१८ माघ, २०८१ शुक्रबार

12:44:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा ४७.४४ अंकको उछालदेखि अमेरिकमा गरिबीदर ११.६ प्रतिशतले बढ्योसम्म

Nepal Business

२९ भदौ, २०७९

प्रमुख समाचारः सेयर बजारमा ४७.४४ अंकको उछालदेखि अमेरिकमा गरिबीदर ११.६ प्रतिशतले बढ्योसम्म

१) सेयर बजारमा ४७.४४ अंकको उछाल

सेयर बजारमा बुधबार उछाल आएको छ । सेयर बजार आज भारी अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ४७.४४ अंकले बढेर नेप्से परिसूचक १९८१.४८ विन्दुमा बन्द भएको छ । 

सेयर बजारमा आएको उछालसँगै कारोबार पनि बढेको छ । आज कारोबार करोडबाट अर्बमा पुगेको छ। आज एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँको कारोबार भएको छ भने ४६ लाख १८ हजार ५१६ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसूचकहरुमा हरियाली छाएको छ । कम्पनीहरुमा ग्रिन विकास बैंकमा सकरात्मक सर्किट ब्रेक लागेको छ । लिब्रेटी इनर्जी कम्पनी ८.३२ प्रतिशत, यूनाइटेड मोदी हाइड्रो पावर कम्पनी ७.८१ प्रतिशत र सामुदायिक लघुवित्त वित्तीय संस्था ७.८० प्रतिशत बढेका छन् । 

२) तत्काल आन्दोलनका कार्यक्रम नरोके कारबाही गर्ने निगमको चेतावनी

नेपाल आयाल निगमले नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघलाई पेट्रोलियम पदार्थ ढुवानीमा कुनै अवरोध नगर्न निर्देशन दिएको छ । निगमले आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीलाई तत्काल आन्दोलनका सबै कार्यक्रम नरोके कारबाही गर्ने चेतावनी दिएको छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न र नरोके कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । निरन्तर पेट्रोलियम पदार्थ ढुवानी बन्द गरे निगमले कानुन अनुसार व्यवसायीलाई कारबाही गर्ने बताएको हो । व्यवसायीको आन्दोलनका कारण देशभरका विमानस्थलमा हवाई इन्धन अभाव भएको निगमले जनाएको छ ।

व्यवसायीहरुले २० प्रतिशतसम्म ढुवानी भाडा वृद्धिको माग गर्दै इन्धन ढुवानी बन्द गरेका हुन् । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई पूर्णरुपले ठप्प पार्ने गरी सार्वजनिक गरिएको अवरोधका कार्यक्रमहरू प्रति निगमको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

३) विदेशी विनिमय कारोबार गर्न जारी एकीकृत परिपत्र २०७८ संशोधन

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन गरेको छ । बुधबार राष्ट्र बैंकले  विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गरेको हो । 

संशोधित भिसा वापत संकलित नेपाली रुपैयाँको सटही सुविधा सम्बन्धी व्यवस्थामा नेपालस्थित विदेशी राजदुतावास नियोगहरुले भिसा दस्तुर वापत संकलन गरेको नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आफ्नो राष्ट्रमा पठाउनु पर्दा सम्बन्धीत विदेशी राजदुतावास नियोगको आधिकारिक अनुरोध पत्रको आधारमा सम्बन्धीत बैंकले यस्तो सटही सुविधा उपलब्ध गराउन सक्नेछन् । 

यस्तो सटही विवरण महिना समाप्त भएको १५ दिन भित्र अनिवार्य रुपमा यस विभागलाई उपलब्ध गराउनु पर्नेछ । राष्ट्र बैंकका अनुसार इभिसा प्रणालीबाट भिसा आवेदन दिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा विभिन्न शर्तहरु पालना हुने गरि त्यस्ता तोकिएका संस्थाहरुमार्फत भिसा वापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतिय डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने छ ।

४) चालु आर्थिक वर्षको एक महिनामा ८ हजार ४२२ भन्दा बढिले गरे बीमा पोलेसी सरेन्डर

बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढिरहेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या ८ हजारभन्दा बढी नाघेको छ । यस एक महिनामा १९ जीवन बीमा कम्पनीमा बीमितहरुले ८ हजार ४२२ बीमालेख सरेन्डर गरेका हुन् ।  

बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीको १ अर्ब ५१ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कपोरेशन कम्पनीका बीमालेख रहेका छन् ।

यस एक महिनाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको ६४ करोड रुपैयाँ बराबरको ३ हजार ६२४ बीमालेख सरेन्डर भएका छन् भने लाइफ इन्स्योरेन्स कपोरेशनको ३३ करोड ४५ लाख रुपैयाँ बराबरको १ हजार ९५६ बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्याङकमा उल्लेख छ ।

५) उपत्यकाभित्र आजदेखि नयाँ नोट साट्न पाइने

बैंक तथा वित्तीय संस्थाहरुबाट आज (भदौ २९ गते बुधबार) देखि उपत्यकाभित्रका सर्वसाधारणले दसैँका लागि नयाँ नोट साट्न पाउने छन्। नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि सर्वसाधारणले दसैँका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट साट्न पाउनेछन्। उपत्यकाबाहिरका सर्वसाधारणले भने असोज २ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

हिजो मंगलबारसम्म २५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई २ अर्ब रुपैयाँ बढी नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साट्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट दिइने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने छन् ।

एक जनाले ५ देखि १ सय दरका एक एक बन्डल गरी १८ हजार ५ सय सम्म साट्न पाउँनेछन् ।  यस पटकको दशैमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्ष राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरिएको थियो ।

६) ७ बीमा कम्पनीले सार्वजनिक गरे बोनसदर

संचालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ७ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात यी कम्पनीहरूले बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका हुन् ।

७) दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब अमेरिकी डलर आवश्यक रहेको छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब अमेरिकी डलर आवश्यक रहेको भन्दै २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नती गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको पनि बताउनुभएको छ । 

बुधबार काठमाण्डौंमा लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकारले लगानीको वाताबरण तयार समेत गरिसकेकाले नेपालमा लगानी गरी फाइदा लिन उहाले आग्रह गर्नुभयो ।

यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सातै प्रदेशमा ७ नमुना परियोजनामा लगानी ल्याउने गरि लगानी बोर्डले काम गरिरहेको जानकारी दिनुभयो ।

८) महानगरविरुद्ध बिहीबार आन्दोलन गर्दै साना र फुटपाथ व्यवसायी

साना र फुटपाथ व्यवसायीले काठमाडौं महानगरपालिकाविरुद्ध आन्दोलन गर्ने भएका छन् । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै उनीहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् ।

महानगरले फुटपाथ र साना व्यवसायीहरुलाई व्यवस्थापन गर्नुपर्ने बेला विस्थापित गरेको कारण आफुहरुले आन्दोलन गर्न लागेको जिफन्ट निकटको नेपाल स्वरोजगार श्रमिक व्यापार संघले जनाएको छ ।

संघले बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुग्ने कार्यक्र तय भएको जानकारी दिएको छ ।

९) बीमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो

राष्ट्रियसभाले बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।बुधबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

बैठकमा पेश भएको उक्त दुईवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गर्नुभयो ।

१०) अमेरिकमा गरिबीदर ११.६ प्रतिशतले बढ्यो 

अमेरिकामा गरिबी दर बढि रहेको छ । अमेरिकमा सन् २०२१ गरिबीदर ११.६ प्रतिशतले बढेको छ । ‘युएस सेन्सस ब्यूरो’का अनुसार सन् २०२१ मा लगातार दोस्रो वर्ष गरिबी दर बढेर ११.६ प्रतिशतले बढेको हो । 

सन् २०२१ मा ३ करोड ७९ लाख अमेरिकीहरु गरिबीमा रहेको तथ्यांकमा उल्लेख छ । जुन सन् २०१९ को भन्दा ३९ लाख बढी हुन् । अघिल्लो वर्ष अर्थात सन् २०२० मा भने गरिबी दर ११.५ प्रतिशत थियो । 

यस्तै राष्ट्रपति जो बाइडेनको कार्यकालको पहिलो वर्ष अर्थात सन् २०२१ मा अमेरिकामा धनी र गरिबबीचको आर्थिक असमानता पनि बढेको छ । आर्थिक असमानता हालसम्मकै उच्च विन्दुमा पुगेको ब्लुमबर्गले जनाएको छ ।