१८ माघ, २०८१ शुक्रबार

12:48:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा ५७ अंकको गिरावटदेखि विश्व बजारमा उकालो लाग्यो कच्चा तेलको मूल्यसम्म

Nepal Business

३० भदौ, २०७९

प्रमुख समाचारः सेयर बजारमा ५७ अंकको गिरावटदेखि विश्व बजारमा उकालो लाग्यो कच्चा तेलको मूल्यसम्म

१) सेयर बजारमा ५७ अंकको गिरावट 

दुई दिन बढेको सेयर बजार भारी अंकले ओरालो लागेको छ । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)का अनुसार सेयर बजार ५७ अंकले घटेर १९२४.४८ विन्दुमा बन्द भएको छ । 

सेयर बजारमा भारी गिरावट आउदा भने कारोबार बढेको छ । आज २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँको कारोबार भएको छ भने ६९ लाख ४० हजार ५९६ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसूचकहरु राताम्मे छन् । कम्पनीहरुमा सिटिजन्स म्युचल फण्ड ४.१२ प्रतिशत, मिरमिरे फाइनान्स विकास बैंक ३.८० प्रतिशत र ८.५ प्रतिशत डिभेञ्च्र १.९२ प्रतिशतले बढेका छन्।

२) असोजमा बैंकको ब्याजदर बढ्ने

असोजमा बैंककको ब्याजदर बढ्ने भएको छ । बिहीबार नेपाल बैंकर्स संघको पूर्ण बैठक अनुसार यसअघि ब्याजदरमा गर्दै आएको भद्र सहमतिलाई निरन्तरता नदिएको हो । यो निर्णयसँगै अब बैंकहरु ब्याजदर बढाउन स्वतन्त्र भएका छन् । तर, राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्मले मात्रै ब्याजदर बढान सकिने छ ।

ब्याजदर नबढाउन भद्र सहमति गर्दा पनि केही बैंकले सहमति तोडेपछि संघले असोज महिनाका लागि सहमति नगर्ने निर्णय गरेको हो । यस अनुसार अब व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुगेको छ  भने संस्थागत मुद्दति निक्षेपको ११.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर दिन पाउने छन् ।

३) टेलिकमका प्रवन्ध निर्देशक पौडेलविरुद्ध कर्मचारीहरुले अख्तियारमा दिए उजुरी

नेपाल टेलिकमका नयाँ प्रवन्ध निर्देशक सुनिल पौडेलले आईपीटी र आईपीएलसी ब्याण्डविथ भाडामा खरिद गर्ने क्रममा चलखेल गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । प्रवन्ध निर्देशक पौडेल आएदेखि नै अनुचित चलखेलहरु भैरहेको भन्दै टेलिकमका कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।

४) दर्ता नभएका मोबाइल आजैबाट नचल्ने 

अब दर्ता नभएका मोबाइल नचल्ने भएका छन् । बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएको छ । जसका कारण दर्ता नभएका मोबाइल नचल्ने  प्राधिकरणले सूचना मार्फत जानकारी दिएको हो । 

प्राधिकरणका अनुसार नेपालमा मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित थप व्यवस्थित गर्न प्राधिकरणले एमडीएमएस कार्यान्वयनमा ल्याएको हो । यो प्रविधिक सञ्चालनमा आएसँगै चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आज बिहीबार भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तरबरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ ।

भदौ ३० गतेपछि मोबाइल खरिद गर्दा दर्ता भए वा नभएको यकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । बिना दर्ताका मोबाइल सेट नचल्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

यसैगरी मोबाइल आयातकर्ता तथा बिक्रेताहरुले पनि मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्रीवितरण गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषणमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने घोषणा गर्नुभएको थियो । तर त्यसको १ वर्षपछि यो कार्यन्वयनमा आएको हो ।

५) चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २०.३ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिना साउनमा रेमिट्यान्स बढेको छ । गत आर्थिक वर्ष २०७८ र ७९ को साउन महिनाको तुलनामा  चालु आवको पहिलो महिनामा विदेशबाट नेपाल भित्रने रेमिट्यान्स २०.३ प्रतिशतले बढेको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा कुल ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत आवको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो । चालु आवको साउन महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।

६) राष्ट्रियसभाबाट बीमा विधेयक पारित

राष्ट्रियसभाबाट बीमा विधेयक २०७५ पारित भएको छ । बिहीबार बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । 

त्यस्तै बैठकले ऊर्जामन्त्री भुसालले नै प्रस्तुत गर्नुभएको सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई पारित गरेको छ । त्यसअघि बिहीबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।

७) पेशागत लाइसेन्स नवीकरण गर्दा प्यान नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने

वकिल, चार्टर्ड एकाउन्टेन्टलगायत पेशागत लाइसेन्स नवीकरण गर्दा अब स्थायी लेखा नम्बर (प्यान) र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने छ । बिहीबार आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै स्थायी लेखा नम्बर तथा कर चुक्ताको प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरेको जानकारी दिएको हो । 

सूचनामा लेदिएको छ, ‘पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था रहेकोमा आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यको बुँदा नम्बर ३९१ ले गरेकाले व्यवस्था अनिवार्य रुपमा लागू गराउन सम्बन्धित निकाय तथा पेशागत व्यवसायले प्रमाणपत्र पेस गर्नुपर्नेछ ।’

८) वाणिज्य बैंकहरुबाट असोज २ देखि नयाँ नोट साट्न पाइने

वाणिज्य बैंकहरुबाट असोज २ देखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैँ नजिकीएसँगै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको हो ।

राष्ट्र बैंकले एक सूूचना जारी गर्दै असोज २ गतेदेखि वाणिज्य बैंकहरुबाट नयाँ नोट साट्न पाइने जानकारी दिएको हो। बैंकहरुले असोज २ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट सटहीको व्यवस्था गर्नुपर्नेछ। यसका साथै बैंकहरुले सर्वसाधारणलाई नयाँ नोट तथा सुकिलो नोट सटहीका लागि काठमाडौँ उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला) भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकेर आफ्नो वेबसाइटमार्फत सूचना दिनुुपर्नेछ।

सूचनामा नयाँ तथा सुकिलो नोट सटही गर्न समयावधि र संख्यासमेत उल्लेख गर्नुुपर्नेछ। सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरको प्रतिव्यक्ति बढीमा एक–एक बन्डलका दरले जम्मा १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउन सकिने सूचनामा उल्लेख छ ।

९) तरलता व्यवस्थापन गर्न पुनः बजारमा २० अर्ब पठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पुनः २० अर्बको रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले आज (भदौ ३० गते बिहीबार) २० अर्बको रिपो जारी गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य पुँजी) संकुचन भएपछि राष्ट्र बैंकले एक साताको बीचमा दुईपटक रिपोमार्फत बजारमा तरलता पठाउन लागेको हो ।  बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन ७ दिने रिपो जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो असोज ६ गते परिपक्व हुने यो रिपो आव दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।

यसअघि २३ भदौमा १४ दिन अवधिको उक्त रिपोमार्फत केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ नै तरलता बजारमा पठाएको थियो । उक्त रिपोको अवधि अझै एक साता बाँकी रहेको छ । उक्त रिपोको अवधि नसकिदै राष्ट्र बैंकले थप २० अर्ब तरलता बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।

१०) विश्व बजारमा उकालो लाग्यो कच्चा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । लगातार घटिरहेको कच्चा तेलको भाउ बिहीबार सुरुवाती कारोबारमा उकालो लागेको हो । 

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रारम्भिक कारोबारमा ब्रेन्ट कच्चा तेल ३८ सेन्ट बढेर प्रतिब्यारेल ९४.४८ डलर पुगेको छ । अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ४६ सेन्टले बढेर ८८.९४ डलर प्रतिब्यारेल पुगेको छ ।

विश्वकै ठूलो अर्थतन्त्रमा तेलको आपूर्तिमा आउन सक्ने अवरोध र रेलवे सेवा बन्द हुने डरबीच कच्चा तेलको भाउ उकालो लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकामा रेल मजदुरहरुको युनियनले आफ्ना माग पूरा गर्न हड्ताल गर्न सक्ने बताइएको छ । जसका कारण अमेरिकामा कच्चा तेलको आपूर्तिमा बाधा पुग्ने सम्भावना छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि त्यसको प्रत्यक्ष असर विश्व बजार सहित नेपालमा पनि पर्नेछ । यससंगै अब पेट्रोलियम पदार्थको मूल्य विश्व बजारमा बढन सक्दछ । सँगै नेपालमा पनि बढछ ।