१८ माघ, २०८१ शुक्रबार
03:47:34 PM
२३ भदौ, २०७९
१) सेयर बजारमा झिनो अंकको गिरावट
सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार सेयर बजार २.१३ अंकले घटेर नेप्से परिसूचक १९३७.७४ विन्दुमा बन्द भएको छ । हिजो बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको थियो ।
सेयर बजार घट्दा बिहीबार कारोबार भने बढेको छ । हिजो बुधबार कारोबार करोडमा झरेको थियो । आज सेयर बजारमा १ अर्ब चार करोड ४३ लाख ७९ हजार छ सय रुपैयाँको कारोबार भएको छ भने ३४ लाख १ हजार ६९२ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै आज छ उपसूचकहरुमा हरियाली छाएको छ भने बाँकी राताम्मे छन् । कम्पनीहरुमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.४९ प्रतिशत, मल्टिप्रपज फाइनान्स कम्पनी ४.०९ प्रतिशत र १०.२३ प्रतिशत ग्लोबल आइएमई बैंक डिभेञ्चर ३.९७ प्रतिशतले बढेका छन् ।
२) तरलताको व्यवस्थापन गर्न बजारमा २० अर्ब पठाउँदै राष्ट्र बैंक
तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (भदौ २३ गते बिहीबार )२० अर्बको रिपो जारी गर्ने भएको छ। १४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् ।
यो रिपो असोज ६ गते परिपक्क हुनेछ । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। उक्त रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज (बिहीबार) दिउँसो ३ बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।
बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल गरेर प्रक्रियामा सहभागी हुन सक्ने छन् ।
बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् ।
३) नयाँ स्टक एक्सचेनञ्ज सञ्चालनमा ल्याउने बाटो खुल्यो
सरकारले नयाँ स्टक एक्सचेनञ्ज सञ्चालन ल्याउने बाटो खुला गरिदिएको छ। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संशोधन गरी पठाएको धितोपत्र सञ्चालन नियमावली, २०६४ को मस्यौदा स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेनञ्ज सञ्चालनमा आउने बाटो खुल्ला भएको हो ।
धितोपत्र बोर्डले यसअघि नियमावलीमा संशोधन गर्दै प्रस्तावित मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थ मन्त्रालयले संशोधित नियमावली स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरेको थियो। बोर्डले अब संशोधित नियमावलीअनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालनका अनुमति दिने प्रक्रिया अगाडि बढाउनेछ ।
अब सेबोनले संशोधित नियमावलीअनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालनका अनुमति दिने प्रक्रिया अगाडि बढाउनेछ । नियमावली संशोधन भएसँगै अब बोर्डले तोकेको मापदण्ड पुरा गर्ने जुनसुकै कम्पनीलाई प्रक्रिया पुर्याएर ब्रोकर लाईसेन्स दिन सकिने छ ।
स्वीकृत भएको नियमावलीमा विभिन्न ३ प्रकारको ब्रोकर लाईसेन्स वितरण गरिने उल्लेख छ । सेयर खरिद बिक्रि मात्र गर्ने ब्रोकरलाई न्युनतम चुक्ता पुँजी १५ करोड तोकिएको छ ।
४) अवैध संरचनालाई वैध बनाउन महानगरले दियो ९० दिनको समय
काठमाण्डौं महानगरपालिकाभित्र अवैध संरचनालाई वैध बनाउन महानगरले ९० दिनको समय दिएको छ । बिहीबार सूचना जारी गर्दै नक्सा पास नगरी बनाइएका व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्ने मौका दिएको छ ।
महानगरका अनुसार सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृतरनियमति गर्न’ अनुरोध गर्दै महानगरपालिकाले सूचना प्रकाशित गरेपछि त्रसित बनेका महानगरपालिका भित्रका घरधनीहरुलाई राहत मिलेको छ । पछिल्लो दुइहप्तादेखि महानगरपालिकाले आक्रामक शैलीमा नक्सा पास नभएका संरचनाहरु भत्काइ रहेको छ ।
५) हालसम्म स्वास्थ्य बीमामा २३ अर्ब रूपैयाँ भन्दा बढी भुक्तानी
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा कार्यक्रम शुरूवात भएदेखि हालसम्म २३ अर्ब रूपैयाँ भन्दा बढी भुक्तानी गरेको छ ।बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक संस्थाहरूलाई २ अर्ब ६७ करोड रूपैयाँ पहिलो दाबी भुक्तानी रकम पठाएको छ ।
चालु आवमा पठाएको रकमसहित हालसम्म बोर्डबाट २३ अर्ब रूपैयाँ भन्दा धेरै भुक्तानी भएको हो ।बोर्डले गत आर्थिक वर्षमा २१ अर्ब रूपैयाँ भुक्तानी गरेको थियो । चालु आवमा बोर्डले बोर्डमा आवद्ध भएका विभिन्न सेवा प्रदायक संस्थाहरूलाई २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रूपैयाँ भुक्तानी गरेको हो ।
बोर्डको भदौ २० गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छौट गर्ने निणर्य गरेको थियो । हाल बोर्डसँग ४४९ वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत छन् ।
स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका यी सेवा प्रदायक संस्थाहरूले बीमा कार्यक्रममा आवद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछन् । बोर्डका अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आकस्मिक पेस्की फर्छौट गरिएको हो ।
बोर्डसँग सम्झौता भएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा पुर्याएका सेवाग्राहीको उपचार प्याकेजसहित एक हप्ताभित्र निर्दिष्ट गरिएको ढाँचामा दाबी प्रविष्ट हुने गरेको र त्यसको समीक्षा÷मूल्याङ्कन पश्चात् बोर्डबाट दाबीको भुक्तानी गर्ने प्रक्रिया अवलम्वन गरिन्छ।
बोर्डसँग सम्झौता भएका सूचीकृत स्वास्थ्य संस्थाहरूले कार्यक्रममा बीमित सदस्यहरूलाई सेवा प्रदान गरे बापतको लागत रकम माग दाबी गर्न बोर्डको बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत पठाउँछन् ।
भुक्तानीको लागि प्राप्त दाबीहरू मूल्यांकन र सूचना प्रविधि शाखाबाट थप मूल्यांकन सहितको प्रतिवेदनका साथ भुक्तानीका लागि बोर्डका कार्यकारी निर्देशकसमक्ष पेश हुने र आवश्यक प्रक्रिया पुर्याई बैंकिङ प्रणालीमार्फत सम्बन्धीत सेवा प्रदायक संस्थालाई भुक्तानी हुन्छ ।
६) कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतको अनुमति
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछानेविरुद्ध एक १७ बर्षिया नाबालिक किशोरीलाई बलात्कार गरेको आरोप छ । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो । लामिछाने हाल देश बाहिर छन् ।
७) राष्ट्र बैंकले बैंकहरुलाई दिन थाल्यो नयाँ नोट, भदौ २९ देखि सर्वसाधारणले साट्न पाउने
दसैँका लागि लक्षित गर्दै नेपाल राष्ट्र बैंकले नयाँ नोट बैंक तथा वित्तीय संस्थालाई दिन सुरु गरेको छ। राष्ट्र बैंकले हिजो बुधबारदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट दिन सुरु गरेको हो।
राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले बुुधबार विभिन्न बैंक तथा वित्तीय संस्थालाई झन्डै २२ करोड रुपैयाँ नयाँ नोट दिइएको बताउनुभएको छ। आज (बिहीबार) मात्र राष्ट्र बैंकले ३० करोड रुपैयाँ बराबरको नयाँ नोट बैंक तथा वित्तीय संस्थामा पठाएको उहाँले बताउनुभयो ।
राष्ट्र बैंकले वाणिज्य बैंकलाई १० करोड, विकास बैंकलाई ५ करोड र फाइनान्स कम्पनीलाई ३ करोड रुपैयाँको नयाँ नोट वितरण गर्ने व्यवस्था गरेको छ। सर्वसाधारणहरुले भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् ।
सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट साट्न पाउनेछन् । ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँमा सीमा तोकिएको हो ।
राष्ट्र बैंकले बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट उपलब्ध गराउने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट साट्न सक्ने प्रमुख नेपालले बताउनुभयो ।
८) सरकारी कलेज सहित १० वटा सरकारी संस्थालाई बहाल कर बुझाउन महानगरको पत्र
काठमाण्डौं महानगरले विभिन्न सरकारी कलेज सहित १० वटा सरकारी संस्थालाई बहाल कर बुझाउन पत्र काटेको छ ।
महानगरले नेपाल आर्मीको केन्द्रिय कार्यलय थापाथली, नेपाल प्रहरीको केन्द्रिय कार्यलय नक्साल र समज कल्याण परिषद् लैनचौर, शंकरदेव क्याम्पस पुतलिसडक, आरआर क्याम्पस भृकुटीमण्डप, नेपाल ल क्याम्पस भृकुटीमण्डप, बीर अस्पताल महाबौध, दशरथ रंगशाला त्रिपुरेश्वर, स्वरसती बहुमुखी क्याम्पस ठमेल र नेपाल कमर्स क्याम्पस मिनभवनलाई पटक–पटक ताकेता गर्दापनि बहाल कर नबुझाएकाले १० दिन भित्र बुझाउन अनुरोध गर्दै पत्र काटेको हो । यी संस्थाहरूले आफ्नो क्षेत्रभित्र बहाल लगाएर आम्दानी गरेको र सो आम्दानीको कर तिर्न महानगरले अनुरोध गरेको हो ।
यदि १० दिनभित्र कर र जरिवाना नतिरे महानगरपालिकाको राजस्व ऐन, २०७५ अनुसार कारबाही गर्ने महानगरले काटेको पत्रमा उल्लेख छ ।
९) चाडवाडमा हुने मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गछौँः उद्योगमन्त्री
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले चाडवाडमा हुन सक्ने मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न प्रभावकारी रुपमा बजार अनुगमन गर्ने बताउनुभएको छ ।
आफूले मन्त्रालय सम्हालेको पाँच महिनाको अवधिमा भएका कामको बारेमा जानकारी गराउन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले सरकारको अनुगमन संयन्त्रलाई थप बलियो बनाएर चाडवाडमा बेला हुन सक्ने मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्ने बताउनुभएको हो ।
उहाँले चाडपर्व लक्षित सहुलियत पसलमा पनि धेरै सामाग्री राख्ने र बजारमा भन्दा निकै सस्तो मूल्यमा सामान उपलव्ध गराउने र यसले पनि बजारको मूल्यबृद्धि नियन्त्रण गर्न मद्धत पुग्ने धारणा राख्नुभयो ।
मन्त्री बडूले पेट्रोलियम पदार्थको आयातका लागि पाईपलाईन विस्तार, ग्यासको उपभोगमा कम गर्ने नीति लगाएतका योजनाहरु सार्वजनिक गर्नुभयो ।
यस्तै उहाँले कोरोनाबाट सिथिल बनेको उद्योग क्षेत्र क्रमश पुरानै अवस्थामा फर्किएको दावी गर्नुभयो । रुग्न उद्योगहरु सञ्चालनका लागि सरकारले आवश्यक नीति र सहजीकरण गरेको उहाँको भनाई छ ।
मन्त्री बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता भएको र जसका कारण ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी हुने र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको दावी गर्नुभयो ।
उहाँले नेपाल गुणस्तर परिषदबाट १२ वटा विभिन्न प्रकारका ग्यास सम्बन्धी र ३ वटा पाइप सम्बन्धी गरी १५ वटा नेपाल गुणस्तर पारित भएको तथा थप ९२ वटा उत्पादनलाई नेपाल गुणस्तर पारित गर्ने तयारी गरिएको बताउनुभयो ।
१०) विश्व बजारमा कच्चा तेलको मूल्य सस्तियो
विश्व बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै तल्लो विन्दुमा झरेको छ। चीनमा कोभिड शून्य नीतिको द्रुत कार्यान्वयनका कारण कच्चा तेलको मूल्य ८ महिनाकै न्यून विन्दुमा झरेको हो ।
लगानीकर्ताहरुका अनुसार चीनमा कोभिड प्रतिबन्धका कारण तेलको विश्वव्यापी मागमा असर पर्ने अनुमान छ ।चीनका धेरै ठाउँमा लकडाउन लगाइएको छ । यसले विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशमा तेलको मागलाई असर गरेको छ ।
यसैबीच महँगी नियन्त्रण गर्न विभिन्न देशका केन्द्रीय बैंकहरुले मौद्रिक नीतिमा कडाइ गर्दा पनि तेलको मूल्य घटिरहेको विज्ञहरु बताउँछन । बुधबार कच्चा तेल डब्ल्यूटीआई करिब ६ प्रतिशतले घटेर ८३ डलर प्रतिब्यारेलमा झरेको थियो ।
यो मध्य जुलाईयता तेलको मूल्यमा आएको सबैभन्दा ठूलो गिरावट हो । यसैगरी बिहीबार बिहान भने कच्चा तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार बिहान ब्रेन्ट तेल ०.८१ प्रतिशत वा ०.७० डलरले बढेर ८८.६९ मा कारोबार भइरहेको छ ।