१८ माघ, २०८१ शुक्रबार

03:56:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा ४.२९ अंकको गिरावटदेखि विश्व बजारमा कच्चा तेलको मूल्यमा उछालसम्म

Nepal Business

२० भदौ, २०७९

प्रमुख समाचारः सेयर बजारमा ४.२९ अंकको गिरावटदेखि विश्व बजारमा कच्चा तेलको मूल्यमा उछालसम्म

१) सेयर बजारमा ४.२९ अंकको गिरावट

आइतबार सामान्य अंकले बढेको बजार सोमबार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ४.२९ अंकले घटेर नेप्से परिसूचक १९७३.०१ विन्दुमा बन्द भएको छ ।

सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज ९० करोड ९९ लाख चार हजार ७५१ रुपैयाँको कारोबार भएको छ भने २४ लाख ४४ हजार ३४४ कित्ता सयर किनबेच भएका छन् । आइतबार १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको थियो।

यस्तै म्याुफ्याक्चर एण्ड प्रडक्शन र माइक्रोफाइनान्स बोहक सबै उपसूचकहरु घटेका छन् । कम्पनीहरुमा मैलुङ खोला जल विद्युत कम्पनी ७.४३ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्यारेन्स ३.९३ प्रतिशत र रिडी पावर कम्पनी ३.२३ प्रतिशतले बढेका छन् । 

२) एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढ्यो

एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार भदौ ११ गतेदेखि भदौ १७ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेको हो।

गत भदौ १० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो। एक साताको अवधिमा बैंकहरुको निक्षेप ११ अर्बले बढेर १७ गतेसम्म ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ १० गतेसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा थियो ।

एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेपसँगै औसत सीडी रेसियोमा पनि सुधार आएको छ। यो अवधिमा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.४२ प्रतिशतबाट झरेर ८८.२५ प्रतिशतमा पुगेको छ ।

३) सीआस्बा शुल्क लागू हुने बारे धितोपत्र बोर्डले फेरि पार्यो प्रष्ट

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सीआश्वा शुल्कबारे थप प्रष्ट पारेको छ। धितोपत्र बोर्डले आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाहरुले लिने आस्बा शुल्कका विषयमा फेरि स्पष्ट पारेको हो ।

धितोपत्र बोर्डले आज (सोमबार) एक सूचना जारी गर्दै नयाँ आस्बा सेवा शुल्क लागू हुने मितिमा  द्विविधा देखिएको भन्दै फेरि यसबारे थप प्रष्ट पारेको हो । बोर्डले निर्धारण गरेको नयाँ आस्बा सेवा शुल्क गत भदौ ५ गतेबाटै लागू भएको सूचनामा स्पष्ट पारिएको छ।

बोर्डका अनुसार २०७९।०५।०५ भन्दा अगाडि सार्वजनिक निष्काशन खुल्ला भईसकेका संगठित संस्थाहरुको धितोपत्र सार्वजनिक निष्काशनको आवेदनको हकमा साविकको (संशोधित अघिको) व्यवस्था बमोजिमको शुल्क लाग्ने तथा २०७९।०५।०५ पश्चात धितोपत्रको सार्वजनिक गरेका संगठित संस्थाहरुको धितोपत्र सार्वजनिक निष्काशनको आवेदनको हकमा संशोधित व्यवस्था लागु गर्नु पर्ने छ।

अर्थात २०७९।०५।०५ पश्चात धितोपत्रको सार्वजनिक गरेका संगठित संस्थाहरुको धितोपत्र सार्वजनिक निष्काशनको आवेदन दिंदा अधिकतम ५ रुपैयाँ भन्दा बढी शुल्क लिन पाइने छैन।

बोर्डले ‘धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३’मा तेस्रो संशोधन गर्दै गत भदौ ५ गते लागू हुने गरी नयाँ आस्बा शुल्क निर्धारण गरेको थियो। जसमा अब बैंक तथा वित्तीय संस्थाहरुले आस्बा सेवा प्रदान गरेबापत अधिकतममा ५ रुपैयाँसम्म लिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि आस्बा सेवा शुल्कबापत अधिकतममा १०० रुपैयाँसम्म लिन पाउने बोर्डले व्यवस्था गरेको थियो।

४) उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रिय बैंकले ’क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ६० करोड ५ लाख, ’ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३० करोड र ’ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १० करोड गरी कुल २ अर्ब ५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।

केन्द्रिय बैंकले उक्त निक्षेप २०७९ असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो। उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले रकम खुलाई भदौ २२ गते राती १२ बजेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ।

त्यसैगरी, निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने लगागतका शर्तहरु राष्ट्र बैंकले तोकेको छ।

५) अर्को सातादेखि नयाँ नोट सटही गर्न सकिने

हरेक वर्ष दसैँका अवसरमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्छ । यस वर्ष पनि दसैँका अवसरमा नयाँ नोट सटही गर्ने भएको छ । बैंकका अनुसार राष्ट्र बैंकले अर्को सातादेखि आइतबार २६ गतेदेखि नयाँ नोट सटही गर्ने लागेको राष्ट्र बैकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो । 

उहाँले दसै, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने बताउनुभयो । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक बण्डल नयाँ नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकमार्फत् नयाँ नोट साट्न सकिने छ ।

दसैँ तिहारलाई लक्षित गरेर सटहीका लागि १० अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट राखिएको राष्ट्र बैंकले जनाएको छ ।

६) एक महिनामा २० वटा निर्जीवन बीमा कम्पनीद्वारा ४ अर्ब ४७ करोडभन्दा बढि कुल बीमाशुल्क संकलन

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा २० वटा निर्जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामा २ लाख २१ हजार ६४२ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्ज गरेका हुन् । 

यस अवधिमा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीले ८४ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले साउनमा ३५ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

यस्तै हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३३ करोड १९ लाख र सगरमाथा इन्स्योरेन्स कम्पनीले ३२ कोड ६२ लाख रुपैयाँ बीमाहुल्क संकलन गरेको छ । यसैगरी सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गर्नेमा प्रभु इन्स्योरेन्स रहेको छ । यस अवधिमा कम्पनीले १० करोड ३४ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको छ ।

७) हिमाल आरोहणका लागि २३७ जनाले लिए अनुमति 

नेपालमा विभिन्न हिमाल आरोहणका लागि २३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्याङक अनुसार आरोहणको अनुमति लिनेमा १८३ जना पुरुष र ५४ जना महिला रहेका छन् । जसबाट २ करोड ९० लाख १४ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।  

यस वर्षको शरद याममा विभिन्न १९ देशका २५ वटा टीमले हिमाल आरोहणको अनुमति लिएको विभागले जनाएको छ । विभागका अनुसार हिमाल आरोहणमा अनुमति लिएकाहरुमा सबैभन्दा धेरै मनास्लुका लागि २१४ जनाले अनुमति लिएका छन् । २१४ जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिदा २ करोड ४५ लाख सात हजार ९ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । 

सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएका पाँच जनाबाट ३५ लाख ३ हजार ५ सय रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ । हिमलुङ हिमालका लागि सात जनाले अनुमति लिँदा २ लाख २२ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । 

यस्तै धौलागीरी हिमाल आरोहणमा लागि पाँच जनाले अनुमति लिँदा ५ लाख ७३ हजार ५२५ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । नुप्सेका लागि पनि पाँच जनाले अनुमति लिँदा एक लाख ९१ हजार र हिमाल शारीबुङ हिमाल आरोहणका लागि एक जनाले अनुमति लिँदा १५ हजार ८७७ रुपैयाँ रोयल्टी संकलन भएको छ ।   

८) बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र  नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गर्नुभएको हो । 

प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । साथै, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने अवस्था बनेको बताउनुभयो ।

बुटवल सबस्टेसनमात्र विद्युत आपूर्ति दिँदा विगतमा समस्या रहेको उल्लेख गर्दै उहाँले अब यस क्षेत्र विद्युत हब बनेको र वितरण प्रणालीमा सुधार भएको बताउनुभयो ।
यस्तै रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो । आयोजनाको अनुमानित लागत ९५ लाख अमेरिकी डलर रहेको छ ।
 ९) भारतीय सेनाका प्रमुख जनरलद्वारा नेपाली सेनालाई २२ करोड ३८ लाख बराबरको सामाग्री हस्तान्तरण

नेपाल भ्रमणमा आउनु भएका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई ‘माइन प्रोटेक्टिभ’ सवारीसँगै केही स्वास्थ्य सामग्री र घोडा हस्तान्तरण गर्नुभएको छ । 

सोमबार जंगीअड्डामा पाण्डेले २२ करोड ३८ लाख बराबरको सामाग्रीसहित ४ वटा घोडा नेपाली सेनालाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभएको हो । 
यस्तै पाण्डले सैनिक मुख्यालय पुगेर वृक्षारोपण पनि गर्नुभएको हो । त्यहाँ उहाँले गार्डअफ अनरसँगै ब्रिफिङ पनि गर्नुभयो ।

१०) विश्व बजारमा कच्चा तेलको मूल्यमा उछाल

उत्पादन कटौती गर्ने निर्णयको सम्भावना विश्व बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ । कच्चा तेलको मूल्यमा उछाल आउनुको मुख्य कारण रुपमा ओपेक प्लस देशहरुको बस्न लागेको बैठकलाई लिइएको छ । यो बैठकमा तेल उत्पादक राष्ट्रहरुले उत्पादन कटौती गर्ने निर्णय गर्न सक्ने सम्भावना रहेको छ । 

कच्चा तेलको मूल्य सोमबार प्रतिब्यारेल करिब डेढ डलरले बढेको छ । ब्रेन्ट तेलको भाउ १.५१ प्रतिशत अर्थात १.४० डलरले बढेर प्रतिब्यारेल ९४.४१ डलरमा कारोबार भइरहेको छ। डब्ल्यूटीआई कच्चा तेल १.४ प्रतिशत अर्थात १.२५ डलरले बढेर प्रतिब्यारेल ८८.१२ डलरमा कारोबार भइरहेको छ ।