१८ माघ, २०८१ शुक्रबार

06:26:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रमुख समाचारः सेयर बजारमा दोहोरो अंकको गिरावटदेखि रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोक्योसम्म

Nepal Business

१५ भदौ, २०७९

प्रमुख समाचारः सेयर बजारमा दोहोरो अंकको गिरावटदेखि रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोक्योसम्म

१) बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको चौथो दिन बुधबार सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेका अनुसार आज सेयर बजार २१.९७ अंकले घटेर नेप्से परिसूचक १ हजार ९ सय ७३.३८ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँको कारोबार भएको छ भने २९ लाख ९२ हजार ८७३ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज सबै उपसूचहहरु राताम्मे छन् । कम्पनीहरु पनि झिनो अंकले बढेका छन् । आरबीबी म्युचल फण्ड १.९७ प्रतिशत, ८.५ प्रतिशत इन्भेष्टमेन्ट बैंक डिभेञ्चर १.९४ प्रतिशत, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था १.६१ प्रतिशत, गणपति लघुवित्त वित्तीय संस्था १.४० प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनी १.२५ प्रतिशतले बढेका छन् ।

२) भ्रष्टाचार गरेको आरोपमा धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जना विरुद्ध मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जना विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । 

आयोगले बुधबार धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोजकुमार शर्मा र लेखा सहायक हरिचन्द्र भुषाल विरुद्द विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो । 

यस्तै मुद्दा दायर हुनेमा जिल्ला अदालत धनुषाका तत्कालीन तामेल्दार अविव साह, गुठी संस्थान धनुषाका कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसायी प्रमोदकुमार कर्ण रहेका अख्तियारले जनाएको छ। उनीहरुले धनुषाको साविकको भरतपुर गाउँ विकास समितिमा नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी १ करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ अनियमितारभ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

अख्तियारले मुआब्जा रकम बुझ्ने गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन विचौलियाको भूमिका खेलेका सुमनकान्त ठाकुरलाई पनि विपक्षी बनाएको छ । नक्कली मोही बनेर रकम लिएको आरोपमा सूर्यनारायण लाल कर्ण, उनलाई सहयोग गर्ने भाइ उपेन्द्रलाल कर्ण कायस्थ र छोरा मनोजलाल कर्ण, श्रीमती बिन्दादेवी कर्ण पनि विपक्षी छन् ।

३) महँगा वस्तुको आयात प्रतिबन्ध अझै लम्बियो

सरकारले बैशाख १३ गतेदेखि प्रतिवन्ध लगाएको आयात प्रतिवन्ध अझै लम्बिने भएको छ । सरकारले महँगा गाडी, ३०० डलरभन्दा बढीका मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गर्दै आयात प्रतिवन्ध कायम राखेको हो ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेको भन्दै सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो । तर सरकारले १० वस्तुमा लगाउँदै आएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको हो । कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात सरकारले खुलाएको छ।

अहिले  कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चितिले ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले आयातमा लगाइएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको हो ।

४) एकै दिन बैंकहरूको निक्षेप संकलन ८ अर्बले बढ्यो

बैंकहरूको निक्षेप संकलन एक दिनमै ८ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ १२ गते एकै दिन बैंकहरूको निक्षेप संकलन ८ अर्ब रुपैयाँ बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। गत भदौ ११ गतेसम्म कुल निक्षेप ५० खर्ब २२ अर्ब रुपैयाँ थियो।

यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ८ अर्बले बढेर ४४ खर्ब ३३ अर्ब पुगेको छ । भदौ ११ गतेसम्म वाणिज्य बैंकहरूको निक्षेप ४४ खर्ब २५ अर्ब रुपैयाँ थियो।

बैंकहरूको कर्जा प्रवाह भने १ अर्बले घटेर ४७ खर्ब ४ अर्ब रूपैयाँमा झरेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि १ अर्बले घटेर ४१ खर्ब ७२ अर्ब रूपैयाँमा झरेको छ ।
बैंकहरूको औसत सीडी रेसियो ८८.३९ प्रतिशतबाट घटेर ८८.२५ प्रतिशतमा झरेको छ ।

५) चालु आर्थिक वर्षमा बीमा समितिले बीमासम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने

चालु आर्थिक वर्षमा बीमा समितिले बीमासम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने भएको छ । चालु आर्थिक वर्षभित्रमा समितिले माध्यमिक विद्यालय र सिटिइभिटीका पाठ्यक्रममा बीमा विषय थप गर्न आवश्यक पहल गर्ने योजना बनाएको हो ।

गत आर्थिक वर्षमा पनि समितिले स्थानीय निकायमा गई बीमासम्बन्धी जनचेतामूलक कार्यक्रम गर्दै आएको थियो । सोही कार्यक्रमले गर्दा बीमाको दायरा विस्तारमा सहगोग पुगेको भन्दै समितिले चालु आवमा पनि त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।

सरकारले गत आर्थिक वर्षमा एक तिहाई जनतालाई बीमाको दायरामा ल्याउने लक्ष्य राखेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लक्ष्यभन्दा पनि बढी प्रगति भएको समितिले जनाएको छ ।

यस्तै चालु आर्थिक वर्षमा समितिले बीमासम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना तथा बीमा सूचनाकेन्द्र स्थापना गर्ने, बीमित हित संरक्षण कोष स्थापना गर्ने, बीमा कलेज स्थापना गर्ने र लगायतका कार्य गरिने योजना बनाएको छ ।

समितिका अनुसार एनएफआरएस १७ लागू गर्ने रिस्क वेस्ड क्यापिटल एण्ड रिस्क वेस्ड सल्भेन्सी डिरेक्टिभ्ससम्बन्धी कार्य समेत गर्ने भएको छ । यस अवधिमा बीमा नियमावली, नीति तथा रणनीतिक योजना, बीमासम्बन्धी कार्यविधि तथा ढाँचा र बीमा मार्गदर्शन एवम् निर्देशिका तयार गर्ने तथा परिमार्जन गर्ने कार्यक्रम समितिले राखेको छ ।

राष्ट्रिय सूचना आयोग, वित्तीय क्षेत्रका नियामक निकायहरू, बीमकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतहरू, कानून व्यवसायी, बीमित, उद्योग वाणिज्य संघ,नेपाल चेम्बर अफ कमर्सलगायत सरोकारवालाहरूसँग समेत छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

यस अवधिमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र बीमाको पहुँच विस्तारका लागि प्रदेश सरकार, स्थानीय तह, बीमा कम्पनीहरूसँग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रमहरूलाई निरन्तरता दिएको छ ।

बीमाको दायरा बढ्दै गई हाल कूल जनसंख्याको ४१ प्रतिशतभन्दा बढी जनता बीमाको दायरामा रहेका छन् । यसमा म्यादी, लघु र वैदेशिक रोजगार बीमालेख समेत समावेश गरिएको छ ।

६) २४ घण्टाभित्र कर नतिरे काठमाडौं फनपार्कमा सिलबन्दी गर्ने महानगरको चेतावनी

काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र कर नतिरे प्रदर्शनीमार्गमा संचालित काठमाडौं फनपार्कमा सिलबन्दी गर्ने चेतावनी दिएको छ ।  बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

तोकिएको समय भित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ जारी भएपछि फनपार्कमा कर लगाउने अधिकार महानगरपालिकामा आएको थियो । 

तर, २०७५ सालदेखि महानगरपालिकालाई कर बुझाउनु पर्नेमा काठमाडौं फन पार्कले कुनै पनि विवरण नदिँइ अटेरी गर्दै आएको महानगरको राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जनाउनुभएको छ ।

७) श्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको बजार सुनिश्चित

पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको बजार सुनिश्चित भएको छ। यसका लागि मंगलबार आयोजना विकासका लागि जिम्मा पाएको एनएचपीसी लिमिटेड र पीटीसी विद्युत खरिद सम्झौता भएको छ ।  पीटीसी इण्डिया भारत सरकारको स्वामित्वको कम्पनी हो । जसले भारतमा विद्युत बिक्रीको काम गर्छ । 

भारतीय कम्पनी पावर ट्रेडिङ कर्पोरेशन अफ इण्डिया लिमिटेड (पीटीसी इण्डिया) ले दुई आयोजनाबाट उत्पादन हुने विद्युत किन्न सम्झौता गरेको छ । लगानी बोर्डको कार्यालय काठमाण्डौंले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ विकासको जिम्मा एनएचपीसीलाई दिएको छ । यो पनि भारतीय स्वामित्वको कम्पनी हो ।

दुई आयोजनाको जडित क्षमता १२०० मेगावाट रहेको छ। जसको २१.९ प्रतिशत अर्थात २६२.८ मेगावाट नेपालले निशुल्क पाउनेछ। बाकी विद्युत पीटीसी इण्डियाले खरिद गर्नेछ। भदौ २ गते बोर्ड र एनएचपीसीबीच द्धिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितमा सम्झौता भएको थियो । कम्पनीलाई तत्कालका लागि सर्वेक्षण अनुमती दिन सम्झौता भएको हो । 

सर्वेक्षण अनुमति पाएको दुई वर्षमा अध्ययन सकेर प्रतिवेदन बोर्डलाई दिनुपर्नेछ । जसमा परियोजनाको अनुमानित लागत, अध्ययन, निर्माण सुरु तथा निर्माण सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारणलाइन, वित्तिय स्रोतको उपलब्धता, परियोजना कार्यान्वयनको तरिका लगायत समावेश हुनुपर्नेछ।

पश्चिम सेती परियोजना सुदुरपश्चिमको डोटी, बैतडी,डडेल्धुरा, बझाङमा निर्माण हुनेछ । सुरुमा १ खर्ब ६० अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर अहिले २ खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। यो परियोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मुल्यांकन तयार भइसकेको छ । ७० अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

८) राष्ट्र बैंकद्वारा डलर कार्डबाट हुने १८ प्रकारका भुक्तानीमा कडाई 

नेपाल राष्ट्र बैंकले डलर कार्डबाट हुने भुक्तानीमा कडाई गरेको छ । राष्ट्र बैंकले विदेशी बिनिमय कारोबार गर्न इजाजत प्राप्त क वर्गका वाणिज्य बैंक र ख वर्गका विकास बैंकहरुलाई परिपत्र जारी गर्दै १८ प्रकारका भुक्तानीमा रोक लगाएको हो ।  

राष्ट्र बैंकले मर्चेन्ट क्योटेगोरी कोड (एमसीसी) कोड नै तोकेर ति १८ वटा क्षेत्रहरुमा डलर कार्डबाट भुक्तानी नहुने ब्यबस्था गर्न निर्देशन दिएको हो । अर्थात् अब डलर कार्डबाट ति क्षेत्रमा भुक्तानी गर्न पाइने छैन । राष्ट्र बैंकको व्यवस्था अनुसार क र ख वर्गका बैंकहरुले ५०० डलरसम्मको प्रिपेड डलर कार्ड जारी गर्न पाउँछन् ।

९) चालकले बाइकमा मोबाइल स्ट्यान्ड राखे २० हजार जरिवाना

ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ । म्याप हेर्न वा फोटो र भिडिओ खिच्नका लागि बाइकमा मोबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएको भन्दै ट्राफिक प्रहरीले देशैभर यसको प्रयोगमा निषेध गरेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कम्पनीबाट मोटरसाइकल बनेर आउँदा बाहेकका सामान जडान गर्नु स्वतः स्वरुप परिवर्तन (मोडिफाई) मानिने भएकाले कारबाही सुरु गरिएको जनाएको छ ।

बिलबुकको अन्तिम पृष्ठमा जुन कुरा उल्लेख छ, त्यसभन्दा बढी भएमा कारबाही गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

अहिले सम्झाई बुझाई गर्नेदेखि न्यूनतम ५ सयदेखि २ हजारसम्म जरिवाना लिने गरेको र चाँडै नै सिधै कारबाही प्रक्रियामा जाने उहाँले जनाउनुभयो । यदि थप अटेर गरे वा नियम नमानेको पाइएमा यातायात कार्यालय पठाइने छ । यातायात कार्यालय पठाएको खण्डमा न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ।

१०) रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोक्यो

रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ । रुसले मर्मत सम्भारको भन्दै मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको हो । 
रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागु हुने बताइएको छ । 

रुसले यसअघि नै पाइपलाईनमार्फत हुने ग्यास निर्यात रोक्का गरेको छ । युक्रेनको आक्रमणपछि प्रतिबन्ध लगाउने पश्चिमी राष्ट्रहरूलाई दण्ड दिन उर्जा आपूर्तिहरू प्रयोग गरेको भन्ने आरोपलाई पनि मस्कोले अस्वीकार गर्दछ।

नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक सागर मुनि १२ सय किलोमिटर फैलिएको छ । सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक १७० मि क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ । रुसी अधिकारीहरुका अनुसार मर्मत सम्भारका लागि पाइपलाइन जुलाईमा १० दिन बन्द भएको थियो र रुसले उपकरणमा समस्या भएको जनाए पनि हाल २० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ ।