१८ माघ, २०८१ शुक्रबार

02:37:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागमती, लुम्बिनी र गण्डीका मुख्यमन्त्रीद्वारा आफ्नो प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह

Nepal Business

२५ भदौ, २०७९

बागमती, लुम्बिनी र गण्डीका मुख्यमन्त्रीद्वारा आफ्नो प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह

काठमाडौं । बागमती, लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरुले लगानीका प्रचुर संभावना रहेको भन्दै लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनमा तीन प्रदेशका मुख्य मन्त्रीहरुले सो आग्रह गरेका हुन् । 

सो सम्मेलनमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती आर्थिक दृष्टिकोणले ठूलो क्षेत्र भएकाले लगानीको प्रचुर संभावना रहेको बताउनुभएको छ । उहाँले पशुपतीनाथ लगायत

धार्मिक तिर्थस्थलदेखि सौराहजस्तो आकर्षक पर्यटन केन्द्र रहेको बताउनुभयो । यस्तै उहाँले ७० अर्बको बजेटमध्ये २० अर्ब प्रदेशले नै आम्दानी गर्न सकेको बताउनुभयो । 
यस्तै प्रदेशमा २ सय मेट्रिकटन रासायानिक मल उत्पादन गर्न लागिएको उहाँले बताउनुभयो । 

केन्द्र सरकारबाट स्वीकृति लिएर विदेशी कम्पनीले मल कारखाना खोल्न लागेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार बिजुलीबाट मल उत्पादन गर्न लागिएको र चारवटा औद्योगिक क्षेत्रका उपयुक्त ठाउँको ५ बिगाह जग्गा दिने योजना छ ।  

बागमती प्रदेश सरकारको ३० प्रतिशत साझेदारी र ७० प्रतिशत निजी क्षेत्रको सहभागितामा कृषि औजार कारखाना खोल्न लागिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । 

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले २० वटा प्रोजेक्ट तयार भएको भन्दै पब्लिक प्राइभेट पाटरनरसिपमा लगानी गर्न निजी क्षेत्रलाई गर्नुभयो । उहाँले प्रदेशको पूर्वाधार विकासका लागि लुम्बिनी पूर्वाधार प्राधिकरण बनाइएको उनले जानकारी दिनुभयो । 

उहाँको अनुसार हजारौं प्रोजेक्ट तयारी अवस्थामा रहेको भन्दै निजी क्षेत्रको सहकार्यबाट अघि बढ्न सकिनेछ । जग्गा दिन नसक्ने अवस्था भएपनि बिजुली, सडक, कर छुट दिने उहाँले प्रतिवद्धता जनाउनुभयो । 

लुम्बिनीमा १७ वटा सिमेन्ट उद्योग रहेको जानकारी दिदैँ पछिल्लो समयमा निर्यात समेत सुरु भइसकेको बताउनुभयो । 

यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशले १० प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बताउनुभयो । निजी क्षेत्रको सहकार्यमा २२ वटा प्रदेशस्तरीय गौरवका आयोजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनु्सार ८ वटा आयोजना निर्माण सुरु भइसकेको छ । 

उहाँले पर्यटन र जलविद्युतमा निजी क्षेत्रलाई आकर्षण गरिरहेको बताउनुभयो । ठाउँठाउँमा केबुलकार निर्माण अघि बढेको र केहीमा सम्पन्न भइसकेको छ । गण्डकी प्रदेश राम्रो प्रदेश रहेपनि अर्थतन्त्रको योगदानमा कमजोर रहेको उहाँले बताउनुभयो । 

जग्गा प्राप्तीमा असहज हुँदा निजी क्षेत्रको मात्र नभई प्रदेश सरकारको समेत गुनासो रहेको मुख्यमन्त्री नेपालीले बताउनुभयो । महंगोमा जग्गा किनेर अरु क्षेत्रमा पनि लगानी गर्न निजी क्षेत्रलाई सकस हुने भएकाले जग्गा प्राप्तिमा सहज व्यवस्था गर्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो ।