन्दोलनरत मिटरब्याज पीडितहरुको अनसन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने क्रम पनि जारी छ ।
यसैक्रममा शुक्रबार आगामी मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ई.किरण केसीलगायत नागरिक समाजका अगुवाहरुले ऐक्यबद्धता जनाएका हुन् ।
अष्ट्रेलियाबाट केही दिन अघि मात्र नेपाल आएर एयरपोर्टबाटै उम्मेदवारी घोषणा गरेका ई.केसीले मिटरब्याजी पीडितहरुको पक्षमा साथ दिने प्रतिवद्धता जनाउनुभएको छ ।
१०) विश्वका दोस्रो धनी व्यक्ति बने अडानी
भारतीय व्यवसायी गौतम अडानी संसारकै दोस्रो धनी व्यक्ति बन्नुभएको छ । फोर्ब्सका अनुसार अडानीले अमेजोनका मालिक जेफ बेजोस र लुइस भिटनका मालिक बर्नाड अर्नल्टलाई पछि पार्दै दोस्रो व्यक्ति बन्नभएको छ । हाल उहाँको सम्पत्ति १५४.७ बिलियन अमेरिकी डलर रहेको छ ।
गत महिना अडानीले विश्वभरको धनीहरुको सूचीमा तेस्रो स्थान हुनुहुन्थ्यो । अडानीको सम्पत्ति पछिल्लो समय २.८५ प्रतिशले बढेको छ । विश्वका सबैभन्दा धनी व्यक्तिमा भने मस्क नै हुनुहुन्छ । उहाँको कुल सम्पत्ति २७३.५ बिलियन अमेरिकी डलर रहेको छ ।
अडानी ग्रुपको पहिलो पुस्ताका व्यवसायी रहेका गौतम अडानीले पूर्वाधार, उत्खन्न, उर्जालगायतका विभिन्न क्षेत्रमा लगानी गरेका छन् । पछिल्लो पाँच वर्षमा अडानी ग्रुपले एयरपोर्ट, सिमेन्ट, डाटा सेन्टर, ग्रिन हाइड्रोजन, पेट्रो केमिकल रिफाइनिङ, सडक तथा सोलर ब्याट्री उत्पादन लगायतका क्षेत्रमा अर्बौं लगानी गरेको छ ।
हाल अडानीले टेलिकम क्षेत्रमा प्रवेश गर्ने पनि योजना बनाइरहेको जनाइएको छ । अडानी ग्रुपले हाल ७० बिलियन बराबरको रकम हरित उर्जा पूर्वाधारको क्षेत्रमा लगनी गर्ने घोषणा पनि गरेको छ ।