८ बैशाख, २०८१ शनिबार

07:33:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरियामा आयोजित दोस्रो हरित जलवायु कोष सम्मेलनमा अर्थमन्त्रीले के भने ?

Nepal Business

२८ भदौ, २०७९

कोरियामा आयोजित दोस्रो हरित जलवायु कोष सम्मेलनमा अर्थमन्त्रीले के भने ?

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले दक्षिण कोरियाको इन्चोंनमा मंगलबार आयोजित दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्नु भएको छ । मंगलबारदेखि सुरु भएको उक्त सम्मेलनमा उहाँले नेपाल सरकारको तर्फबाट दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्न पाउँदा आफू निकै खुसी भएको बताउनुभएको छ । 

उहाँले दीर्घकालीन, न्यून उत्सर्जन, जलवायु–प्रतिरोधी लगानी योजनाहरू कसरी सञ्चालन गर्ने भन्ने रणनीतिक बहसको लागि यो फोरम आयोजना गरेकोमा हरित जलवायु कोषलाई विशेष धन्यवाद दिन चाहेको बताउनुभयो । सो सम्मेलन बिहीबारसम्म चल्नेछ । 

नेपालले जीसीएफसँगको यस फलदायी सहकार्यलाई धेरै महत्व दिन र भविष्यमा अझ बलियो साझेदारीको लागि तत्पर रहेको उहाँले बताउनुभयो । विविध भू–जलवायु प्रणाली, जलवायु–निर्भर अर्थतन्त्र र सीमित अनुकूलन क्षमताका कारण नेपाल जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरू मध्ये पर्दछ ।

देशको नाजुक स्थलाकृतिले जलवायु परिवर्तनले निम्त्याउने जोखिमलाई थप गति दिएको र ग्लोबल वार्मिंगको वर्तमान परिदृश्यले विभिन्न प्राकृतिक प्रकोपहरु जस्तै हिमनदी तालको विस्फोट, बाढी, पहिरो आदिको  प्रभावलाई तीव्र बनाउन जिम्मेवार हुने अनुमान गरिएको छ ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान भए पनि अल्पविकसित देशहरूले जलवायु परिवर्तनको प्रभाव महसुस गरिरहेका छन् ।उहाँका अनुसार जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघ फ्रेमवर्क कन्भेन्सनको सदस्यका रूपमा जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी कार्यलाई सक्रिय रूपमा अगाडि बढाइरहेका छौँ ।

नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान विगत र वर्तमानमा उल्लेख्य रूपमा कम भएता पनि, आफूहरुले विश्वव्यापी औसत तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने हो भने सबै देशहरूले आफ्नो उत्सर्जन घटाउनका लागि ठोस कदम चाल्नुपर्ने कुरा आफूहरुले बुझेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार नेपाल एक महत्वाकांक्षी जलवायु सरोकारवा, जलवायु परिवर्तनको प्रतिरोधी क्षमता बढाउन धेरै नीति फ्रेमवर्कहरु समर्पित छन् । देशका धेरै नीतिहरू मध्ये, राष्ट्रिय जलवायु परिवर्तन नीति २०१९ ले जलवायु उत्थानशिल समाज निर्माण गरी राष्ट्रको सामाजिक–आर्थिक समृद्धिमा योगदान पुर्याउने लक्ष्य बोकेको उहाँको भनाइ छ ।

यस नीतिले कृषि तथा खाद्य सुरक्षा, वन, जैविक विविधता तथा जलाधार संरक्षण, जलस्रोत तथा जलविद्युत, स्वच्छ यातायात, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका प्रमुख विषयगत क्षेत्रहरुमा नीति, रणनीति र कार्यनीतिहरू अवलम्बन गर्ने लक्ष्य राखेको छ ।

पेरिस सम्झौता र जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघ फ्रेमवर्क कन्भेन्सनमा हस्ताक्षर गरिसकेको नेपालले ऊर्जा उत्पादन, यातायात, आवासीय खाना पकाउने र वायोग्यास, कृषि, वन, भूमि प्रयोग र फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा देशको महत्वाकांक्षी लक्ष्यहरूको रूप रेखा प्रस्तुत गर्दै डिसेम्बर २०२० मा दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) पेस गरेको छ। 

जसले देशमा हरितगृह ग्यास उत्सर्जन घटाउनका साथै कमजोर समुदायहरूलाई जलवायु परिवर्तनको प्रभावसँग लड्न मद्धत गर्ने लक्ष्य राखेको छ । साथै, नेपालले सन् २०४५ सम्ममा कुल शून्य उत्सर्जनको लक्ष्य हासिल गर्न जलवायु कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ । 

स्थानीय जलवायु कार्यलाई समर्थन गर्न उपलब्ध जलवायु वित्तको कम्तिमा ८० प्रतिशत खर्च गर्ने नीति रहेको छ । स्वच्छ ऊर्जा व्यापारको माध्यमबाट विश्वव्यापी जलवायु परिवर्तन न्यूनीकरणमा आफ्नो योगदानलाई आफ्नो सिमाना बाहिर मान्यता दिइनेछ भन्ने आशा पनि देशले राखेको उहाँश्ले बताउनुभयो । 

यसबाहेक, नेपाल कोभिड महामारीबाट मुक्त भएर दिगो, उत्थानशिल र समतामूलक विकास योजनामा अघि बढ्न तयार रहेको पनि उहाँले बताउनुभयो । नेपालको दोस्रो एनडीसीमा उल्लिखित अधिकांश लक्ष्यहरूको पूर्ति यस देशले विश्व कोषबाट आर्थिक, प्राविधिक र क्षमता अभिवृद्धि सहयोग प्राप्त गर्ने कुरामा निर्भर रहेको छ । 

एनडीसी अन्तर्गतका सशर्त न्यूनीकरण लक्ष्यहरू पूरा गर्न नेपाललाई करिब २५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । नेपालको हरित जलवायु कोषको राष्ट्रिय प्राधिकरणको रुपमाअर्थ मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ । हाल, नेपालसँग तीन हरित जलवायु कोष अनुमोदित परियोजनाहरू रहेका छन् । जसमध्ये ८७.८० मिलियन अमेरिकी डलर बराबर रकम प्रत्यक्ष रूपमा हरित जलवायु कोषले योगदान गरेको छ ।