२२ माघ, २०८१ मंगलबार
09:48:10 AM
७ माघ, २०७८
काठमाण्डौं
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सरावल गाउँपालिका, ७ स्थित भन्सार नजिकै शाही टे«डर्स कवाड सङ्कलनस्थलबाट गए राति प्रहरीले ठूलो मात्रामा झ्याउ नामगरेको जडीबुटी बरामद गरेको छ ।
भारतीय सीमा नजिकै लुकाइछिपाई राखेको अवस्थामा प्रतिबन्धित जडीबुटी प्रहरीले बरामद गरेको हो ।
गोप्य सूचनाका आधारमा प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट १ सय ५१ बोरामा रहेको ४ हजार ४ सय ५० किलो जडीबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
बरामद भएको जडीबुटी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइएको र कारोबारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दामा विगत छ वर्षदेखि फरार रहेका दुई अभियुक्तलाई जिल्लाको बर्दघाट नगरपालिका–४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शाहीका अनुसार जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा विसं २०७२ माघ २४ गते फैसला भई तत्काल जनही ५ हजार जरिवाना तोकिई सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो । रासस