१८ माघ, २०८१ शुक्रबार
03:37:46 PM
२२ भदौ, २०७९
१) ख सेयर बजारको ओरालो यात्रा जारी
सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । सेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ११.९७ अंकले घटेर नेप्से परिसूचक १९३९.८८ विन्दुमा बन्द भएको छ ।
सेयर बजार घट्दा सेयर कारोबार करोडमा झरेको छ । आज ८२ करोड ६२ लाख ३० हजार ५८३ कारोबार भएको छ भने २९ लाख ४३ हजार ७६९ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै आज म्युचल फण्ड बाहेक सबै उपसूचकहरु घटेका छन् । कम्पनीहरुमा सनराईज फस्ट म्युचल फण्ड ७.७२ प्रतिशत, उपर हेवाखोला हाइड्रोपावर कम्पनी ६.३८ प्रतिशत र लक्ष्मी उन्नती कोष ५.१० प्रतिशतले बढेको छ ।
२) अर्थमन्त्रालयले बढायो वाणिज्य बैंकले स्थानीय सञ्चित कोषको रकम निक्षेपमा गणना गर्न पाउने सीमा
वाणिज्य बैंकले स्थानीय सञ्चित कोषको रकम निक्षेपमा गणना गर्न पाउने सीमा अर्थमन्त्रालयले लम्ब्याएको छ । अर्थमन्त्रालयले सो सीमा लम्भाउदै ६ महिना थप गरी पुससम्म पु¥याइएको हो।
मन्त्रालयका अनुसार वाणिज्य बैंकले चालु वर्षको पुस महिनासम्म स्थानीय सञ्चित कोषको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने भएको छ । अर्थ मन्त्रालयले यो सुविधालाई ६ महिनाका लागि थप गरेको हो ।
गत आर्थिक वर्ष २०७८÷७९ मा तरलता प्रवाह सहज गर्न भन्दै निक्षेपमा गणना गर्न पाउने सीमा ८० प्रतिशत बनाइएको थियो । मन्त्रालयले चालु वर्षको ४५ दिनको कार्यप्रगति समेत सार्वजनिक गरेको छ । कार्यप्रगतिमा बजेट कार्यान्वयनका लागि अर्थले सबै मन्त्रालयलाई बजेट कार्ययोजना मार्गदर्शन पठाइसकेको छ ।
यस्तै संघ र प्रदेशमा हुने प्रदेश तथा स्थानीय तहको निर्वाचनका लागि बजेट विनियोजन गरिसकेको छ । यो अवधिमा मन्त्रालयले विद्युत प्राधिकरणको अधिकृत पुँजी २ खर्ब पु¥याउन सहमति दिएको छ । यसैगरी १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सबै करदातालाई विद्युतीय प्रणालीबाट बिजक जारी गर्ने व्यावस्था मिलाएको छ ।
३) विद्युत प्राधिकरणसहित १७ संस्थालाई १० दिन भित्र कर बुझाउन निर्देशन
काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणको सम्पत्ति कर बुझाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १० दिनको समय दिएको छ ।महानगरपालिकाले मंगलबार प्राधिकरणसहित विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो ।
कामपा राजस्व विभागले विगत लामो समयदेखि तिर्नुपर्ने कर र सो को जरिवानासहित १० दिनभित्र बुझाउन सम्बन्धित करदातालाई पत्राचारसहित अनुरोध गरेको छ । कामपाले यसअघि पनि ती करदातालाई पटक–पटक पत्राचार गरे पनि उनीहरूले बेवास्ता गर्दै आएका थिए ।
प्राधिकरणबाहेकका संस्थाहरुमा खाद्य कम्पनी, हाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाँचघर, नेपाल चेम्बर अफ कमर्श, कर्मचारी सञ्चय कोष, नेशनल ट्रेडिङ्ग लिमिटेड, नेपाल जामे मस्जिद, कृषि सामग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरवि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल शेयर मार्केट, सिविक हस्पिटल, डेन्टल कलेज छन् । उनीहरुले सम्पत्ति करसँगै जरिवाना पनि बुझाउनुपर्नेछ ।
तोकिएको समयमा सम्बन्धित वडालाई ती संस्थाले कर नबुझाएमा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी सरह असूलउपर गरिने चेतावनी समेत महानगरले दिएको छ ।
४) मर्जरमा जाने सहमति पाएका बीमा कम्पनीले तय गरे एकीकृत कारोबारको मिति
हालसम्म बीमा समितिबाट १९ वटा बीमा कम्पनीले मर्जरको लागि सैद्धान्तिक सहमति पाएका छन् । बीमा समितिबाट सैद्धान्तिक सहमति पाएका कम्पनीमध्ये हालसम्म दुई वटाले मात्रै एकीकृत कारोबार सुरु गरेका छन् । अन्य कम्पनीले एकीकृत कारोबार गरेका छैन ।
बीमा समितिबाट मर्जरको सहमति पाएसँगै हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले हाल एकीकृत कारोबार गरेका छन् । यी कम्पनीले गत वैशाख २३ गते बीमा समितिबाट सैद्धान्तिक सहमति पाएका थिए ।
त्यस्तै, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले पनि मर्जरको लागि गत असार ३० गते समितिबाट पहिलो सैद्धान्तिक सहमति पाए पनि कम्पनीले आगामी मंसिर देखि एकीकृत कारोबार गर्ने भएका छन् ।
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले पनि गत साउन १ गते मर्जरको लागि समितिबाट सैद्धान्तिक सहमति पाएका थिए । तर, यी कम्पनीहरूले आगामी फागुन देखि मात्रै एकीकृत कारोबार गर्ने भएका छन् ।
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सलाई मर्जरको लागि समितिले गत असार १३ गते सैद्धान्तिक सहमति दिएको छ । यी कम्पनीले पनि आगामी असोजदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
प्राइम लाइफ ईन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ ईन्स्योरेन्स कम्पनीले गत जेठ ३ गते मर्जरको लागि बीमा समितिबाट सैद्धान्तिक सहमति पाएसँगै यी कम्पनीहरूले आगामी असोज देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
५) दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि
दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।
लामो दूरीका बसको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने गर्ने निर्णय गरेको जनाइएको छ । यातायात व्यवसायीहरुबीच अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।
अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले छुट वा सहुलियत पनि प्रदान गर्ने सहमति भएको छ । अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ ।
६) बीमालेखको जोखिमाङ्कन तथा दाबी भुक्तानी सम्बन्धी निर्देशिका पालना गर्न बीमा समितिको निर्देशन
बीमा समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई बीमालेखको जोखिमाङ्कन तथा दाबी भुक्तानी प्रक्रियामा प्रचलित कानून तथा समितिबाट जारी भएका निर्देशनहरूको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
बीमा व्यवसायसँग सम्बन्धित विभिन्न व्यक्ति, समूह तथा संस्थाहरूमार्फत् पेश भएका किर्ते जालसाजीपूर्ण कागजातका आधारमा बीमालेख जारी हुने गरेको तथा बीमा दाबी भुक्तानी हुने गरेको पाईएको भन्दै समितिले कम्पनीहरूलाई कानूनको पालना गर्न निर्देनश दिएको हो ।
यस्ता क्रियाकलापबाट बीमा व्यवसायमा नकारात्मक असर पर्ने र बीमित तथा लाभग्राहीहरू पिडीत हुन गई बीमा क्षेत्रप्रति जनविश्वास घट्न जानुका साथै बीमा क्षेत्रको शाखमा समेत ह्रास आउने स्थिति देखिएको समितिले बताएको छ ।
यस्ता खालका गलत क्रियाकलापहरू हुन नदिन र बीमालेखको जोखिमाङ्कन तथा दबी भुक्तानी प्रक्रियामा प्रचलित कानून तथा समितिबाट जारी निर्देशनहरूको पूर्णतः पालना गर्नतर्फ आवश्यक व्यवस्था मिलाउन समेत समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ ।
७) सन्दीप लामिछानेविरूद्ध किशोरी बलात्कारको उजुरी
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा उजुरी परेको छ । मंगलबार लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ ।
लामिछानेले १७ वर्षकी नाबालिगलाई बलात्कार गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी हुन् । पीडित किशोरीले कप्तान लामिछाने आफुलाई भदौ ५ गते बलात्कार गरेको बताएकी छिन् ।
आफू सन्दिपको फ्यान भएको र आफुहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र हृवाट्स एपमार्फत कुराकानी हुने गरेको पीडितको भनाइ छ । भदौ ५ गते काठमाडौँको एक होटलमा ती किशोरीमाथि लामिछानेले बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।
आफूलाई मद्यपान गराई त्यस रात पटकपटक आफूमाथि बलात्कार गरेको पीडितले बताएकी छिन् । मंगलबार ती बालिकाको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गराइएको छ। सन्दीप यतिबेला क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि जमैकामा छन् ।
सन्दीपविरुद्ध बलात्कारको किटानी जाहेरी दर्ता भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा छलफल गरिरहेको छ । सन्दिप लामिछानेमाथि लागेको अभियोग पुष्टि भएमा बलात्कार गरेको अभियोगमा मात्रै उनलाई १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ ।
मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।
८) मेरियट होटलले काठमाण्डौं महानगरलाई बुझायो १९ लाख ३७ हजार रुपैयाँ कर
मेरियट होटलले क्यासिनोको मनोरञ्जन कर तिरेको छ । होटलले काठमाण्डौं महानगरलाई १९ लाख ३७ हजार रुपैयाँबराबरको कर बुझाएको हो ।
काठमाडौं महानगरपालिकाले गत भदौ १९ गते आफ्नो क्षेत्रमा पर्ने सातवटा क्यासिनोहरूलाई मनोरञ्जन कर नतिरेका कारण जरिवानासहित कर तिर्न ताकेता गर्दै चिट्ठी पठाएको थियो । जसमा मेरियट होटल पनि थियो ।
अब अन्नपूर्ण, ¥याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटलले कर तिर्न बाँकी रहेको छ ।
९) निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन
निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अर्थमन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल एवम् अन्तरक्रियामा अर्थ सचिव र राजस्व सचिवलाई उहाँले कार्यविधि सहज बनाउन निर्देशन दिनुभएको हो। उहाँले मूल्य अभिवृद्धिकै आधारमा इन्सेन्टिभको व्यवस्था गरिने पनि बताउनुभयो ।
मन्त्री शर्माले निजी क्षेत्र सरकारको एक साझेदार नै भएकाले उसका समस्याहरूको समाधान गर्ने उपायको खोजी जसरी पनि गरिने बताउनुभयो ।
१०) भारतीय उद्योगपति अडानी बने विश्वका तेस्रो अर्बपति
विश्वका शीर्ष १० अर्बपतिको सूचीमा भारतीय उद्योगपति गौतम अडानी तेस्रो स्थानमा पुग्नुभएको छ । उहाँले अमेजनका जेफ बेजोसलाई पछि पार्दै अडानी फेरि विश्वका तेस्रो धनीव्यक्ति बन्नुभएको हो ।
फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार अडानी समूहका अध्यक्ष गौतम अडानीको कम्पनीको सेयरमा भएको उछालले उहाँको नेटवर्थलाई असर गरेको छ । योसँगै समाचार लेख्दासम्म उहाँको कुल सम्पत्ति १४८.८ अर्ब डलर पुगेको छ ।