१८ माघ, २०८१ शुक्रबार

06:46:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा झिनो अंकको गिरावटदेखि भारतको अर्थतन्त्र लयमा फर्कदैसम्म

Nepal Business

१६ भदौ, २०७९

प्रमुख समाचारः सेयर बजारमा झिनो अंकको गिरावटदेखि भारतको अर्थतन्त्र लयमा फर्कदैसम्म

१) सेयर बजारमा झिनो अंकको गिरावट

सेयर बजारमा ओरालो लाग्ने क्रम रोकिएको छैन । बिहीबार सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से)का अनुसार सेयर बजार १.०८ अंकले घटेर नेप्से परिसूचक १ हजार नौ सय ७२.२९ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा आज १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार एक सय ६२ रुपैयाँको कारोबार भएको छ भने ३९ लाख ५५ हजार आठ सय ८६ कित्ता सयर किनबेच भएका छन्। 

यस्तै सात उप सूचकहरुमा हरियाली छाएको छ भने बाँकी राताम्मे छन् । कम्पनीहरुमा हिमालयन एभरेष्ट एन्स्यारेन्समा सकरात्मक सर्किट ब्रेक लागेको छ । उपर हेवाखोला हाइड्रोपावर कम्पनी ६.५८ प्रतिशत, माहुली लघुवित्त वित्तीय संस्था ५.८४ प्रतिशत र सप्तकोशी विकास बैंक ५.२२ प्रतिशतले बढेका छन् । 

२) ५ दिन मात्र सेयर बजार  खुलाउनुपर्ने लगानीकर्ताहरुले माग

अहिले सेयर बजारमा शुक्रबारको कारोबारका बिषयमा निकै चर्चा भइरहेको छ। विश्व बजारमा हप्तामा ५ दिन मात्रै सेयर कारोबार हुने भएकोले नेपालमा पनि हप्तामा ५ दिन मात्रै कारोबार खुलाउनुपर्ने लगानीकर्ताहरुले माग गरिरहेका छन्।

लगानीकर्ताहरुले शुक्रबारको सेयर कारोबार बन्द गर्न माग गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण बहादुर कार्कीलाई ज्ञापनपत्र समेत बुझाइ सकेका छन् ।

तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भने शुक्रबारको कारोबारका विषयमा कुनै स्पष्ट निर्णय लिन सकेको छैन। यसअघि हप्तामा ५ दिनमात्रै कारोबार हुने गरेको थियो । तर सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि सेयर कारोबार आइतबार बन्द गरी शुक्रबार सञ्चालन भएको थियो ।

सरकारले पुनः सातामा दुई दिन बिदा दिने निर्णय खारेज गर्दै  शनिबार मात्रै सार्वजनिक बिदा दिने निर्णय गर्यो। तर सेयर बजार भने हप्ताको ६ दिन कारोबार हुने गरेको छ । लगानीकर्ताहरुले शुक्रबारको कारोबार छिट्टै बन्द गर्न चौतर्फि दवाव दिइरहेका छन् । नेप्सेले कुनै ठोस निर्णय नलिदा शुक्रबारको कारोबार कहिले बन्द हुन्छ भन्ने अझै भन्न सकिने अबस्था रहेको छैन ।

३) राष्ट्र बैंकद्वारा ४ महँगा वस्तुको प्रतितपत्र नखोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन

सरकारले महँगा वस्तुको आयात प्रतिबन्ध लम्ब्यासँगै नेपाल राष्ट्र बैंककले ती वस्तुहरुको प्रतितपत्र नखोल्न निर्देशन दिएको छ । सरकारले गत सोमबार राजपत्रमा सुचना जारी गर्दै १० मध्ये ४ वस्तुको आयात प्रतिबन्ध लम्ब्याएको थियो । त्यो निर्णय पालना गर्न राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गरेको हो ।

सरकारले गत बैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयात प्रतिबन्ध गरेको थियो । भदौ १४ गतेसम्म लगाएको प्रतिबन्धलाई केही खुकुलो पारिएको हो ।

सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई असोज २८ गतेसम्मलाई यी वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको छ ।
तर सरकारले कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने खुलाएको छ ।

४) ४७६ स्थानीय तह पूर्णविद्युतीकरण 

नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्णविद्युतीकरण भएका छन् । नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ ।

प्राधिकरणले ३५ स्थानीय तहमा अझै विद्युत पुर्याउन सकेको छैन । प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरेको थियो । सोही अध्ययनले तयार पारेको तथ्यांक अनुसार कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ ।

विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत पाएका छन् । सबैभन्दा बढी मधेश प्रदेशमा ९९.९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणको तथ्यांक अनुसार १ नं प्रदेशमा ९१.२३ प्रतिशत, बागमतीमा ९७.४७, गण्डकीमा ९७.७६ प्रतिशत, लुम्बिनीमा ९६.७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण भएको छ । यस्तै ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्णविद्युतीकरण भएको छ ।

५)  चालु आर्थिक वर्षको पहिलो महिनामा चोभार भन्सारबाट ३ करोड रुपैयाँको वैदेशिक व्यापार

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा चोभार भन्सारबाट ३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ ।भन्सार विभागको तथ्यांक अनुसार साउन महिनामा २ करोड ९७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । 

विभागको तथ्यांक अनुसार साउन महिनामा सो भन्सारबाट २ करोड ६३ लाख ९३ हजार रुपैयाँको वस्तु आयात गर्दा ३३ लाख ८ हजार रुपैयाँको निर्यात भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले डेढ अर्ब बढी रकम खर्चेर निर्माण गरिएको सो बन्दरगाहको भन्सारबाट हालसम्ममा १३ करोड ४१ लाख ४८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ । जसमा सो भन्सारले १२ करोड ५२ लाख ७० हजार रुपैयाँको वस्तु आयात हुँदा ८८ लाख ७८ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

चोभार भन्सार २०७८ को चैत २२ गतेबाट पूर्ण सञ्चालनमा आएको हो । 

६) भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य 

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाललाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पढाएको छ । बिहीबारबाट लागू हुनेगरी आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढाएर पठाएको हो । 

नयाँ मूल्यय अनुसार अब निगमलाई डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १२ रुपैयाँ पुगेको छ । त्यस्तै पेट्रोलको नाफा घटेर प्रतिलिटर २ रुपैयाँमा सीमित भएको छ ।

आयल निगमका अनुसार मट्टितेल, हवाई इन्धनको मूल्य पनि सामान्य बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ । 

आजको मूल्य अनुसार निगमको १५ दिनको समग्र नोक्सानी करिब ५० करोड पुग्नेछ । आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । सो सूचीअनुसार निगमले यहाँ नयाँ मूल्य निर्धारण गर्न सक्छ ।

७) महानगरको चेतावनीपछि बुझायो फन पार्कले १७ लाख ३७ हजार कर

काठमाण्डौं फन पार्कले काठमाण्डौं महानगरपालिकालाई कर बुझाएको छ । महानगरले हिजो बुधबार कर बुझाउन २४ घण्टे अल्टिमेट दिएको थियो । 

साथै महानगरले कर नबुझाए शिलबन्दी गरिदिने चेतावनी दिएपछि फन पार्कले आज १७ लाख ३७ हजार कर बुझाएको हो । 

काठमाण्डौं फनपार्क पूर्व श्रमराज्यमन्त्री एवं म्यानपावर व्यवसायी टेकबहादुर गुरुङले सञ्चालन गर्दै आउनुभएको छ । उहाँ नेपाली कांग्रेसका नेता हुनुहुन्छ । 

८) गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु भएको छ । हिमालेक्स ट्रेडर्सले कुवेतहुँदै फ्रान्स पठाइएको हो । विमानस्थल कार्यालयका अनुसार ११ भदौदेखि यो विमानस्थलबाट पहिलो पटक फ्रान्सका लागि कार्गो निर्यात गरिएको छ ।

कार्गो सेवा सुरु भएसँगै वैदेशिक व्यापार समेत विस्तार हुने अपेक्षा गरिएको छ । अहिले यो विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गरिरहेको छ ।

९) मिर्मिरे र बुद्धज्योती लघुवित्तको एकीकृत कारोबार सुरु 

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पछि एकीकृत कारोबार सुरु गरेको छ । मिर्मिरेले बुद्धज्योतिलाई प्राप्ति गरेपछि ‘मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

दुवै संस्थाको गत असार ३१ गते विशेष साधारण सभाबाट प्राप्ति प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकबाट भदौ ६ गते मिर्मिरेले बुद्धज्योतिलाई प्राप्तिका लागि अन्तिम स्वीकृत प्राप्त भएको र कम्पनी रजिष्ट्रारको कार्यालयको भदौ ९ गतेको पत्रबाट बुद्धज्योति लघुवित्तको लेखाङ्कन हिसाबमा समायोजन गर्नुपर्ने गरी स्वीकृति भएको हो ।

सो अनुसार मिर्मिरे र बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । प्राप्तिपश्चात् बन्ने मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नं ८, बनेपाबजार, काभ्रेपलाञ्चोकमा नै रहने कम्पनीले जनाएको छ ।

१०) भारतको अर्थतन्त्र लयमा फर्कदै

भारतको चालु वित्त वर्षको पहिलो त्रैमासमा जीडीपी १३.५ प्रतिशतले बढेको छ । पछिल्लो चार वटा त्रैमासमा यो सबैभन्दा उच्च वृद्धि हो । तर मुलुकको अर्थव्यवस्था लयमा फर्कन सफल भएको भन्दै टिप्पणी गरिएको छ ।

अप्रिलदेखि जुन महिनाबीच मुलुकको कुल कारोबारका आधारमा केन्द्रीय सांख्यिकी संगठन सीएसओले यो जानकारी दिएको बीबीसीले जनाएको छ । सीएसओको तथ्यांक अनुसार वर्तमान मूल्यका हिसाबमा भारतीय अर्थव्यवस्थाको कुल आकार जुन महिनाको अन्त्यसम्ममा ६४.९५ लाख करोड भारु हुने अनुमान गरिएको छ ।

गत वर्षको सोही अवधिमा यो आँकडा ५१.२७ लाख करोड भारु थियो । यो तथ्यांकका आधारमा हेर्दा २६.७ प्रतिशतको वृद्धिदर देखिएको छ । गत वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ३२.४ प्रतिशत थियो ।

वित्त वर्ष २०२२÷२३ को पहिलो त्रैमासमा भारतको जीडीपी १३.५ प्रतिशतले वृद्धि भएको छ भने स्पेसनमा १.१ प्रतिशत, इटलीमा १ प्रतिशत, फ्रान्सको ०.५ प्रतिशत, चीनको ०.४ प्रतिशत, जर्मनीको ०.१ प्रतिशत छ भने बेलायतको ०.१ प्रतिशत नकारात्मक र अमेरिकाको ०.६ प्रतिशतले नकारात्मक छ।

पहिलो त्रैमासमा १३.५ प्रतिशतले जीडीपी वृद्धि हुँदा इन्डस्ट्री ग्रोथ ८.६ प्रतिशत, सर्भिस क्षेत्रको ग्रोथ १७.६ प्रतिशत, ट्रेड एण्ड होटलको ग्रोथ २५.७ प्रतिशत, कन्स्ट्रक्सन क्षेत्रको ग्रोथ १६.८ प्रतिशत, पावर र ग्यास क्षेत्रको ग्रोथ १४.७ प्रतिशत र फाइनान्स र रियलस्टेटको ग्रोथ ९.२ प्रतिशत रहेको बीबीसीले जनाएको छ ।