१९ मंसिर, २०८१ बुधबार
02:24:51 PM
२७ भदौ, २०७९
काठमाण्डौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने स्पष्ट पार्नुभएको छ ।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थपलियाले खर्चका सीमाका बारेमा विभिन्न टिकाटिप्पणी सुनिएको भन्दै यसमा आयोगले कुनै हेरफेर नगर्ने स्पष्ट पार्नुभयो ।
नेपालको निर्वाचन प्रणाली महङ्गो भयो भन्नेहरु नै खर्चको सीमामा असन्तुष्ट देखिएको उहाँले बताउनुभयो । थपलियाले निर्वाचनमा दलले भाग लिने भएकाले उम्मेदवारहरुको खर्च पनि सबै दलले नै व्यहोर्ने व्यवस्था भए झन उचित हुने जिकिर गर्नुभयो ।
निर्वाचन क्षेत्र, मतदाता र मतदान केन्द्रका आधारमा उम्मेदवारको खर्चको सीमा तोक्ने गरी खाका तयार गरिरहेको उहाँले बताउनुभयो । उहाँले आचारसंहिताप्रतिको बुझाई सत्तामा रहदा वा नरहदा फरक हुने देखिएकाले समस्या हुने गरेको धारणा राख्नुभयो ।
उहाँले मन्त्री मात्रै नभई कोहि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले पनि निर्वाचन प्रचार गर्न नपाउनेमा आयोग प्रष्ट रहेको बताउनुभयो । निर्वाचन आचारसंहिता उलंघन गरेको प्रमाण फेला परे आयोगले आवश्यक कारवाही गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै उहाँले आगामी निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार गरेको जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले निर्वाचन खर्च, प्रचारप्रसार लगाएतका बिषयमा आयोगले गरेको व्यवस्थाका बारेमा निज्ञासा राखेका थिए ।