१८ माघ, २०८१ शुक्रबार
06:30:22 PM
१५ भदौ, २०७९
काठमाडौं । ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ । म्याप हेर्न वा फोटो र भिडिओ खिच्नका लागि बाइकमा मोबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएको भन्दै ट्राफिक प्रहरीले देशैभर यसको प्रयोगमा निषेध गरेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कम्पनीबाट मोटरसाइकल बनेर आउँदा बाहेकका सामान जडान गर्नु स्वतः स्वरुप परिवर्तन (मोडिफाई) मानिने भएकाले कारबाही सुरु गरिएको जनाएको छ । बिलबुकको अन्तिम पृष्ठमा जुन कुरा उल्लेख छ, त्यसभन्दा बढी भएमा कारबाही गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
“मोबाइल हेर्दै बाइक चलाउँदा दुर्घटना बढ्ने सम्भावना हुन्छ,” उहाँले भन्नुभयो, “ चालकले एक हातले बाइक थाम्ने अर्को हातले मोबाइल चलाउने हुँदा सवारी दुर्घटनाको जोखिम बढेका छन् भनेर सम्भावित जोखिमलाई टार्नका लागि यसो गरिएको हो ।”
अहिले सम्झाई बुझाई गर्नेदेखि न्यूनतम ५ सयदेखि २ हजारसम्म जरिवाना लिने गरेको र चाँडै नै सिधै कारबाही प्रक्रियामा जाने उहाँले जनाउनुभयो । यदि थप अटेर गरे वा नियम नमानेको पाइएमा यातायात कार्यालय पठाइने छ । यातायात कार्यालय पठाएको खण्डमा न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ ।