१८ माघ, २०८१ शुक्रबार
06:44:07 PM
१७ भदौ, २०७९
१) शुक्रबार पनि सेयर बजारमा झिनो अंकको गिरावट
सेयर बजार घट्ने क्रम रोकिएको छैन । शुक्रबार सेयर बजमार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज नेप्से १.६७ अंकले घटेर एक हजार ९ सय ७०.६२ विन्दुमा बन्द भएको छ ।
बिहिबार नेप्से १.०८ अंकले घटेर एक हजार ९ सय ७२ दशमलब २९ विन्दुमा बन्द भएकोे थियो ।
सेयर बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ६९ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ७३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ९७ वटा कम्पनीको घटेको छ । यस्तै १७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको सेयरमूल्य उच्च वृद्धि भएको छ ।
सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.८० प्रतिशतले बढेर प्रतिकित्ता १४०० रुपैयाँ पुगेको छ । यस्तै रु रु जलविद्युत्त कम्पनीको सेयर मूल्य ९.६७ प्रतिशतले बढेर प्रतिकित्ता ८९५ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज १० करोड ४ लाखभन्दा बढीको कारोबार भएको छ ।
२) भ्रष्टाचार गरेको आरोपमा ६ जना विरुद्द मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा छ जना विरुद्द अदालतमा मुद्दा दायर गरेको छ ।
शुक्रबार आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेर वहादुर श्रेष्ठ, सव–इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी विशेष जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो ।
मुगु जिल्लाको सोरु गाउँपालिका वडा.नं. ४स्थित दैरीखोला रापलवाडा तटबन्धन आयोजना कार्यको मूल्यांकनभन्दा बढी उनीहरुले १८ लाख १० हजार ८४ रुपैयाँ ९६ पैसा भुक्तानी लिने÷दिने गरी पाइएको आयोगले जनाएको छ ।
३) चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्न राष्ट्र बैंकसँग व्यवसायीहरुको माग
उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंकसँग चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्न माग गरेका छन् । उक्त मार्गदर्शनमा तोकिएको कर्जाको सीमा र लेखापरीक्षणको सीमालाई घटाएर तीन वा दुई वर्षमा झार्न उद्योगी व्यवसायीले राष्ट्र बैंकसँग माग गरेका हुन् ।
कोरोना भाइरसको माहामारीले थलिएका उद्योग व्यवसायलाई सहयोग हुने खालका निति ल्याउन आवश्यक रहेको भन्दै सरकारले यस विषयमा गहनरुपले ध्यान दिनुपर्नेमा उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले सुझाव दिनुभयो ।
चालु पुँजी कर्जाको सीमा २५ प्रतिशत मात्रै तोकिनु व्यावहारिक नभएको र यसको प्रत्यक्ष असर निजी क्षेत्रमा पर्ने व्यवसायीको निष्कर्ष छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा सुबोध गुप्ताका अनुसार सबै व्यवसायीलाई एउटै नियममा बाँधेर चालु पुँजी कर्जाको अवधारणा ल्याइनु व्यावहारिक छैन ।
उहाँले मागदर्शनका कारण धेरैजसो उद्योगमा ताला लाग्न सक्ने र र करिब एक महिनाभित्रमा यसको असर प्रत्यक्षरुपमा उद्योग व्यवसायमा देखिने बताउनुभयो ।
यस्तै अर्का प्रदीप केडियाले उद्योगी अब यो मार्गदर्शनले चालु पुँजीको अभावमा उद्योग सञ्चालनमै कठिनाइ उत्पन्न हुने बताउनुभयो । युवा उद्यमी मञ्चका अध्यक्ष राकेश साहले व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न र देशको अर्थतन्त्रमा टेवा पु¥याउने निजी क्षेत्रका उद्योगी व्यवसायी रातदिन खटिने भएकाले उद्योगी व्यवसायीलाई मात्रै समस्यामा पार्ने गरी नीति नियम ल्याउन नहुनेमा जोड दिनुभयो ।
बैंकमा पनि ऋणको अनुगमन गर्ने जनशक्तिको अभाव हुनाका साथै व्यक्तिको पद तथा हैसियत हेरेर ऋण लगानी गर्दा आज यस्तो नकारात्मक अवस्था सिर्जना भएको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल केडिया बताउनुहुन्छ ।
उद्योग र बैंकिङ प्रणालीबीचको नीतिमा देखापरेको अन्यौलले करिब दुई हजार सवारी साधन वीरगञ्जस्थित भन्सार कार्यालयमा थन्किएर राखिएको सम्बन्धित कार्यालयले जनाएको छ । राष्ट्र बैंकले गत भदौ ७ मा चालु पुँजी मार्गदर्शन–२०७९ सार्वजनिक गरेको थियो ।
४) विदेशी विनिमय अपचलन गरेको आरोपमा एक जना विदेशी नागरिक विरुद्ध मुद्दा दायर
विदेशी विनिमय अपचलन गरेको आरोपमा राजस्व अनुसन्धान विभागले विदेशी नागरिक विरुद्ध मुद्दा दायर गरेको छ । शुक्रबार विभागले काठमाण्डौं जिल्ला अदालतमा भारतको राजस्थान प्रदेश सिक्कर जिल्ला घर भएका कनैयालाल गर्गको नाति सुरज मलको छोरा राजु अग्रवाल भनिने राजेन्द्र कुमार विरुद्ध मुद्दा दायर गरेको हो ।
निजले विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ । उनी विरुद्ध ७४ लाख रुपैयाँ मागदावी सहित मद्दा दायर गरिएको विभागले जनाएको छ । विभागका अनुसार प्रतिवादी कुमारले चीनबाट सामान ल्याई इलेक्ट्रिक सम्बन्धी व्यवसाय गर्ने भनि अफिसमा नै कर्मचारी राखी बैंक खाता नखोली नगद नै जम्मा गरी गैरकानुनी रुपमा हुण्डीको कारोबार गरेको जनाएको छ ।
५) ६९ वटा कम्पनीको सेयर जफत गर्न माग गर्दै इच्छाराजसहित ६ जना विरुद्ध मुद्दा दायर
सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित परिवारका अन्य सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्द सम्पति सुद्धिकरणको कसुर गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
विभागले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरी आर्थिक अपचलन गरेको आरोपमा तामाङ, उहाँकी पत्नी, दुई छोरी, सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उहाँकी श्रीमती बीना श्रेष्ठसहित छ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।
विभागले इच्छाराज तामाङसँग ३ अर्ब ३१ करोड बिगो मागदाबी गरेको छ भने उनको १ कित्ता जग्गा सहित ६९ कम्पनीमा रहेको सेयर जफत गर्न माग गरेको छ ।
यसैगरी सोही प्रकरणमा तामाङकी श्रीमती सिर्जना शाक्यबाट विभागले १ अर्ब ३ करोड बिगो माग गरेको छ भने सवारीसाधन र जग्गा जफत गर्न माग गरेको छ । उनीहरुको छोरी प्रतिक्षाबाट ६ करोड २२ लाख र प्रतिष्ठाबाट करोड १ करोड ८९ लाख बिगो माग गरिएको छ । साथै सम्पूर्ण जग्गा र सेयर जफत गर्न माग गरिएको छ ।
यसैगरी विभागले सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठसँग २६ करोड ६१ लाख बिगो माग गरिएको छ भने सम्पूर्ण बैंक मौज्दात, सवारीसाधन र सेयर जफत गर्न माग गरिएको छ । उनकी श्रीमतीको नाममा रहेको ७ कित्ता जग्गा जफत गर्न माग गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा तामाङले सहकारीबाट सर्वसाधारण बचतकर्ताले जम्मा गरेको रकम मनोमानी रूपमा प्रयोग गरी पाँच अर्ब ६७ करोड ५५ लाख रुपियाँ अपचलन गरेको पाइएको थियो ।
६) ६ कम्पनीलाई धितोपत्र बोर्डले दियो प्राइभेट इक्विटी भेञ्चर क्यापिटलको अनुमति
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ६ कम्पनीलाई प्राइभेट इक्विटी भेन्चरको लाईसेन्स प्रदान गरेको छ । आवेदन दिएका मध्ये ६ वटालाई सञ्चालन अनुमति दिएको बोर्डका अध्यक्ष रमेश हमालले बताउनुभएको छ ।
अनुमति पाउने कम्पनीमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, एनआईबीए एस क्यापिटल र एनएमबी क्यापिटल रहेको छ । यसअघि बोर्डले ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डलाई भेन्चर क्यापिटलको अनुमति दिइसकेको छ ।
अब आध्यान्त फण्ड लिमिटेडलाई पनि क्यापिटलको सञ्चालन अनुमित दिने अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ । प्रकृया पूरा गरेर आएका कम्पनीलाई भदौसम्म अनुमतिपत्र दिने बोर्ड अध्यक्ष हमालले जनाउनुभएको छ ।
७) बढ्यो पेट्रोलियम पदार्थको मूल्य, आयल निगमलाई अझै मासिक ६१ करोड घाटा
नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए राति (बिहीबार) १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो । निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ ।
निगमले मूल्य बढाएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो ।
पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा रहेकाले नबढाइएको निगमले जनाएको छ ।
हाल पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १८१, हवाई इन्धन (आन्तरिक) को १९०, हवाई इन्धन (बाह्य) को १ दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८०० रुपैयँ कायमै छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ । आईओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा ८ रुपैयाँ १ पैसाले बढेर आएको छ ।
एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ ७ पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा रहेको निगमले जनाएको छ । निगमलाई पेट्रोलमा २ रुपैयाँ ८२ पैसा नाफा छ । मूल्य समायोजनपश्चात् पनि १ महिनामा ६१ करोड घाटा हुने निगमको प्रक्षेपण छ । यस्तै पेट्रोलियम पदार्थ खरिद बापतको करिब २१ अर्ब आईओसीलाई तिर्न बाँकी रहेको पनि निगमले जनाएको छ ।
८) जीवन बीमा कम्पनीद्वारा एक महिनामा कुल १५ अर्ब रुपैयाँभन्दा बढि बीमा शुल्क संकलन
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस एक महिनाको अवधिमा सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले एक महिनामा ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
दोस्रोमा बढी कुल बीमाशुल्क कमाउनेमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन रहेको छ । यो कम्पनीले १ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै यस अवधिमा सबैभन्दा कम बीमाशुल्क उठाउनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १६ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
जीवन बीमा कम्पनीहरूले साउन महिनामा ७ लाख १० हजार ३४ बीमालेख जारी गरेका छन् ।
९) पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेजीको माग गर्दै आयल निगममा धर्ना
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी गर्नुपर्ने भन्दै निगममा धर्ना दिएको हो ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नघटाउने तर बढ्दा मात्र बढाउने गरेको भन्दै उनीहरुले विरोध गरेका छन् । उनीहरुले मूल्यवृद्धि खारेज गर, बढ्दो महँगी नियन्त्रण गर लगायतका नारा लगाएका छन् ।
अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले जनताको ढाड सेकिने गरि मूल्यबृद्धि गरेको र संघर्षमा उत्रनुपरेको बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य क्षेत्रमा पर्ने असरबारे सरकार मौन रहेको उहाँले आरोप लगाउनुभयो ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै डिजेल र मट्टितेलको प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।
१०) अन्तराष्ट्रिय मुद्रा कोषले श्रीलंकालाई २ अर्ब ९० करोड अमेरिकी डलर ऋण दिने
अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले श्रीलंकालाई ऋण दिने भएको छ । पटक–पटकको वार्तापछि आइएमएफ श्रीलंकालाई २ अर्ब ९० करोड अमेरिकी डलर ऋण दिन प्रारम्भिक रुपमा तयार भएको हो ।
श्रीलंकालाई ऋण दिन आइएमएफको व्यवस्थापकीय र कार्यकारी समितिबाट सम्झौता अनुमोदन हुन आवश्यक छ । प्रारम्भिक चरणमा श्रीलंकासँग पहिले गरिएका सम्झौताको आधारमा स्टाफ तहबाट मात्रै अनुमोदन भएको छ ।