१८ माघ, २०८१ शुक्रबार
02:52:15 PM
२६ भदौ, २०७९
१) सेयर बजारमा दोहोरो अंकको गिरावट
साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्सें परिसूचक ११.४७ अकंले घटेर १९२६.२८ बिन्दुमा बन्द भएको छ । सेयर बजार घटेसँगै आइतबार कारोबार पनि घटेको छ । आज सूचीकृत २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता सेयर किनबेच हुदाँ ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्रै कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये २६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । १५६ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज मैलुङखोला जलविद्युत्त कम्पनीको सेयरमुल्य ४.५६ प्रतिशतले बढेर ५०४ रुपैयाँ पुगेको छ । यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ३ करोड ९५ लाख ७८ हजार रुपैयाँको कारोबार भएको हो । यस दिन सानिमा लार्ज क्याप फण्ड र छ्याङदी हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।
२) दशैंका लागि नयाँ नोट वितरण शुरु, १ जनाले १८ हजार ५ सय सम्म साट्न पाउने
राष्ट्र बैंकले दसैँका लागि लक्षित गर्दै नयाँ नोट आज (भदौ २६ गते आइतबार) देखि वितरण शुरु गरेको छ । केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिनुभयो ।
आइतबार कार्यालय समय शुरु भएदेखि नै राष्ट्र बैंकमा पैसा साट्नेको लाइन लागेको उहाँले बताउनुभयो । भदौ २९ गतेबाट नयाँ नोट वितरण गर्ने भनेपनि आजबाटै वितरण गरिएको नेपालले बताउनुभयो ।
एक जनाले ५ देखि १ सय दरका एक एक बन्डल गरी १८ हजार ५ सय सम्म साट्न पाउँनेछन् । यस पटकको दशैमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्ष राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरिएको थियो ।
३) जीवन बीमा कम्पनीको दाबी भुक्तानी रकम ३५ प्रतिशतले बढ्यो, निर्जीवनको कति ?
एक वर्षको अवधि (२०७८।७९) मा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले ४४ अर्ब ६० करोड रूपैयाँ कुल दाबी भुक्तानी गरेका छन् । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ३५.१५ प्रतिशत बढी हो । आर्थिक बर्ष २०७८।७९ मा जीवन बीमा कम्पनीहरुले ३३ अर्ब रूपैयाँ कुल दाबी भुक्तानी गरेका थिए ।
निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक बर्षमा १८ अर्ब ८२ करोड रूपैयाँ कुल दाबी भुक्तानी गरेको बिमा समितिले जनाएका छन् । यो रकम अघिल्लो आर्थिक बर्षको तुलनामा ८.२५ प्रतिशतले धेरै हो । अघिल्लो आर्थि बर्षमा कम्पनीहरूले १७ अर्ब ३९ करोड रूपैयाँ कुल दाबी भुक्तानी गरेका थिए ।
जीवन बीमा कम्पनीहरूले ३ लाख ३१ हजार ६३५ वटा बीमा दाबी वापत सो रकम भुक्तानी गरेका हुन् भने निर्जीवन बीमा कम्पनीहरूले १ लाख ४१ हजार १८६ वटा बीमा दाबी वापत सो रकम भुक्तानी गरेका हुन् । अघिल्लो आवमा जीवन बीमा कम्पनीहले १ लाख ३६ हजार ४६४ वटा बीमा दाबीको भुक्तानी गरेका थिए । यस्तै, समितिकाअनुसार निर्जीवन बीमा कम्पनीहरूले १ लाख ४६ हजार ९३१ वटा बीमा दाबीको भुक्तानी गरेका थिए ।
अघिल्लो आवको तुलनामा जीवन बीमा कम्पनीहरूमा कुल दाबी भुक्तानीको संख्या १४३.०२ प्रतिशतले बढेको हो । निर्जीवन बीमा कम्पनीहरूमा भने कुल दाबी भुक्तानी संख्या ३.९१ प्रतिशतले घटेको हो ।
४) लगनखेलस्थित मञ्जु श्री पेट्रोल पम्प सिल
ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरपालिकाले सिल गरेको छ। अनधिकृत ठाउँमा संरचना निर्माण गरिएको भन्दै प्रहरीले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको हो । पटक पटक उक्त संरचना हटाउनका लागि महानगरले आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले पेट्रोल पम्प सिल गरेको हो।
५) अव घरजग्गा कारोबार गर्न लाइसेन्स अनिवार्य, इजाजतपत्र नलिई काम गरे १० लाख जरिवाना !
अब घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य लिनुपर्ने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा मालपोत ऐन, २०३४ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरिएको छ । घरजग्गा कारोबार अस्वभाविक हुँदा भूमीको मूल्य पनि अस्वभाविक रुपमा बढिरहेको भन्दै सरकारले बजेटमार्फत नै घरजग्गा कारोबारमा थप कडाई गर्ने नीति घोषणा गरेको थियो ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा उल्लेख भए अनुसार अब घरजग्गा कारोबार गर्दा राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा सोही सूचनामा उल्लेख भएको क्षेत्रफल वा सीमाभन्दा बढीको घरजग्गा कारोबार गर्दा मालपोत ऐन बमोजिम इजाजत लिनुपर्ने छ ।
कुनै शुल्क लिएर वा नलिएर कसैको घर वा जग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने, घरजग्गा खरिद वा बिक्रीको परामर्श दिने वा त्यस सम्बन्धि कुनै पनि किसिमको सेवालाई घरजग्गा कारोबारीको परिभाषाभित्र राखिएको छ । प्रतिनिधि सभामा पेश भएको विधेयक दुवै सदनबाट पारित भई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लागू हुनेछ । तर, कोही कसैले इजाजतपत्र नलिई घरजग्गा कारोबारको काम गरेको पाइएमा १० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था पनि विधेयकमा उल्लेख गरिएको छ ।
६) युवा उद्यमशीलता सम्मेलन– बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छुः अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताउनुभएको छ ।
बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आज काठमाडौँमा भएको ‘युवा उद्यमशीलता सम्मेलन’को उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुकको स्थायित्व, विकास र समृद्धिको वातावरण तयार पारे विदेशिएका युवा आफैँ फर्किएर आउने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले लामो सङ्घर्षका साथ राजनीतिक परिवर्तनमा होमिँदै जीवनको उत्तरार्धतिर आइसकेकाले स्मरण गर्दै भन्नुभयो, “अब बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्ने मेरो अठोट हो, उद्योगमैत्री ऐन कानुन, बनाउने, विदेशमा रहेका युवाका आर्जित सीप र पुँजीलाई नेपालमा लगानी गर्नसक्ने बनाउने सोच छ ।”
अध्यक्ष दाहालले आजको स्थिति हेर्दा १० वर्षमा मुलुकलाई विकासको गतिमा अघि बढाउन सम्भव छ भन्नुभयो । त्यसकाल लागि युवाको जागरुकता आवश्यक भएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले थप्नुभयो, “हाम्रो भरोसा तपाईं युवा नै हो, तपाईहरू भविश्य होइन वर्तमान हो, अठोट गर्नुभयो भने देशलाई नयाँ र आर्थिकरूपले गतिशिल बनाउन सक्नुहुन्छ ।”
नेपाललाई आत्मनिर्भर अर्थतन्त्रका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएको पनि उहाँले बताउनुभयो । उहाँले प्राकृतिक स्रोतसाधनको प्रचुर सम्भावना रहेको तर राजनीतिक वातावरण र उनीहरूको दृढ इच्छाशक्ति, सही भिजन, योजना र कार्यक्रमको अभाव रहेको बताउनुभयो ।
भौगोलिक अवस्थाका आधारमा नेपालमा डिजिटल पूर्वाधार विकासको सम्भावना अधिक रहेकाले उक्त अवसर र सम्भावना नगुमाउन युवालाई आह्वान गर्नुभयो । उहाँले अहिले पनि सबैभन्दा विकास गर्न सकिने महत्वपूर्ण क्षेत्र भनेको कृषि नै भएको बताउँदै कृषिमा आत्मनिर्भर र कृषिमा आधारित उद्योग स्थापनाको आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष दाहालले विगतमा खाद्यान्नमा निर्यात गर्ने हाम्रो मुलुक आर्थिक स्थितिमा पछाडि जानु चुनौतीपूर्ण अवस्था हो भन्नुभयो । उहाँले जलविद्युत्, पर्यटन तथा जडीबुटी र खनिजको विकास गर्ने कुरा हुँदाहुँदै पनि कृषिमा आधारित उद्योग दीगो र दीर्घकालीन हुने बताउनुभयो ।
दुई नम्बरी धन्दाबाट सम्पत्ति कमाउने प्रवृत्ति समाजमा रहने र त्यो प्रवृत्ति हावी हुने खतरा रहेको जिकिर गर्दै अध्यक्ष दाहालले सम्पत्ति कसरी कमाउने र कसरी खर्च गर्ने कुरा महत्वको नभएको तर समाजलाई कसरी अघि बढाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले युवालाई कुनै उद्योग स्थापना गरेर छिट्टै पैसा कमाउने सपना नदेख्न आग्रह गर्नुभयो । पैसा कमाउनका लागि धैर्यता लिन सुझाव दिनुभयो । “काम ढिलो होस्, तर दीर्घ होस्, रातारात धनी हुनुपर्छ भनेर सुरु गरेको व्यवसाय तत्काल त्याग्नु हुन्न”, उहाँले युवालाई सुझावात्मकरुपमा भन्नुभयो । अध्यक्ष दाहालले आफ्नो बाल्यकाल स्मरण गर्दै खान नपुगेर कास्कीबाट चितवन झरेको मान्छे दुईपटक प्रधानमन्त्री नै भइसकेको भनी युवालाई उत्प्रेरणा जगाउनुभयो ।
उहाँले आफूले युद्धको नेतृत्व लिँदै द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न तथा समावेश संविधान निर्माणका लागिसमेत नेतृत्वदायी भूमिका लिन पाएको सुनाउनुभयो । राम्रो योजनाका साथ काम गर्नसके सफल हुने पनि बताउनुभयो ।
सम्मेलनमा बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले अब कृषिको विकासँगै आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभयो । उद्योगी गोल्यानले युवा उद्यमीले नै त्यसको नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा कृषि उत्पादनको ठूलो सम्भावना रहेको बताउँदै कृषिमा लाग्न युवालाई आग्रह गर्नुभएको छ । उहाँले कृषिको बजारीकरणमा समस्या परे युवासँग आफू पनि हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
नेपालमा व्यवसाय गर्दा त्यसमा असफल भइयो भन्दैमा उक्त व्यवसाय छाडेर जान नहुने उल्लेख गर्दैै उहाँले कडा परिश्रम गरे सफलतामा पुग्न सकिने अनुभव सुनाउनुभयो । गोल्यानले नेपालमा मह, जडीबुटी र अचारलगायतको उत्पादन गरेर त्यसलाई ब्राण्ड बेच्न पनि आग्रह गर्नुभयो ।
सम्मेलनका संयोजक विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले अबको आन्दोलन शान्ति, स्थायित्व र आर्थिक विकास भएको बताउनुभयो । संयोजक गैरेले अबको निर्वाचनमा जुन दल उक्त मुद्दालाई लिएर अघि बढ्छ त्यही दलले युवाको मत पाउने पनि बताउनुभयो । उहाँले युवा उद्यमी बनेर देशको अर्थतन्त्रमा बदलाब दिन चाहने युवाका लागि राजनीतिक नेतृत्वको सहयोगको खाँचो रहेको औँल्याउनुभयो । उहाँले मुलुकमा युवामैत्री र उद्योगमैत्री नीति र कानुनको खाँचो रहेको सुनाउनुभयो ।
राष्ट्रिय युवापरिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले सगरमाथा, लुम्बिनी र पशुपतिनाथलाई शिरमा राखेर कृषि, ऊर्जा, पर्यटन र औद्योगिक क्रान्तिको तिर चलाउनसके विकास र समृद्धिको खिर खान समय नलाग्ने बताउनुभयो ।
उहाँले हरेक वर्ष छ लाख युवा विदेश पलायन भइरहेका सन्दर्भमा उनीहरूलाई मुलुकभित्रै स्वरोजगार बनाउँदै राष्ट्रिय निर्माणको अभियानका लाग्नसके मुलुकमा आर्थिक विकासको गति अघि बढाउन समय नलाग्ने उल्लेख गर्नुभयो । जारी सम्मेलनमा ५५ जिल्लाका युवा उद्यमी र उद्यमी बन्न चाहने युवाको सहभागिता रहेको छ । सम्मेलनमा आर्थिक विकासका विभिन्न विषयमा समूहगत छलफल जारी छ ।
सम्मेलनको एसोसिएट पाटनरमा नेपाल दुरसञ्चार प्राधिकरण र वल्र्ड लिंक रहेको छ । सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । डेभलभमेन्ट पाटनर्समा गुड नेइबर्स इन्टरनेशनल, प्लान इन्टरनेशनल, र विश्व बन्यजन्तु कोष रहेको छ ।
एकेडेमिक पाटनरमा युनिग्लोब कलेज, आइटी पाटनरमा इन्फो डेभ्लपर्स, बैंकिंग पाटनरमा कामना सेवा विकास बैंक, कार्ड पेमेन्ट गेट(वे पाटनरमा हिमालयन बैंक, टेलिकम्युनिकेशन पाटनरमा नेपाल टेलिकम, स्टाटेजिक पाटनरमा विशाल फाउन्डेसन, इन्सुरेन्स पाटनरमा नेपाल लाइफ इन्सुरेन्स तथा सहयोगी पाटनरमा कृषि विकास बैंक र नागरिक लगानी कोष रहेको छ ।
७) अल्मुताइरीले दिए नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट अलग्गिएको घोषणा गर्नुभएको हो ।
गत कात्तिकमा उहाँले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गर्नुभएको थियो । तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उहाँ आलोचनामा पर्नुभएको थियो । खेलाडीसँगको विवादका कारण एक्लिनुभएका अल्मुताइरी पछिल्लो समय बिदामा बस्नुभएको थियो ।
८) एकै दिन बैंकहरूको निक्षेप ७ अर्बले बढ्यो, घट्दै सिडी रेसियो
एकै दिनमा बैंकहरूको निक्षेप संकलन ७ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ २१ गतेसम्म बैंकहरूको निक्षेप ५० खर्ब ४० अर्ब रूपैयाँ रहेको थियो । एकै दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ अर्बले बढेर भदौ २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५० खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह पनि २ अर्बले बढेर ४७ खर्ब १६ अर्ब रूपैयाँ पुगेको छ । भदौ २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ४७ खर्ब १४ अर्ब रहेको थियो ।
भदौ २२ गतेसम्म वाणिज्य बैंकहरूको कर्जा लगानी १ अर्बले बढेर ४१ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ । भदौ २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४१ खर्ब ८० अर्ब रहेको थियो । यो अवधिमा बैंकहरुको सीडी रेसियो ८८.२१ प्रतिशतबाट घटेर ८८.१३ प्रतिशतमा पुगेको छ ।
९)सरकारले माग्यो १ लाख १५ हजार म्यादी प्रहरी
आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको माग गरेको छ । म्यादी प्रहरीमा १ लाख १५ हजार जनाका लागि भर्ना खुलाइएको छ। प्रहरी प्रधान कार्यालय नक्शालले आज ९आइतबार० सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेको हो ।
म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेबाट दरखास्त पेस गर्न सक्नेछन्। म्यादिव प्रहरीका लागि प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्म गरी ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक दिइनेछ । त्यसैगरी, खाद्यान्नवापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २ सय रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरुको हकमा जिल्लाको न्यूनतम राशन दररेटअनुसारको रकम पाउनेछन् ।
त्यस्तै, पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार उपलब्ध हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादीलाई ज्याकेट खरिद गर्न थप १ हजार पाउनेछन् । साथै, निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरुलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप म्यादी प्रहरीलाई १ हजार रुपैयाँ र ३ सय रुपैयाँका दरले ४ दिनको खाजा खर्च उपलब्ध हुनेछ ।
१०) भारतको विदेशी मुद्रा सञ्चिति करिब २ वर्षयताकै न्यून विन्दुमा
भारतको विदेशी मुद्रा सञ्चिति करिब २ वर्षयताकै न्यून विन्दुमा आएको छ । सेप्टेम्बर २ तारिकसम्ममा भारतको विदेशी मुद्रा सञ्चिति ५ खर्ब ५३ अर्ब अमेरिकी डलर कायम भएको छ ।
जुन सन् २०२० अक्टोबर महिनायताकै न्यून हो । अर्थशास्त्रीहरूले भारतीय रुपैयाँको गिरावटलाई रोक्न रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले डलरको बिक्री गरेपछि विदेशी मुद्रा सञ्चिति घटेको विश्लेषण गरेका छन् ।