१८ माघ, २०८१ शुक्रबार

03:41:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५ वर्षमा २७.१ प्रतिशतमात्र काम सक्ने चिनियाँ कम्पनीसँगको ठेक्का रद्द, करिब ४९ करोड धरौटी जफत

२१ भदौ, २०७९

५ वर्षमा २७.१ प्रतिशतमात्र काम सक्ने चिनियाँ कम्पनीसँगको ठेक्का रद्द, करिब ४९ करोड धरौटी जफत

काठमाडौं । तोकेको सम्झौताअनुसार काम नगरेको भन्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले सम्झौता अन्त्य गरेको हो ।

उक्त कमपनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि सम्झौता गरेको थियो । कम्पनीसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा गरी प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरु २ वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म संचालन गर्ने गरी सन् २०१७ को जनवरी २६ मा सम्झौता भएको थियो ।

तर, उक्त कम्पनीले फोहोरपानी प्रशोधन केन्द्रहरुको निर्माण कार्यलाई सम्झौता बमोजिम अघि बढाएन ।  तोकिएको समयमा निर्माण सम्पन्न गर्न बारम्बार ताकेता गरिनुका साथै पटक पटक म्याद थप गर्दा पनि काम नभएपछि ठेक्का रद्द गरिएको आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लोपटक सन् २०२२ को जुलाई ३१ सम्म समय दिँदासमेत सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेका कारण उक्त कम्पनीसँगको सम्झौता अन्त्य गरिएको प्रवक्ता श्रेष्ठले स्पष्ट पार्नुभयो ।

 ‘फोहोरपानी प्रशोधन केन्द्र निर्माणमा असफल देखिएको, निर्माण स्थलमा कम्पनीका आधिकारिक प्रतिनिधि तथा मुख्य व्यक्ति अनुपस्थित रहेको, सम्झौता अनुसार काम नगरेको, बीमालेख नवीकरण नगरेको, सम्झौता उल्लंघन गरेको र पीआईडीबाट दिइएका निर्देशनलाई बेवास्ता गरेको कारणले सम्झौता अन्त्य गरिएको छ’, केयुकेएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तीनवटै फोहोरपानी प्रशोधन केन्द्र निर्माण् गर्न उक्त कम्पनीसँग कूल लागत ३ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो  । सम्झौताबमोजिम कम्पनीले बैंक ग्यारेन्टीस्वरुप राखेको करिव ४९ करोड रुपैयाँ धरौटी रकम जफत गरिएको उहाँले बताउनुभयो ।

उक्त कम्पनीले थपिएको अवधिसमेत गरी ५ वर्ष ३ महिनामा जम्मा २७.१ प्रतिशतमात्र काम गरेको छ । जसवापत करिब ७७ करोड २७ लाख रुपैयाँ भुक्तानी लगेको पीआईडीले जनाएको छ । अब तीनवटै केन्द्रको बाँकी निर्माण नयाँ ठेक्का प्रक्रियाबाट अघि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।