१४ बैशाख, २०८१ शुक्रबार

01:02:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चुनाव नजिकिएसँगै सरकारले खुलायो सुपारी, केराउ र मरिचको आयात

२८ भदौ, २०७९

चुनाव नजिकिएसँगै सरकारले खुलायो सुपारी, केराउ र मरिचको आयात

काठमाडौं । सरकारले केराउ, सुपारी र मरिचको आयात प्रतिबन्ध फुकुवा गरेको छ । चुनाव नजिकिएसँगै सरकारले सुपारी, केराउ र कालो मरिचको आयात खुलाएको हो । सोमबार राजपत्रमा प्रकाशित गर्दै सरकारले यी वस्तुको आयात खुला गरेको जनाएको हो । कोरोना कालमा २०७६ चैत २४ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर केराउ, सुपारी र मरिचको आयातमा प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि २०७८ फागुन २६ मा २०७९ असार मसान्तसम्म औद्योगिक प्रयोजनको लागि केराउ, सुपारी र मरिचको आयात खुलाईयो । गत साउन १ देखि सुपारी, मरिच आयात विषयमा केही निर्णय नहुँदा २०७६ चैत २४ गते लगाइएको आयात प्रतिबन्धले निरन्तरता पाउँदा पुनः आयात रोकियो ।

सरकारले अघिल्लो आर्थिक वर्षबाटै आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रुपमा ल्याउन सकिने गरी खुला गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारले एचएसकोड ०७१३.१०.०० (केराउ), एचएसकोड ०८०२.८०.०० (सुपारी) र एचएसकोड ०९०४.११.३० (कालोमरिच) को पैठारी गर्न अनुमति दिने निर्णय गरेको हो ।

उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यी वस्तु आयात गर्न सकिने सूचनामा उल्लेख छ । चालु आर्थिक वर्षको अन्त्य अर्थात् २०८० असारसम्म केराउ, सुपारी र मरिच आयात गर्न सकिने छ ।