१८ माघ, २०८१ शुक्रबार
12:46:25 PM
२७ भदौ, २०७९
१) सेयर बजारमा १३.५९ अंकको गिरावट
साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । नेप्सेका अनुसार सेयर बजार १३.५९ अंकले घटेर नेप्से परिसूचक १९१२.६९ विन्दुमा बन्द भएको छ ।
सेयर बजार घट्दा कारोबारमा केहि सुधार आएको छ । आज ८३ करोड १६ लाख तीन हजार ६५१ रुपैयाँको कारोबार भएको छ भने २६ लाख १३ हजार ५४० कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै म्युचल फण्ड बाहेक सबै उपसूचकहरु राताम्मे छन् । कम्पनीहरुमा युनाइटेड आइडीआई आरबी हाइड्रोपावर लिमिटेड ४.१७ प्रतिशत, १० प्रतिशत सनराईज डिभेञ्चर र बोट्लर्स नेपाल २ प्रतिशतले बढेका छन् ।
२) ३० हजार घुससहित अधिकृत विन्दु श्रेष्ठ प्रधान विरुद्द भ्रष्टाचार मुद्दा दायर
आनतरिक राजस्व कार्यालय महाराजगंजमा कार्यरत अधिकृत विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज सोमबार उनी विरुद्ध अधिकृत विन्दु श्रेष्ठ प्रधान विरुद्ध विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले उनलाई गत साउन १८ गते सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । विज्ञप्ति अनुसार अनुसन्धानको सिलसिलामा प्रधानले कम्प्युटर बिलिङ्ग स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको जनाएको छ ।
३) चालु आर्थिक वर्षको दुई महिना नपुग्दै बैंकहरुले लिए १६ खर्ब २४ अर्ब तरलता सुविधा
चालु आर्थिक वर्षको दुई महिना पुरा नहुँदै बैंक तथा वित्तीय संस्थाले १६ अर्ब भन्दा बढी तरलता सुविधा लिइसकेका छन् । साउन लागेयता भदौ २६ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाले १६ खर्ब २४ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ बराबरको तरलता सुविधा बैंकहरुले लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले २६ भदौसम्म तरलता सुविधा लिएकोमध्ये १ खर्ब ६७ अर्ब ७८ करोड ७० करोड राष्ट्र बैंकलाई भुक्तानी गर्नुपर्ने बक्यौता रहेको छ ।
बैंकहरुले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएसएफ), ओभरनाइट रिपो, आभेरनाइट पर्चेज र रिपो मार्फत १५ खर्ब २३ अर्ब १३ करोड ५० लाख रुपैयाँ सापटी लिएका छन् । त्यस्तै रिपोमार्फत ५०अर्ब रुपैयाँ, ओभरनाइट पर्चेजमार्फत १५ अर्ब ८५ करोड र ओभरनाइट रिपो मार्फत ३६ अर्ब ९३ करोड १५ लाख रुपैयाँ बैंकहरुले सापटी लिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकहरुले सापटी लिएर बक्यौत रहेकोमा २० अर्ब रुपैयाँ बराबरको रिपो रहेको छ । केन्द्रीय बैंकले २३ भदौमा १४ दिनको लागि रिपो मार्फत २० अर्ब बजारमा पठाएको थियो । उक्त रिपो परिपक्व हुन बाँकी रहेको छ । यसबाहेक ६९ करोडको ओभरनाइट रिपो र १ खर्ब ४७ अर्ब ९ करोड ७० लाख एसएलएफ सुविधाको रकम बैंकहरुसँग बक्यौता रहेको केन्द्रिय बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष २०७८।७९ मा रिपोमार्फत राष्ट्र बैंकले ४ खर्ब ७६ अर्ब ३९ करोड, सोझै खरिदमार्फत ५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत ९१ खर्ब ७० अर्ब ११ करोड गरी कुल ९७ खर्ब २ अर्ब ४१ करोड तरलता प्रवाह गरेको थियो ।
बैंकहरुले सरकारले जारी गर्ने विकास ऋणपत्र लगायतका राष्ट्र ऋणमा लगानी गर्न राष्ट्र बैंकसँग सापटी सुविधा लिइरहेका छन् । तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले तरलता सुविधामा समेत थप कडाइ गर्ने बताएपनि त्यसलाई कार्यान्वयनमा भने लगेको छैन ।
४) काठमाण्डौं महानगरको तोकेतापछि ५ संस्थाले बुझाए कर
काठमाण्डौं महानगरपालिकाकाले कर तिर्ने तोकेता गरेपछि विभिन्न संस्थाले कर तिरेका छन् । कर तिर्नेमा काठमाण्डौं फनपार्क, डेल्टिन क्यासिनो होटल (म्यारियट), बेलिज क्यासिनो (मल्ल होटल), माजोङ्ग इन्टरटेनमेन्ट (होटल सोल्टी) र सिविक हस्पिटल प्रालि रहेका छन् ।
यी पाँच संस्थाले महानगरलाई कुल ७१ लाख २५ हजार ३८८ रुपैयाँ कर बुझाएका हुन् । पछिल्लो समय काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले लामो समयदेखि विभिन्न संस्थाले तिर्न बाँकी रहेको कर उठाउने अभियान नै चालेका चलाउनुभएको थियो । जसअन्तर्गत काठमाण्डौं महानगरपालिकाले भदौ १५ देखि भदौ २३ सम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेको थियो ।
भदौ १५ गते प्रदर्शनीमार्गस्थित फनपार्कलाई महानगरले २४ घण्टाभित्रमा मनोरञ्जन कर तिर्न अल्टिमेटम दिएको थियो । फनपार्कले दोस्रो दिन भदौ १६ गते १७ लाख ३६ हजार ११ रुपैयाँ मनोरञ्जन कर बुझाएको थियो ।
यस्तै, महानगरले भदौ १९ गते सात दिनभित्रमा कर तिर्न भन्दै म्यारियट होटलस्थित डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलस्थित क्यासिनो प्यालेस, ¥याडिसन होटलस्थित क्यासिनो ¥याट, हायात होटलस्थित प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, सोल्टी होटलस्थित बाल्को क्यासिनो र मल्ल होटलस्थित बेली क्यासिनोलाई सात दिनभित्रमा मनोरञ्जन कर तिर्न पत्रचार गरेको थियो ।
यी सबै क्यासिनो तथा मनोरञ्जामत्मक क्षेत्रहरुलाई दिएको समयसीमा भदौ २५ गते सकिएको छ । तर यी मध्ये डेल्टिन क्यासिनो होटल (म्यारियट), बेलिज क्यासिनो (मल्ल होटल) र मोजोङ्ग इन्टरटेनमेन्ट (होटल सोल्टी)ले मात्रै कर तिरेका छन् ।
यी मध्ये डेल्टिनले भदौ २३ मा २१ लाख ४२ हजार ३४ रुपैयाँ, बेलिज क्यासिनोले पनि २३ गते १३ लाख ८८ हजार ३६३ रुपैयाँ र म्याजोङ्गले ९ लाख ९३ हजार ६ सय रुपैयाँ कर तिरेको छन् ।
यस्तै, काठमाडौं महानगरपालिकालको २१ गते पनि १० दिनभित्रमा कर तिर्न भन्दै विभिन्न संस्थाहरुलाई पत्रचार गरेको थियो । जसमध्येको सिविक हस्पिटलले पनि २३ गते कर तिरेको छ । उक्त हस्पिटलले ८ लाख ६५ हजार ३८० रुपैयाँ कर तिरेको हो ।
महानगरले पत्रचार गरेकामध्ये चार क्यासिनोसहित खाद्य संस्थान, ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाँचघर, चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षक अस्पताल, आर. वि कम्प्लेक्स, काठमाण्डौं प्लाजा, नेपाल सेयर मार्केट, डेन्टल कलेजलगायतका संस्थाहरुलाई कर तिर्न भनेको छ ।
भदौ २३ मा महानगरले १० दिनको समयसीमा तोक्दै शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्श क्याम्पसलाई पनि बहालमा लगाएका संरचनाबाट आम्दानी भएवातको बहाल कर तिर्न पत्रचार गरेको थियो ।
त्यस्तै नेपाल आर्मी केन्द्रीय कार्यालय, समाज कल्याण परिषद् लैनचौर र नेपाल प्रहरीको नक्साल कार्यालयलाई पनि बहाल कर बुझाउन महानगरले १० दिनको समयसिमासहित पत्राचार गरेको छ ।
५) १० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने उक्त ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ३ बजे बोलकबोल भएको छ ।
राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रूपैयाँको ट्रेजरी बिल असोज २५ मा परिपक्व हुनेछ । यस्तै, ५ अर्ब रूपैयाँकै ९१ दिन अवधिको बिल मंसिर २७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
६) १२ वटा निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
समयमा निर्माण कार्य सम्पन्न नगर्ने १२ वटा निर्माण व्यवसायी कम्पनी कालोसूचीमा परेका छन् । सोमबार सार्वजानिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै सार्वजनिक निकायले पटकपटक ताकेता गर्दा पनि समयमा निर्माण कार्य सम्पन्न नगर्ने १२ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।
कालोसूचीमा रहेका कम्पनीहरुमा देवेन्द्र तेल उद्योग, धर्यता निर्माण कम्पनी, किसान–रक्ताकाली पावर क्वालिटी जेभी, हर्कदेवी बिल्डर्स र प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी रहेका छन् ।
यसैगरी पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्नु कन्स्ट्रक्सन एन्ड सप्लायर्स, रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, लामा बिल्डर्स कम्पनी, च्याङला कन्स्ट्रक्सन र सुन्दरी निर्माण सेवा रहेका छन्। यी कम्पनीले सडक, सहरी विकासको भवन, दुग्ध संस्थानलगायतको काम समयमा नगरेका कारण कालोसूचीमा राखिएको हो ।
कार्यालयले एक वर्षदेखि एक वर्ष ६ महिनाको समयका लागि यो कम्पनीलाई कालोसूचीमा राखेको हो। यी कम्पनी डेढ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।
अनुगमनका अनुसार कालोसूचीमा परेको कम्पनीले सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैन ।
७) चालु आर्थिक वर्षको भदौमा मात्र पर्यटन क्षेत्रमा १ अर्ब रुपैयाँ भन्दाबढिको लगानी प्रस्ताव
चालु आर्थिक वर्षको दोस्रो महिनामा पर्यटन क्षेत्रमा लगानीको प्रस्ताव आएको छ । यस एक महिनामा मात्र १ अर्ब रुपैयाँ भन्दाबढि लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार भदौ महिनाको २६ गतेसम्म पर्यटन क्षेत्रका सात उद्योगका लागि १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ लगानी प्रस्ताव आएको हो । यस अवधिमा काठमाण्डौंमा जिन मेटल होटलका लागि ५ अर्ब ५० करोड रुपौयँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।
यस्तै कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्टमा ग्रिन ज्याकपट इन्टरटेन्मेन्ट प्रालिका लागि २० करोड रुपैयाँ, गोर्खामा मनकामना रिट्रिट रिसोर्ट एण्ड स्पा प्रालिका लागि ३७ करोड रुपैयाँ, सुनसरीमा ग्राण्ड सेन्ट्रल होटल प्रालिका लागि ६० करोड, काठमाण्डौंमा पशुपति रेक्रिएशन प्रालिका लागि १७ करोड रुपैयाँ, कास्कीको हेरिटेज होटल एण्ड स्विट्स स्पा माभेन्टेन इन्टरटेनमेन्टका लागि २० करोड रुपैयाँ र झापामा किङसवरी इन्टरटेनमेन्टका लागि २५ करोड रुपैयाँ लागनी प्रस्ताव आएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार दर्ता भएका उक्त उद्योगहरुबाट ४६५ जनाले रोजगारी पाउने भउका छन्।
८) निर्वाचनका लागि तोकेको खर्चको सीमा हेरफेर नहुने
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थपलियाले खर्चका सीमाका बारेमा विभिन्न टिकाटिप्पणी सुनिएको भन्दै यसमा आयोगले कुनै हेरफेर नगर्ने स्पष्ट पार्नुभयो ।
नेपालको निर्वाचन प्रणाली महङ्गो भयो भन्नेहरु नै खर्चको सीमामा असन्तुष्ट देखिएको उहाँले बताउनुभयो । थपलियाले निर्वाचनमा दलले भाग लिने भएकाले उम्मेदवारहरुको खर्च पनि सबै दलले नै व्यहोर्ने व्यवस्था भए झन उचित हुने जिकिर गर्नुभयो ।
निर्वाचन क्षेत्र, मतदाता र मतदान केन्द्रका आधारमा उम्मेदवारको खर्चको सीमा तोक्ने गरी खाका तयार गरिरहेको उहाँले बताउनुभयो । उहाँले आचारसंहिताप्रतिको बुझाई सत्तामा रहदा वा नरहदा फरक हुने देखिएकाले समस्या हुने गरेको धारणा राख्नुभयो ।
उहाँले मन्त्री मात्रै नभई कोहि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले पनि निर्वाचन प्रचार गर्न नपाउनेमा आयोग प्रष्ट रहेको बताउनुभयो । निर्वाचन आचारसंहिता उलंघन गरेको प्रमाण फेला परे आयोगले आवश्यक कारवाही गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै उहाँले आगामी निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार गरेको जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले निर्वाचन खर्च, प्रचारप्रसार लगाएतका बिषयमा आयोगले गरेको व्यवस्थाका बारेमा निज्ञासा राखेका थिए ।
९) अर्थतन्त्रमा देखिको समस्याबाट बाहिर आउन केही महिना लाग्छः शेखर गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ । महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।
गोल्छाले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको बताउँदै अहिलेको अर्थतन्त्रको अहिलेको अवस्थालाई दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष गोल्छाले अर्थतन्त्रमा देखिएका समस्या फण्डामेन्टल भएको भन्दै अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किनको लागि केही महिना लाग्नसक्ने बताउनुभयो । उहाँले उद्योग व्यवसायहरु फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताउनुभयो ।
उहाँले अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा पर्ने बताउनुभयो । अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो बिस्तार हुन नसकेको बताउनुभयो । उहाँले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताउनुभयो । नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको उहाँले बताउनुभयो ।
१०) अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ७ महिनायताकै न्यून विन्दुमा
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ७ महिनायताकै न्यून विन्दुमा पुगेको छ । यसअघि ओपेक प्लस देशहरुले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेका थिए । यति हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा दबाब छ र यो तल्लो तहमा छ ।
सोमबार कच्चा तेल डब्ल्यूटीआई लगभग १.५ प्रतिशतले घटेर ८५.४९ डलर प्रतिब्यारेलमा झरेको छ । यो तेलको मूल्यमा ठूलो गिरावट आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चीनका धेरै ठाउँमा लकडाउन लगाइएको छ । यसले विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशको तेलको मागमा पनि असर गरेको छ । अर्कोतर्फ ब्रेन्ट आयल प्रतिब्यारल १.३५ प्रतिशतले घटेर ९१.५९ डलरमा कारोबार भइरहेको छ ।