१८ माघ, २०८१ शुक्रबार

12:33:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा हरियालीदेखि भारतको तेस्रो ठूलो सफ्टवेयर कम्पनी एचसीएलले निकाल्यो ३५० कर्मचारीसम्म

Nepal Business

२८ भदौ, २०७९

प्रमुख समाचारः सेयर बजारमा हरियालीदेखि भारतको तेस्रो ठूलो सफ्टवेयर कम्पनी एचसीएलले निकाल्यो ३५० कर्मचारीसम्म

१) सेयर बजारमा हरियाली

लगातार दुई दिन ओरालो लागेको सेयर बजार मंगलबार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्सेका अनुसार सेयर बजार २१.३० अंकले बढेर नेप्से परिसूचक १९३४.०४ विन्दुमा बन्द भएको छ । 

सेयर बजार बढ्दा कारोबार पनि बढेको छ । आज ९२ करोड २५ लाख ७४ हजार ४१० रुपैयाँको कारोबार भएको छ भने ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर किनबेच भएका छन् । यस्तै आज सबै उपसूचकमा हरियाली छाएको छ । कम्पनीहरुमा बोटलर्स नेपालमा सकरात्मक सर्किट ब्रेक लागेको छ । 

यस्तै मैलुङ खोला जलविद्युत कम्पनी ७.७६ प्रतिशत, सानिमा लार्ज क्याप फण्ड ६.६७ प्रतिशत र यूनिभर्सल पावर कम्पनी ४.६७ प्रतिशतले बढेका छन् । 

२) सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ सहुलियत ऋण लिने

सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रूपैया सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने २ सय ७५ मिलियन अमेरिकी डलर अर्थात करिब ३५ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढिकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको कार्कीले जानकारी दिनुभयो ।

३) चालु आर्थिक वर्षको एक महिनामा वाणिज्य बैंकहरुले कमाए १३ अर्ब १९ करोड रुपैयाँ

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २६ वटा वाणिज्य बैंकले १३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको नाफा शत प्रतिशत बढेको हो । गत आर्थिक वर्षको सो अवधिमा वाणिज्य बैंकहरुले कुल ६ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिकको पहिलो महिना बैंकहरुको औसत नाफा ५० करोड रुपैयाँभन्दा धेरै छ । जसमध्ये नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकको खुद नाफा मात्र औसतभन्दा माथि रहेको बैंकले जनाएको छ । 

सो अवधिमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंक हो । नबिलको नाफा भने पोहोरको हो । एक महिनाको नाफा तथ्यांकमा राखिएको छैन । नबिल बैंकको नाफालाई बाँकीबाट अलग्याउने हो भने २५ वटा वाणिज्य बैंकले कुल ८ अर्ब २२ करोड रुपैया खुद नाफा कमाएको देखिन्छ । जुन पोहोर साउनभन्दा ३०.३२ प्रतिशत बढी हो ।

यस्तै, औसत ३३ करोड रुपैयाँको बैंकहरुले नाफा कमाएको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार औसतभन्दा धेरै नाफा कमाउने १० वटा वाणिज्य बैंक छन् । जसमध्ये चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा धेरै नाफा कमाउने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक हो । बैंकले एक महिनाको अन्तरालमा ७५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । 

यस्तै, ग्लोबल आइएमई बैंकले ६७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा एनआइसी एसिया बैंकले ४७ करोड ६४ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । 

यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना बैंक अफ काठमाण्डौंको नाफा सबैभन्दा कम छ। बैंकले सो अवधिमा १६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमायो । त्यस्तै सेञ्चुरी कमर्सियल बैंकले १७ करोड ३६ लाख रुपैयाँ र सिभिल बैंकले १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।       

४) डेढ बर्षदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा हुने

डेढ वर्षदेखि भुक्तानी नभएर रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि सरकारले १ अर्ब निकासा गर्ने भएको छ । गत साता मन्त्रिपरिषद् बैठकले १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको हो ।

१७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो । जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी भएको छ । १२ अर्ब ३२ करोड भन्दा बढी दावी भुक्तानी बाँकी छ ।

साढे ३ अर्ब भन्दा बढीको दायित्व सकारले लिने गरी कोरोना बीमा मार्गदर्शन आएको थियो । जसअनुसार १२ अर्ब भन्दा बढीको कोरोना बीमाको दायित्व स्वीकार गर्दै सरकारले १ अर्ब निकास दिने निर्णय गरेको हो । बीमा समितिले पनि उक्त रकम प्राप्त भएपछि प्राथमिकता हेरेर दावी भुक्तानी हुने जनाएको छ ।

५) ५ क्यासिनोले महानगरपालिकालाई बुझाए मनोरञ्जन कर 

५ वटा क्यासिनोले काठमाडौं महानगरपालिकालाई मनोरञ्जन कर बुझाएका छन् । महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न ताकेता गरेपछि पाँच वटा क्यासिनोहरुले महानगरपालिलाई कर तिरेका हुन् । अहिलेसम्म महानगरपालिकाले विभिन्न संस्थाबाट मनोरञ्जन करबापत ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर संकलन गरेको छ ।

महानगरको राजस्व विभागकाअनुसार काठमाडौं फनपार्कलाई भदौ १५ गते पत्र पठाएपछि १६ गते १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर तिरेको थियो । त्यस्तै,  महानगरले विभिन्न क्यासिनोलाई मनोरञ्जन कर तिर्न भन्दै भदौ १९ गते पत्र पठाएको थियो ।

महानगरपालिका अनुसार म्यारियट होटलमा रहेको डेल्टीन क्यासिनोले २१ लाख ४२ हजार, अन्नपुर्ण होटलमा रहेको क्यासिनो प्यालेसले ११ लाख ८५ हजार ४ सय ६३ रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् ।

यस्तै, हायात होटलमा रहेको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसनले ९ लाख ८९ हजार ४ सय ६०, होटल सोल्टीमा रहेको माजोङ्ग इन्टरटेनमेन्टले ९ लाख ९३ हजार ६ सय र होटल एलफ्टमा रहेको बाल्को क्यासिनोले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ मनोरञ्जन कर बुझाएका महानगरले जनाको छ । क्यासिनो ¥याट र रोयल क्यासिनो याक एण्ड यति हाल सञ्चालनमा नरहेको महानगरले जनाएको छ ।

६) वैदेशिक लगानीको मौज्दात १४.८ प्रतिशतले बढ्यो

वैदेशिक लगानीको मौज्दात बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणको प्रतिवेदन अनुसार प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भएको छ ।

नेपालमा आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २२७ अर्ब ९५ करोड रुपैयाँ कायम रहेको छ । 

राष्ट्र बैंकका अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७÷७८ तयार पारिएको हो । 

२०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड रुपैयाँ, चीनबाट ३३ अर्ब रुपैयाँ, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ ।

यस्तै औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ भने कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।

समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ ।

७) पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन सहकारीलाई महानगरको निर्देशन 

काठमाण्डौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरुलाई प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । महानगरले मंगलबार सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९ भित्र साधारणसभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो ।

सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न पनि सहकारीलाई महानगरले निर्देशन दिएको छ ।

८) धितोपत्र बोर्डद्वारा धितोपत्र संशोधित बजार संचालन नियमावली सार्वजनिक

नेपाल धितोपत्र बोर्डले  धितोपत्र बजार संचालन नियमावलीमा भएको संशोधन सार्वजनिक गरेको छ । नेपाल सरकारले स्वीकृत गरेको धितोपत्र बजार संचालन (दोस्रो संशोधन) नियमावली २०७९ धितोपत्र बोर्डले सार्वजनिक गरेको हो ।  

बोर्डले धितोपत्र ऐन २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति लिएर नियमावली सार्वजनिक गरेको हो । नियमावली अनुसार नयाँ स्टक एक्सचेञ्जको चुक्ता पूँजी न्युनतम ३ अर्ब रुपैयाँ हुनुपर्नेछ । तर नेपाल स्टक एक्सचेञ्जको लागि भने लागू नहुने नियमावलीमा उल्लेख छ ।  त्यस्तै नयाँ स्टक एक्सचेन्जले २ वर्षभित्र ३० प्रतिशत रकम आईपिओ निष्काशन गर्नु पर्ने छ । तर नेप्सेलाई भने आईपिओ निष्काशन गर्नु पर्ने छैन ।  

नेपाल बाहेक अन्य मुलुकमा पनि धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनी वा संगठित संस्थाले पनि लगानी गर्न सकिने व्यवस्था छ । त्यसको लागि १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गरिरहेको तथा प्रचलित कानून बमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति पाएको कम्पनी वा संगठित संस्थाले हुनु पर्नेछ ।

नयाँ स्टक एक्सचेन्जले धितोपत्र कारोवारको लागि कारोवार प्रणाली र सो संग सम्वन्धित अन्य प्रविधि खरिद वा जडान गर्दा त्यस्तो कारोवार प्रणाली तथा प्रविधि नेपाल बाहेक अन्य मुलुकमा न्यूनतम दश वर्षदेखि निरन्तर संचालनमा रहेको कम्तीमा तीन वटा धितोपत्र बजार सञ्चालनले प्रयोग गरेको प्रणाली वा प्रविधि प्रयोग गर्नु पर्ने छ ।

९) एकै दिन बैंकहरूको निक्षेप ६ अर्बले बढ्यो

एक दिनमै बैंकहरूको निक्षेप संकलन ६ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ २६ गते, आइतबारसम्म बैंकहरूको निक्षेप ५० खर्ब ४७ अर्ब रूपैयाँ रहेको थियो । भदौ २७ गते सोमबारसम्म एकै दिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६ अर्बले बढेले कुल ५० खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।

यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ६ अर्बले नै बढेर ४४ खर्ब ५४ अर्ब पुगेको छ । भदौ २६ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४४ खर्ब ४८  अर्ब रहेको थियो । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह पनि १ अर्बले बढेर ४७ खर्ब १७ अर्ब रूपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ८२ अर्ब रूपैयाँ पुगेको छ ।

यो अवधिमा बैंकहरूको सीडी रेसियो ८८.१३ प्रतिशतबाट घटेर ८८.११ प्रतिशतमा आइपुगेको छ ।

१०) भारतको तेस्रो ठूलो सफ्टवेयर कम्पनी एचसीएलले निकाल्यो ३५० कर्मचारी 

भारतको तेस्रो ठूलो सफ्टवेयर कम्पनी एचसीएल टेक्नोलोजीले ३५० कर्मचारीलाई कम्पनीबाट निकालेको छ । यो विश्वव्यापी रूपमा ठूलो कटौती गरेको हो । बर्खास्त गरिएका कामदारहरू ग्वाटेमाला, फिलिपिन्स र भारतलगायत केही देशका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

कम्पनीबाट निकालिएका यी कर्मचारीहरुको कम्पनीमा सेप्टेम्बर ३० तारिख अन्तिम दिन हुनेछ ।